सपथ–ग्रहण पत्रमा हस्ताक्षर गर्दै अध्यक्ष बाबुराम कार्की लगायतका पदाधिकारीहरु ।
विराटनगर । गत जेठ ३१ गते नेकपा एमाले विराटनगर महानगर कमिटी अध्यक्ष सागर थापालगायतलाई निलम्बनको पत्र थमाएका एमाले मोरङ अध्यक्ष बाबुराम कार्कीले बिहीबार सपथ लिएका छन् । कार्कीसहितका केही पदाधिकारीलाई एमाले स्थायी कमिटी सदस्य तथा मोरङ इञ्चार्ज हिक्मतकुमार कार्कीले विराटनगरस्थित पार्टी कार्यालय पाञ्चालीमा सपथ गराएका हुन् ।
अध्यक्ष कार्कीले आफू मनोनित भएको एक महिनापछि सपथ लिए पनि उनले यसअघि पार्टीका विभिन्न व्यक्तिहरूलाई कारवाहीको पत्र थमाइसकेका छन् । सामन्तया कुनै पनि पद सपथ–ग्रहणपछिमात्र वैध हुने परम्परा र मान्यताविपरीत अध्यक्ष कार्कीले पहिल्यै कारवाहीलगायतका काम सकेका हुन् ।
यसबाट विधिमा चल्ने भनेको पार्टी फनि अमुक व्यक्ति र शत्तिको इसारामा स्वेच्छारी ढंगले चल्न थालेको एक एमाले कार्यकर्ताको गुनासो छ । ‘शक्तिमा भएकाले जे पनि गर्दा हुने रहेछ’ उनी भन्छन्, ‘पद तथा गोपनीयताको सपथ नै नलिएको व्यक्तिले कुन आधिकारिता र हैसियतले कारवाही तथा निलम्बनको पत्र लेखे ?’
कार्की गत जेठ १८ गते एमाले मोरङको अध्यक्ष मनोनित भएका थिए । कुनै बेला एमाले मोरङका पूर्वअध्यक्ष विनोद ढकालका निकटका भनिएका कार्कीलाई ढकालसँग सम्बन्ध टुटाउने शर्तमा अध्यक्ष मनोनित गरिएको स्रोतको भनाइ छ । स्रोतका अनुसार एमाले मोरङमा ढकाललाई कमजोर बनाउने कामको नेतृत्व जिल्ला पार्टी इञ्चार्ज तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लिएका छन् । कुनै समय पार्टीको एउटै गुटमा काम गरेका मुख्यमन्त्री कार्की र ढकालबीच अहिले सम्बन्धमा ठूलो दरार आएको बताइन्छ ।
पछिल्लो समय कार्कीले आफ्नै पूर्ववर्ती सहकर्मी ढकाललाई कमजोर बनाउन मिसन नै छेडेका छन् । एमालेमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको एकल बर्चश्व कायम भएपछि कार्कीले ‘अध्यक्ष कमरेडको यस्तो मनसाय छ’ भन्दै आफूइतरकालाई साइजमा ल्याउने गरेको एक एमाले कार्यकर्ता बताउँछन् ।
‘खासमा दुवै जना पार्टी अध्यक्ष केपी ओलीकै भक्त हुन्, फरक यति हो एउटाले नमस्कारमात्रै गर्छन् अर्काले साष्टाङ्ग नै’ उनी भन्छन्, ‘ढकाल अलिक स्वभिमानी छन्, आफ्नै केन्द्र बनाउन खोज्छन् ।’ उनको भनाइमा ढकालको स्वभिमानलाई धेरैले अहङ्कारका रुपमा बुझे । ‘त्यसैले मौका पर्नासाथ उनलाई साइजमा ल्याउनुपर्छ भनेर मोर्चा कसे’ उनले भने ।
अहिले एमाले मोरङमा ढकाल करिब–करिब एक्लो अवस्थामा पुगेका छन् । उनलाई बलियो आड भरोसा दिएको भनेरै महानगर कमिटी अध्यक्ष सागर थापालाई उनको जिम्मेवारीबाट हटाउने र पार्टी सदस्यताबाटै निलम्बन गरिएको पत्र थमाइएको बताइन्छ । ‘खासमा यो थापालाई गरिएको कारवाही नै होइन, ढकालमाथि निसाना साँधिएको हो’ एमाले महानगर कमिटीका एक सदस्य बताउँछन् ।
कुनै बेला एमाले मोरङमा ढकालको एक बोली नै काफी हुने गरेको स्थितिमा अहिले पासा यसरी पल्टिएको छ कि उनका समर्थक र शुभेच्छुकलाई छानीछानी टार्गेट गरिएको छ । हुन पनि कुनै बेला उनै ढकालले सिर्जना गरिएका भनिएका ऋषिकेश पोखरेल, बाबुराम कार्की अहिले उनको साथमा छैनन् । स्रोतका अनुसार यीमध्ये पोखरेललाई अब मोरङमा कसैको खटनको होइन आफै नेता हुनु छ ।
कार्कीलाई अध्यक्ष रोज्ने कि ढकाल पहिल्यै तर्साइएको छ । ‘मोरङमा बाबुराम कार्की र प्रदेशमा घनश्याम खतिवडा, केही नेताले भनेजस्तो अध्यक्षहरू पाएका छन्’ एक एमाले कार्यकर्ता भन्छन्, ‘चाहे स्थायी कमिटी सदस्य हुन् वा पोलिटब्युरो सदस्य उनीहरूलाई बन्दुक राख्ने काँध चाहिएको थियो, पाए । अहिले भटाभट निसाना साँध्दैछन् ।’
यतिखेर एमाले मोरङका धेरै निष्ठावान कार्यकर्ताहरू एमालेका उपल्लो तहका नेताहरूले गरेको गतिविधिबाट आजित छन् । केही आपराधिक पृष्ठभूमि भएकाहरूको दानापानी खाएर इमान्दार कार्यकर्ताको कत्लेआम गर्न खोजिएको उनीहरूको गम्भीर आरोप छ । अब यस्ता नेताहरूविरुद्ध भण्डाफोर अभियान चलाउने उनीहरूले चेतावनी पनि दिएका छन् ।
View : 410
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved