Biratnagar, Morang, Nepal
२५ पुष २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
समाज

चार करोडको लागतमा निर्माणाधिन नहर सडकको अनुगमन

उद्‌घोष सम्वाददाता
९ पुष २०८१, मङ्गलवार

विराटनगर । विराटनगर महानगरपालिकाको करिब ४ करोड लागतमा नहर डिलको सडक कालोपत्रे गरिने भएको छ । 

विराटनगर–४ राजवंशीचोक पश्चिम पुलचोकदेखि वडा नम्बर १३ को रानी–धरान सडकको नहरसम्म कालोपत्रे हुने भएको छ । त्यसका लागि ठेक्का लागेर निर्माणसमेत सुरू भइसकेको छ । 

महानगरको ३ करोड ८२ लाख रूपैयाँको आन्तरिक स्रोतबाट सो सडक निर्माण गर्न लागिको मेयर नागेश कोइरालाले बताए ।

सो सडक निर्माणपछि धरान रोडमा देखिदै आएको ट्राफिक समस्या केही मात्रामा भए पनि हल हुने महानगरको भनाइ छ ।

६ करोड ३४ लाख अनुमानित लागत गरिए पनि ३ करोड ८२ लाख रूपैया“मा ठेक्का लागेको छ । गत भदौ ६ गते ठेक्का सम्झौता लागेको सो सडकमा हाल ग्राभेलको काम भइरहेको छ ।

ठेक्का सम्झौताअनुसार ५ दशमल ५ किलोमिटर सडक निर्माण हुनेछ । यसअघि विमानस्थल मार्गदेखि केशलिया मार्गसम्म कालोपत्रे भइसकेको छ । 

आगामी भदौ ५ गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । तर चैतभित्रै निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको महानगरका पूर्वाधार महाशाखाका प्रमुख इन्जिनियर अर्जुन थपलियाले जानकारी दिए । 

निर्माणाधीन सडकको सोमबार महानगरका मेयर नागेश कोइरालाले अनुगमन गरेका छन् ।

View : 84

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved