विराटनगर । विराटनगरमा जारी कोसी प्रदेश नेशनल टी–२० च्याम्पियनसिपमा विभागीय टोली नेपाल पुलिस क्लबले पहिलो जित दर्ता गराएको छ ।
आइतबार बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला रङ्गशालामा भएको पहिलो खेलमा पुलिस क्लबले गण्डकी प्रदेशलाई ४ विकेटले पराजित गर्दै २ अङ्क बनाएको हो ।
टस जितेर फिल्डिङ रोजेको पुलिसले गण्डकीलाई निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ४४ रनमा सीमित बनाएको थियो । गण्डकीका लागि दिनेश बुढामगरले ४६, ईश्वर क्षेत्रीले ४१ र दीपक डुम्रेले ४० रनको योगदान दिए ।
पहिलो खेलमा हारको स्वाद चाखेको विभागीय टोली पुलिसका लागि अभिषेक कार्कीले ३ विकेट लिए । गण्डकीले छाडेको लक्ष्य पुलिस क्लबले १९ दशमलव ३ ओभरमा ६ विकेटको क्षतिमा पुरा गरेको थियो ।
पुलिसको जितमा शंकर रानाले ३० बलमा अविजित ५१ रन बनाए । यसक्रममा रानाले ३ छक्का र ५ चौका प्रहार गरेका थिए । राना १३ रनमा खेलिरहँदा गण्डकीका खेलाडीले स्टम्पिङको अपिल गरेका थिए ।
उनीहरूको अपिललाई नजरअन्दाज गरि खेल अघि बढेपछि रानाले पुलिसको जितका लागि दरिलो पारी खेले । समूह बी मा रहेको पुलिसले २ अङ्क जोडिरहँदा गण्डकी भने आफ्नो पहिलो जितको पर्खाइमा रहेको छ । हारसँगै गण्डकीका कप्तान विपिन खत्रीले खराब अम्पायरिङको कारण हार ब्यहोर्नु परेको गुनासो गरे ।
‘यो लेभलको टुर्नामेन्टमा यसप्रकारको अम्पायरिङ नहुनुपर्ने थियो, आजको म्याचमा जुन हिसाबको अम्पायरिङ भएको छ, त्यो एकदम गलत भएको छ’ क्याप्टेन खत्री भने, ‘एउटा मुमेन्ट्समा थियौं, त्यही एक विकेट हामीले चाहिरहेका थियौं, त्यही विकेटले खेल परिवर्तन भएको हो, यति ठूलो खेल भइरहँदा यसप्रकार अम्पायरिङ भने स्वीकार्य हुँदैन ।’
गण्डकी प्रदेशका खेलाडीका अनुसार पुलिसका शंकर राना १३ रनमा खेलिरहँदा स्टम्पिङको अपिल गरेका थिए । सो अपिललाई ग्राउण्डस् रेफ्रीले तेस्रो अम्पायरमा जान नचाहँदा समस्या भएको उनीहरूको गुनासो छ ।
गण्डकीका प्रशिक्षकले भने, ‘हामीले अपिल गरिरहँदा अम्पायर तेस्रो अम्पायरकहाँ जान चाहेनन्, त्यसको केही ओभर पछि चौका, छक्का भएको प्रस्ट्याउन तेस्रो अम्पायरको प्रयोग गरियो, म्याच हो हार जित हुन्छ तर, अम्पायरले गरेको एक गलत निर्णयको भागीदार हामी हुनुपर्यो, हाम्रो स्टम्पिङको अपिलमा तेस्रो अम्पायर अघि बढाउँदा शंकर रानाले ५१ रनका स्कोर गर्न पाउँदैन थिए, म्याच हाम्रो हात पनि आउन सक्थ्यो ।’
अर्कोतर्फ, म्याच रेफ्री मोहम्मद साफिकले तेस्रो अम्पायरको विषयमा प्राविधिक कठिनाइ रहेको हुँदा निर्णय लिन समस्या भएको बताए ।
त्यसैगरी आजै भएको दोस्रो खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबले मधेश प्रदेशलाई ७ विकेटले पराजित गरेको छ ।
टस जितेर ब्याटिङ गरेको मधेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५३ रनको योगफल बनाएको थियो । मधेशका लागि पवन शर्राफले ३९ बलमा ६३ बनाए ।
आर्मीका लागि नितेश पटेलले ४, तीर्थराज दास र सहाब आलमले समान २ विकेट लिए । मधेशले छाडेको लक्ष्य आर्मीले १६ दशमलव ५ ओभरमा ३ विकेट गुमाउँदै पुरा गरेको थियो ।
आर्मीका लागि तीर्थराज दासले ४३ बलमा अविजित ६० रन बनाए । ओपनर सन्तोष कार्कीले ५७ रन बनाए । दुई खेल खेलेको आर्मीले दुवैमा जित निकाल्दै समूह ए मा ४ अङ्क बनाएको छ ।
सोही समूहमा कर्णाली प्रदेशले ४ खेलमा २ मा जित निकाल्दै ४ अङ्क बनाएको आयोजक मोरङ जिल्ला क्रिकेट संघका अध्यक्ष मोहम्मद साद कुरैसीले जानकारी दिए ।
View : 230
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved