Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

तंग्रिने प्रयासमा विपद्को केन्द्र इलाम

उद्‌घोष संवाददाता
२३ असोज २०८२, बिहिवार

विराटनगर । यसपटकको मनसुनको बिदाइ कोशी पहाडी जिल्ला इलामका लागि दुर्दान्त सावित भयो । मनसुनी विपद्बाट सबैभन्दा धेरै सताइएको इलाम लयमा फर्कने प्रयासमा जुटेको छ । 

३९ जनाको ज्यान गएको, २६ जना घाइते भएको अनि एक जना अझै हराइरहेको इलाममा यसपटक जुन अनुपातमा मानवीय क्षति भयो, भौतिक क्षतिको आकार पनि ज्यादै ठूलो छ । 

असोज १८ गते रातिको भीषण बाढीपहिरोको चपेटामा परेको इलाममा अहिले तीनवटै तहका सरकार, सर्वसाधारण, विभिन्न सहयोगी संघसंस्थाहरु मिलेर बाटोको अवरोध हटाउने, राहत तथा पुनःस्थापनाका काम गरिरहेका छन् । 

यही क्रममा बाढी र पहिरोले मेची राजमार्गसहित दर्जनौं सडकहरु अवरुद्ध हुन पुगेको इलाममा बुधबार साँझबाट मेची राजमार्गको इलाम–फिदिम खण्ड एकतर्फी रुपमा सुचारु भएको छ । 

इलामका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एकनारायण कोइरालाले दिएको जानकारी अनुसार इलाम सदरमुकामबाट पाँचथर सदरमुकाम फिदिम जोड्ने मेची राजमार्गको सडकखण्ड सुचारु भएको हो । 

‘आजदेखिनै एकतर्फी बाटो खुलेको छ’ कोइरालाले बुधबार साँझ भने ‘यो बाटो साना भारबहन भएका गाडीहरूका लागि मात्र हो, ठूला गाडीलाई होइन ।’

इलाम सदरमुकामदेखि दक्षिण माइखोला पुलसम्मको बाटोमा ठूलो पहिरोका कारण अहिले पनि समस्या छ । यो खण्डको डेढ किलोमिटर खण्ड अझै अवरुद्ध छ । 

‘यहाँको पहिरो हटाउन सडक विभागका इन्जिनियरहरूको अनुमानमा अझै करिब एक साता लाग्न सक्छ’ प्रहरी उपरीक्षक कोइरालाले भने ‘यो सामान्य पहिरो नभई दिनको करिब १ मिटरको दरले पहाड दबिरहेको अवस्था छ । सडकको भाग पूरै बिग्रिएकाले जटिल अवस्था छ ।’ 

इलाम सदरमुकामबाट माइखोला पुल पारी गोदकदेखि झापाको चारआलीसम्मको बाटो भने ४–५ दिनअघिदेखि नै राम्रोसँग चलिरहेको छ ।

इलामका सडक डिभिजन प्रमुख पवन भट्टराईले दिएको जानकारी अनुसार मेची राजमार्ग अन्तर्गत इलाम खण्डमा रहेका राजदुवाली र मिलगोलाईको डेढ–डेढ किलोमिटर क्षेत्र अहिले मुख्य अवरोधको केन्द्र बनेका छन् ।

झापाको सीमा जोरकलशदेखि राजदुवालीसम्म र राजदुवालीभन्दा केही माथिबाट इलाम बजारतिर गाडी चलिरहेका छन् । 

राजदुवालीको पहिरो हटाउन केही साता लाग्ने देखिएको छ । 

भट्टराईका अनुसार, पहिरो बगिरहेको र काम गर्दै हेर्दै गर्नुपर्ने जटिल अवस्था रहेकाले कहिलेसम्म खुल्छ भन्ने यकिन छैन । 

सडक विभागले पुलविज्ञ नरेश केसरीको निरीक्षणपछि राजदुवाली पुलमा तत्काल ठूलो समस्या नरहेको र त्यसैलाई सञ्चालन गर्न सकिने सुझाव आएको जनाएको छ ।

सुरक्षाकर्मीले राजदुवाली पुलछेउमा सहायता कक्ष राखेर यात्रुलाई सहयोग गरिरहेका छन् । 

त्यस्तै राजदुवालीभन्दा माथि पुवाखोलादेखि मिल गोलाईसम्मको १ देखि डेढ किलोमिटर बाटो खुलाउन बाँकी छ, जहाँ राजमार्ग नै बगाएर लगेको छ । 

डिभिजन प्रमुख भट्टराईले बिहीबार साँझसम्ममा साना गाडी पास गराउने लक्ष्य राखिएको बताएका छन् । 

मिलगोलाईमा सडक निस्कने ठाउँमा घर रहेकाले ठूला गाडी पास गराउने बाटो निकाल्न घर हटाउनेबारे अन्योल देखिएको छ । 

पुवाखोला लगिएको अर्को ठूलो मेसिनले बञ्चरे गोलाईमा बाटो खुलाउने प्रयास जारी छ । 

त्यहाँ लेदो बगिरहेकाले र चट्टान फोर्न ब्रेकरको उपलब्धता नहुँदा केही समस्या भए पनि बिहीबार साँझसम्ममा साना गाडी पास गराउने लक्ष्य राखिएको भट्टराईले बताए । 

राजमार्ग अवरुद्ध भएपछि दशैंमा यात्रा गर्ने यात्रुले डेढ किलोमिटर जति पैदल हिँड्नुपर्ने बाध्यता रह्यो । साथै, एउटै यात्रा पूरा गर्न धेरै पटक गाडी परिवर्तन गर्नुपर्दा सास्ती भएको छ । 

सूर्योदय नगरपालिकाले फिक्कलतिरबाट राजदुवालीसम्म र इलाम नगरपालिकाले राजदुवालीछेउसम्मका लागि निःशुल्क सवारी साधनको व्यवस्था गरेका छन् । केही व्यवसायी र समाजसेवीले पनि निःशुल्क सेवा दिएका छन् । 

मेची राजमार्ग अवरुद्ध हुँदा झापा, पाँचथर र ताप्लेजुङ जोड्ने यो मुख्य मार्गबाट खाद्यान्न र उपभोग्य सामग्री ढुवानीमा समस्या भएको इलामका व्यवसायी राजभाइ श्रेष्ठले जानकारी दिएका छन् । इलामका धेरै सहायक मार्गहरु पनि क्षतिग्रस्त बनेका छन् ।

नेपालटार–मंगलबारे र इलाम–सन्दकपुर पालिका कार्यालयसम्म जाने बाटोहरूमा स्थानीय पालिकाको समन्वयमा एकतर्फी सडक खुला भएको छ । 

माइजोगमाई, फाकफोकथुम, माङ्सेबुङ जस्ता गाउँपालिकाहरू जाने बाटोमा भने पुलहरू नै भत्किएकाले बाटो अहिले पनि अवरद्ध नै छ ।

इलाममा पुलहरुमा पनि क्षति धेरै भएको छ । 

पुवाखोलामा केही महिनाअघि उद्घाटन गरिएको बेली ब्रिज बाढीले बगाएको छ । 

माइखोलामा रहेको बेलासे पक्की पुल बीचैमा भाँच्चिएको छ । वैकल्पिक मार्गको गोदक सिमल गोलाईदेखि तिल्केनी सडकको जोगमाई खोलामा जडान गरिएको बेली ब्रिज पनि बाढीले बगाएको छ ।

जिल्लामा आधा दर्जनभन्दा बढी ग्रामीण पुल बगेकाले स्थानीयबासीलाई एक गाउँबाट अर्को गाउँ र सदरमुकामसम्म आउजाउ गर्न समस्या भएको छ । 

इलाममा सडकमा समस्या आएपछि विरामीहरुको हेलिकप्टरबाट उद्धार जारी छ । 

नेपाली सेनाको हेलिकप्टरले बुधबार पनि माइजोगमाई–६ प्याङबाट एक गर्भवती महिला र निमोनियाका एक बिरामीलाई उद्धार गरी झापा लगेको छ । 

प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले माङ्सेबुङ गाउँपालिकालगायत क्षेत्रमा हेलिकप्टरबाट राहत वितरण गरेका छन् । 

जिल्ला विपद् व्यवस्थापन समितिले राहत वितरणलाई पारदर्शी र प्रभावकारी बनाउन जिल्ला प्रशासनको अनुमति र सम्बन्धित स्थानीय तहसँग समन्वय गर्नुपर्ने निर्णय गरेको छ । राहत वितरणमा विभिन्न संघसंस्थाहरु पनि खटिएका छन् ।  

करिब ७० घरपरिवार विस्थापित भएको अनुमान गरिए पनि पशुचौपाया र अन्यको विवरण संकलनमा ढिलाइ हुँदा प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले राहत वितरणमा असजिलो भएको बताएकी छन् । 

१८ गतेदेखि अवरुद्ध बिजुली क्रमशः चालु हुँदैछ । सदरमुकाम इलाम बजारमा मंगलबार साँझदेखि  बिजुली बलेको छ भने गाउँहरूमा पनि मर्मतको काम तीव्र गतिमा भइरहेको नेपाल विद्युत प्राधिकरण, इलाम वितरण केन्द्रले जनाएको छ ।

View : 253

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved