Biratnagar, Morang, Nepal
२७ पुष २०८१, शनिवार
+977 21 450305, 515728, 578305
खेलकुद

कोशी प्रदेश ट्रफी टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता

तेस्रो खेलपनि हारेपछि बाहिरियो कोशी

आर्मी पुग्यो सेमिफाइनल, वागमतीले निकाल्यो पहिलो जित
उद्‌घोष सम्वाददाता
२९ फागुन २०८०, मङ्गलवार

विराटनगर । विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा जारी कोशी प्रदेश ट्रफी पेप्सी टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा तेस्रो खेलमा पनि पराजित भएपछि आयोजक कोशी प्रदेश प्रतियोगिताबाटै बाहिरिएको छ । कोशीका विरुद्ध त्रिभुवन क्लवको आर्मीले जित दर्ता गर्दै सेमिफाइनल प्रवेश गरेको छ ।

मंगलबारको पहिलो खेलमा विभागीय टोली आर्मीले कोशी प्रदेशलाई ५ विकेटले पराजित गरेको हो । समुह ए मा ४ खेल खेलेको कोशीले कर्णालीविरुद्धको पहिलो खेल मात्रै जितेको थियो । त्यसपछिका लगातार ३ खेलमा पराजित भएको हो । आर्मीले लगातार ३ खेलमा जित हात पार्दै सेमिफाइनलमा प्रवेश गरेको छ । आर्मी ६ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । 

टस हारेर ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३५ रनको योगफल तयार पारेको थियो । कोशीका लागि दिपेश कँडेलले ३६ बलमा २ छक्का र २ चौका प्रहार गरि अविजिचत ४० रन बनाउँदा श्रवण यादवले १४ बलमा ५ चौका प्रहार गदै २९ रन जोडेका थिए । 

१५ ओभरभित्र ६ विकेट गुमाएर ८९ रन बनाएको कोशीका लागि कँडेल र यादवले २६ बलमा ४६ रनको अविजित पारी खेले । त्यस्तै अनिल लामिछानेले २१ रन र सुजन थपलियाले १४ रनको योगदान दिए । आर्मीका त्रितराज दास र पवन कार्कीले समान २–२ विकेट लिएका थिए ।

१३६ रनको लक्ष्य पछ्याएको आर्मीले १८ दशमलव ४ बलमा ५ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको हो । आर्मीकोे जितमा प्लेयर अफ द म्याच त्रितराज दासले ३२ बलमा २ छक्का र ४ चौका प्रहार गरी ३५ रन जोड्दा सन्तोष कार्कीले टिमका लागि २४ रनको योगदान गरे । कोशीका श्रवण यादव र ज्ञानेन्द्र श्रेष्ठले २–२ विकेट लिएका थिए ।

समुह ए बाट आर्मीले अब बुधबार एपिएफसँग लिग चरणको अन्तिम खेल खेल्ने छ । सवै ४ खेलेको कर्णाली २ खेलमा जित र २ मा हारको सामना गर्दै ४ अंकसहित दोस्रो स्थानमा छ । 

समुह बी अन्तरगत प्रतियोगिताबाट बाहिरिसकेको वागमती प्रदेशले मंगलबारको खेलमा गण्डकी प्रदेशलाई ४ विकेटले पराजित गर्दै सान्त्वना जित दर्ता गरेको छ । 

टस जितेर ब्याटिङ गरेको गण्डकीले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १५० रन बनाएको थियो । गण्डकीका लागि ४७ बलमा १ छक्का र ९ चौका प्रहार गरि ६२ रन बनाउँदा अविषेक थापाले २३ रनको योगदान दिए । वागमतीका इसान पाण्डेले २ विकेट लिँदा रामनरेश गिरी, दिपेश श्रेष्ठ र तिलक भण्डारीले समान १–१ विकेट लिएका हुन् ।

१५१ रनको लक्ष्य पाएको वागमतीले १९ दशमलव २ बलमा ६ विकेट गुमाई  लक्ष्य पार गरेको थियो । वागमतीको जितमा प्लेयर अफ द म्याच घोषित रामनेश गिरी २७ बलमा ३ छक्का र ४ चौका प्रहार अविजित ५० रनको पारी खेले । रविन जोशीले पनि अविजित ३२ रन बनाए । आशुतोष घिरैयाले २९ रनको योगदान दिए । गण्डकीका सुवास भण्डारीले ३ विकेट लिँदा सन्दिप पराजुली र अविशेक थापाले १–१ विकेट लिएका थिए ।

३ खेलमा २ मा पराजित भइसकेको वागमती तेस्रो स्थानमा उक्लिएपनि लिग चरणको अन्तिम खेल्नु अघि नै बाहिरिएको हो । गण्डकीले भने प्रतियोगिताको लिग चरणका कुनैपनि खेल नजिति अंक विहिन भएर घर फर्किएको छ ।

बुधबारको पहिलो खेल पुलिस र लुम्बिनी तथा दोस्रो खेल दुई विभागीय टोली आर्मी र एपिएफबिच हुने मोरङ क्रिकेट संघका अध्यक्ष मोहमद साद कुरैसीले जानकारी दिए ।

View : 418

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved