उद्घाटन समारोहमा कोल्डस्टोर अगाडि बसेका स्थानीय । तस्वीरः कमल/उद्घोष
विराटनगर । मोरङको कटहरीमा सरकारी लगानीमा बनाइएको कोल्डस्टोरमा स्थानीय किसानलाई तरकारी राख्न निःशुल्क गरिएको छ ।
समयमा भाउ नपाउने र बजार पुर्याउन नसकेकाले टिपेको तरकारी कुहिएर फाल्नुपर्ने अवस्था झेल्दै आएका कटहरीका किसान यो सुविधा पाएपछि खुशी भएका छन् ।
कटहरी–१ स्थित फलफूल तथा तरकारी थोक बजारमा १५ मेक्ट्रिक टन क्षमताको कोल्डस्टोर सोमबारबाट सुचारू गरिएको छ ।
कोल्डस्टोर उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष देवराज चौधरीले स्थानीय किसानलाई एक सातासम्म आफ्ना उत्पादन निःशुल्क राख्न दिइने बताए ।
आफ्नो उत्पादन बजारमा लगेर महंगो मूल्यमा कोल्डस्टोरमा राख्नुपर्ने समस्याबाट किसानले मुक्ति पाएका छन् । कटहरी तरकारी जोनका किसानलाई सात दिन निःशुल्क स्टोर गर्न दिइने उनले बताए ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वय एकाई मोरङको ८० र कटहरी गाउँपालिकाको २० प्रतिशत लगानीमा २५ लाख रूपैयाँमा स्टोर तयार भएको छ ।
थोक बजारमा आˆनो उत्पादन ल्याउने किसानले बिक्री नभएको तरकारी स्टोरमा निःशुल्क राखेर सुविधा लिने कटहरीका अगुवा किसान धर्मलाल सिंहले बताए ।
कोल्डस्टोर सञ्चालन भएपनि कृषि थोक बजारलाई पूर्ण क्षमतामा सञ्चालन गर्न गाउँपालिकाले किसानका खेतसम्म पुग्न सक्नुपर्ने सुझाव दिए ।
नेपाल सरकारको २० करोड रूपैयाँ भन्दा बढीको लागतमा बनेको थोक बजार पूर्ण सुचारू हुन सकेको छैन । तरकारी जोनमा पर्ने कटहरीका किसानले उत्पादन गरेका तरकारी चिस्यानमा राख्न नपाएर कुहिएर जाने समस्या थियो ।
कटहरीको २, ३, ४ र ६, जहदा गाउँपालिकाको ३ र ४ नम्बर वडा तरकारी जोनमा पर्छन् । स्टोर तरकारी बजार व्यवस्थापन समितिलाई हस्तान्तरण गरिनेछ ।
समितिले न्यूनतम शुल्क तोकेर स्थानीय किसानका उत्पादनलाई स्टोर गरिने अध्यक्ष चौधरीको भनाइ छ । नेपाल सरकारको लगानीमा निर्माण भएको थोक बजार पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन ।
View : 118
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved