Biratnagar, Morang, Nepal
१६ वैशाख २०८१, आइतवार
+977 21 450305, 515728, 578305
विचार

इलाममा राजनीति सरगर्मी

डीपी ढुंगेल
२४ फागुन २०८०, बिहिवार

आउँदो २०८१ साल वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ । इलाम २ बाट विजयी पूर्व संविधानसभाका सभाध्यक्ष तथा प्रतिनिधि सभाका सभाध्यक्ष सुभाषचन्द्र नेम्बाङको गत भदौ २६ गते असामयिक निधन भएकाले सो क्षेत्र रित्त छ । निर्वाचन आयोगले उपनिर्वाचनका लागि वैशाख १५ गते मिति तोकिसकेको छ ।
राजनीतिक दलहरू यतिखेर इलाम केन्द्रित भएका छन् । जम्मा १० वटा पालिका रहेको इलाम २ अन्तर्गत ६ वटा पालिका  छन् । जसअनुसार देउमाई नगरपालिका, माङ्सेबुङ गाउँपालिका, इलाम नगरपालिका, चुलाचुली गाउँपालिका, माई नगरपालिका र फाकफोक्थुम गाउँपालिका अन्तर्गत निर्वाचन क्षेत्र नम्बर दुई पर्दछ । करिब करिब १ लाख १५ हजार नागरिक मतदानका लागि योग्य ठहरिएका छन् । निर्वाचन तालिका अनुसार चैत २४ गते बिहान १० बजेदेखि ५ बजेसम्म मनोनयन पत्र दर्ताको समय छुट्याएको छ । दलहरू यतिखेर इलाम केन्द्रित भएर एक स्थान भए पनि वृद्धिका लागि कसरत गर्दैछन् ।

इलामेली जनताले वैशाख १५ गते आफ्नो विकास र प्रगतिको लागि चिन्ता गर्ने योग्य उम्मेदवार छनोट गर्नेमा कुनै दुई मत छैन । इलामेली जनता राजनीति बुझ्ने र आफ्नो राजनीतिक अधिकार प्रदान गर्ने पक्षमा देखिएका छन् । राजनीति विषयमा इलामका जनता सचेत तथा गम्भीर देखिन्छन् ।

लोकतन्त्रको सुन्दर पक्ष भनेको आवधिक निर्वाचन हो । निर्वाचनद्वारा अनुमोदित प्रतिनिधिले जनताको विकास र चाहना अनुसार काम गर्नुपर्ने लोकतन्त्रको मर्म र भावना हो । पछिल्लो समय नेपालमा कुनै प्रतिनिधिको मृत्यु भएमा परिवारवाद तथा वंशवादमा आधारित भएर टिकट वितरण गरेका थुप्रै उदाहरण तथा प्रमाणहरु पाइन्छन् । परिवारवाद राजनीति एउटा खतरनाक राजनीति हो । लोकतन्त्रको नाममा परिवार राजनीति गरेर राजनीतिलाई विकृत तथा व्यवसाय बनाउनु हुँदैन । कोशी प्रदेशकै नमुना जिल्ला इलामको राजनीतिलाई हेर्ने हो भने विगतमा पनि मुर्धन्य व्यक्तित्वहरूलाई इलामेली जनताले मतदान गरेर विजयी गराएका थिए । विगतमा इलामबाट जनप्रतिनिधि भएका सबैले राष्ट्रिय राजनीतिमा उच्च स्थान पाएका हुन् ।

मुख्य रूपमा इलाममा राजनीति गर्ने र एक स्थान भएपनि वृद्धिका लागि नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका दलहरु यतिखेर इलाम केन्द्रित भएका छन् ।  एक स्थान भए पनि कसको पोल्टामा जाने हो त्यो त हेर्न २०८१ साल वैशाख १५ गतेलाई पर्खिनै पर्छ । दलहरुले एक आपसमा आरोप प्रत्यारोप लगाएर विगतमा चुनावहरु जितेकै हुन् ।  तर अब त्यस्तो अवस्था नआउन सक्दछ । प्रविधिको विकास, शिक्षाको विकास, जनचेतनाको विकासले गर्दा जनता अहिलेको अवस्थामा सचेत भइसकेका छन्  ।

लोकतन्त्रको गीत गाएर अबको दिनमा निर्वाचन जितिन्छ भन्ने दिवास्वप्ना नदेखे हुन्छ । राष्ट्रिय राजनीतिमा भर्खरै मात्र प्रवेश गरेको राष्ट्रिय स्वतन्त्र पार्टी पनि आफ्ना केही सांसदलाई इलाम पठाउँदै छ । उता बाबुको विरासत कायम राख्न सुभाष नेम्बाङका छोरालाई नेकपा एमालेले टिकट दिने हल्ला फैलिएको छ । नेपाली कांग्रेसले पनि योग्य उम्मेदवार बनाएर इलामको राजनीतिलाई सोझ्याउने दाउमा देखिन्छ । राष्ट्रिय प्रजातन्त्र पार्टी पनि एकसिट भए पनि वृद्धि गरेर राजतन्त्रवादी नारा लगाउँदै इलाम छिर्ने दाउमा देखिन्छ ।

राजनीतिको विकृत रूपहरूमध्ये परिवारवाद तथा वंशवाद राजनीति नै हो । जनताले अहिले बुझिसकेका छन् अबका दिनमा परिवारवाद तथा वंशवाद राजनीति सफल हुनेमा निकै कठिन अवस्था हुन सक्दछ । विशेषगरी राजनीति दलहरूले बुझ्नै पर्ने विषय चाहिं इलाममा युवा उम्मेदवार खडा गरिनु पर्दछ । पाका उम्मेदवारलाई टिकट दिने हो भने युवा शक्ति खुसी नहुन सक्दछन् ।  युवाको चाहना अनुसार दलहरूले टिकटमा प्राथमिकता युवा शक्तिलाई दिनै पर्दछ । अहिलेका युवा शक्ति भनेका पढेलेखेका विद्वान वर्ग छन् ।  युवाको चाहना र सपना पनि देश र जनताप्रति वफादार भएर काम गर्ने रहर हो ।

विगतमा पाका उम्मेदवारबाट धोका पाएकाले यसपालि इलामेली जनताले कुनै पनि दलको युवा उम्मेदवारलाई जिताउने पक्षमा देखिन्छन् । विज्ञानले भन्छ- युवा शक्तिले विकासमा चाहना राख्दछ भने पाका शक्तिहरुले लोभ लालचमा फस्ने गर्दछन् ।  यसको प्रमाण भ्रष्टाचार विषयमा अख्तियारले समातेका या मुद्दा दायर गरेका उदाहरणलाई लिन सकिन्छ ।  शत प्रतिशत भ्रष्टाचार विषयलाई हेर्ने हो भने आरोपितमा ९० प्रतिशत कर्मचारी, राजनीतिक नेता तथा अन्य व्यक्तिबाट देखिन्छ भने १० प्रतिशत भ्रष्टाचारको मुद्दा ५० वर्ष मुनिका कर्मचारी, नेताहरूबाट भएको देखिन्छ । भ्रष्टाचारलाई न्यूनीकरण गर्नका लागि पनि इलामेली जनताले युवा योग्य सक्षम उम्मेदवारलाई मतदान गर्नु आवश्यक छ चाहे त्यो जुनसुकै दलका वा स्वतन्त्र नै हुन् ।

नेपाली राजनीति बिस्तारै सुध्रिनै पर्दछ । दलहरू पनि सुध्रिनै पर्दछ । अबका दिनमा नसुध्रिने हो भने नेपाली जनताले आवधिक निर्वाचनबाट सुधार्ने निश्चित छ । बाबुको नामबाट आमाको नामबाट तथा परिवारको नामबाट राजनीति कुनै बेला थियो होला । अब त्यस्तो अवस्था नहुन सक्दछ । जनताले बुझिसकेका छन् नेपाली लोकतन्त्र नेपाली प्रजातन्त्र नेपाली गणतन्त्र कसका लागि किन आवश्यक छ भनेर ।

प्रजातन्त्र लोकतन्त्र हुने खानेका लागि मात्र होइन हुँदा खानेको लागि पनि हुनुपदर्छ । विकास र प्रगति आजको मूल नारा हुनु जरुरी छ । प्रजातन्त्रको परिभाषा अब्राहम लिंकनले दिए अनुसार आवश्यक छ । शक्ति पृथकीकरणको सिद्धान्तलाई आत्मसाथ गरेर राजनीति अगाडि बढ्नु अति आवश्यक देखिन्छ । नेपाली राजनीति विगतमा शक्ति पृथकीकरणको सिद्धान्तलाई पर राखेर न्यायपालिका व्यवस्थापिका कार्यपालिकालाई एकै ठाउँमा राखेर हेरिएकाले देशको आर्थिक अवस्था विकासको अवस्था बेरोजगार समस्या शिक्षा स्वास्थ्य समस्या लगायतमा असर परेको घाम जस्तै छर्लङ्ग छ ।

इलामेली जनता आतुर छन् । आफ्ना भाग्य र भविष्य उज्ज्वल बनाउने कुनै पनि दलको उम्मेदवारलाई २०८१ साल वैशाख १५ गते छनोट गर्नलाई । दलहरू एक स्थान भएपनि वृद्धि गर्नलाई रात दिन गृहकार्य सुरु गरिसकेका छन् । लोकतन्त्रमा आवधिक निर्वाचन गहना भए तापनि आफ्नो इज्जत र परिचय वृद्धि विषयमा गर्न तथा मिसन चौरासी सफल बनाउन वैधानिक तथा अवैधानिक किसिमबाट भएपनि एक स्थान आफ्नो पोल्टामा हाल्न आतुर देखिन्छन् । अबका केही दिनमै दलहरू दलबल बाजागाजा सहित इलामेली जनताको घर आँगनमा पुगिसक्ने लक्षण देखिएको छ ।

View : 112

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved