Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

नेप्सेमा १६.४६ अंकको वृद्धि, कारोबार रकम घटेर १० अर्ब ८२ करोडमा सीमित

उद्‌घोष संवाददाता
१९ साउन २०८२, सोमवार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार दोहोरो अंकले बढेको छ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक १६.४६ अंकले बढेर २,८७५.३६ बिन्दुमा पुगेको हो ।

कारोबार रकम भने घटेको छ। बजारमा गत सातादेखि आएको क्रमिक गिरावट सोमबार परिसूचकमा सुधारका बाबजुद पनि थामिएन ।

आइतबार नेप्से परिसूचक ६३.७३ अंकले घट्दै २८५८.९० विन्दुमा रहँदा १३ अर्ब ७ करोड ५० लाखको कारोबार भएको थियो ।

सोमबार घटेर कारोबारको कुल रकम १० अर्ब ८२ करोड २४ लाख ४९ हजार ४०२ रुपैयाँमा सीमित भएको छ । वाणिज्य बैंक, जलविद्युत, लगानी, जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड र व्यापारका सूचक हरियो हुँदा विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र अन्य घटेका छन् ।

बजारमा कुल २६६ कम्पनीको सेयर कारोबार हुँदा १४० कम्पनीको सेयर मूल्य बढ्यो भने ११० कम्पनीको सेयर मूल्य घट्यो। बजारमा कमाउने कम्पनीहरूको अग्रपंक्तिमा थ्री स्टार हाइड्रोपावर छ ।

उक्त कम्पनीको सेयर मूल्यमा ६.८९ प्रतिशतले वृद्धि भएको छ। कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स अग्रस्थानमा छ, जसको ५५ करोड ९६ लाखको कारोबार भएको छ ।

यसैगरी शिवम सिमेन्ट ४३ करोड ६४ लाख, हिमालयन डिस्टिलरी ३७ करोड ५८ लाख, ङादी ग्रुप पावर ३१ करोड ८६ लाख र नेपाल रिइन्स्योरेन्स कम्पनीको ३१ करोड ६२ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

सबैभन्दा बढी गुमाउने कम्पनीको सूचीमा ट्रेड टावर लिमिटेड परेको छ, जसको सेयर मूल्य घटेर नेगेटिभ सर्किट लागेको छ ।

आजको तथ्याङ्कले सेयर बजारमा लगानीकर्ताको मनोबल केही हदसम्म बढेको संकेत गर्छ। नेप्से परिसूचकमा आएको वृद्धिका बाबजुद कारोबार रकम रकम घट्दा लगानीकर्ता नोक्सानको जोखिमप्रति सतर्क भएको देखिएको छ ।

View : 360

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved