विराटनगर । सप्तकोशी नदीमा पानीको बहावले अति खतराको सङ्केत पार गर्दै साढे ६ लाख क्युसेक बढिको रेकर्ड बनाएर विस्तारै घट्न सुरु भएको छ ।
आइतबार विहान कोशी ब्यारेजमा सवैभन्दा उच्च बहाव ६ लाख ६१ हजार ०५ क्युसेक रेकर्ड बनेपछि अहिले जलसतह घट्न थालेको जनाइएको छ । पछिल्लो विवरण अनुसार अहिले ६ लाख ५५ हजार ५ क्युसेक बहाव मापन भएको हो ।
उच्च बहावका कारण ४८ घण्टायता कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएका छन् । ६ लाख २१ हजार क्युसेक बहाव भएपछि ब्यारेज माथिबाटै पानी बगेको थियो । जसका कारण ब्यारेजबाट अत्यावश्यक सेवाका सवारी साधनबाहेक बाहेक कोही कसैलाई पनि आवत जावत गर्न रोक लगाइएको थियो ।
शनिबार साँझदेखि देशभर पानी पर्न रोकिएपनि कोशी नदीको बहाव भने बढेको बढ्यै थियो । कोशी नदीमा लेदोयुक्त बाढी अत्याधिक रहेको जनाइएको छ ।
बाढी व्यवस्थापन सुधार सहायता केन्द्र पटनाले जारी गरेको पूर्वानुमान अनुसार वीरपुरस्थित कोशी ब्यारेजबाट ६ लाख ८१ हजार क्युसेक पानीको बहाव हुने आँकलन गरिएको थियो । जुन हालसम्मको अधिकतम बहावको नजिक हुने जनाइएको थियो ।
अत्यधिक बहावका कारण कोशी ब्यारेजमा अहिले ‘रेड अलर्ट’ कायमै छ । कोशी ब्यारेजमा सन् १९६८ मा सवैभन्दा बढि ७ लाख ३० हजार क्युसेक बहाव मापन गरिएको थियो । त्यसयता यसपटक कोशी ब्यारेजमा पानीको बहाव ६ लाख ६१ क्युसेक पुगेको जनाइएको छ ।
सन् १९६२ मा कोशी ब्यारेज सञ्चालनमा आएपछि ९ लाख ५० हजार क्युसेक पानीको बहाव क्षमता हुने जनाइएको थियो ।
View : 269
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved