झापा । विद्यालयमा अध्ययनरत बालबालिकाहरूलाई लक्षित गर्दै विद्यालयमा कार्यरत नर्सलाई आँखा स्वास्थ्य शिक्षा प्रदान गरिएको छ । मेची आँखा अस्पतालमा उनीहरूलाई आँखा स्वास्थ्य शिक्षा प्रदान गरिएको हो ।
खासगरी विद्यार्थीमा आँखा सम्बन्धी देखिने समस्यालाई निराकरण गर्न विद्यालयमा कार्यरत नर्सलाई आँखा स्वास्थ्य शिक्षा प्रदान गरिएको हो । झापाका विभिन्न विद्यालयमा कार्यरत ३० जना स्टाफ नर्सलाई सो कार्यक्रममा सहभागी गराइएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीको प्रमुख आतिथ्य तथा मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरूङको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीलाई विद्यार्थीको आँखा स्वास्थ्य राख्नका लागि नियमित आँखा परीक्षण, रोकथाम, आवश्यक रिफर गर्ने उद्देश्यका विषयमा जानकारी गराइएको थियो ।
नेपाल सरकारले झापाका ३२ वटा सामुदायिक विद्यालयमा स्टाफ नर्स राखेको छ । उनीहरूबाट विद्यार्थीमा कुनै प्रकारका समस्या देखा परे तत्काल प्राथमिक उपचार र थप उपचारका लागि अस्पताल पठाउने व्यवस्था मिलाउने गरेका छन् ।
कार्यक्रममा सहभागीलाई मेची आँखा अस्पतालका स्वास्थ्य शिक्षा अधिकृत युवराज बोहराले प्रशिक्षण प्रदान गरेका थिए ।
उनले स्वास्थ्य आँखाको विशेषता, आखाको बनावट तथा भाग र काम, आँखामा लाग्ने रोग, मोतियाविन्दु, जलविन्दू, भिटामिन ‘ए’ को कमीले आँखामा लाग्ने रोग, मधुमेह र उच्च रक्तचापले गर्दा आँखामा गर्ने असार, आँखाको क्यान्सर, आँखामा ऐंजेरू पलाउने रोगका विषयमा जानकारी सहितको उपचार विधिका विषयमा प्रस्ट्याएका थिए ।
दृष्टि विशेषज्ञ प्रियङ्का यादवले दृष्टिमापन, चस्मा लगाउनु पर्ने अवस्था, बाङ्गो र टेडो अवस्था, आँखाको लेजर सर्जरी (चस्मा हटाउने सर्जरी)का विषयमा प्रशिक्षण दिएकी थिइन् ।
आँखा दान, आँखामा लगाउने औषधि लगायतका विषयमा अस्पतालका आँखादान विभागका इञ्चार्ज पुष्पप्रसाद अधिकारीले जानकारी दिएका थिए ।
View : 154
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved