Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

कांग्रेसको १५औँ महाधिवेशन :

विराटनगरका आठ वडा सभापति निर्विरोध, बाँकीमा सहमति र प्रतिस्पर्धा पनि जारी

उद्‌घोष संवाददाता
५ असोज २०८३, सोमवार

Advertisement

विराटनगर । १५औँ महाधिवेशन सन्निकट रहेको नेपाली कांग्रेसमा तल्लो तहबाट नेतृत्व र प्रतिनिधि चयनको प्रक्रिया उत्साहजनक रुपमा अघि बढेको छ । विराटनगर महानगरपालिकामा पनि पार्टीको आन्तरिक निर्वाचन चहलपहल तीव्र छ ।

महानगर समिति अन्तरगत १९ वटै वडामा वडा अधिवेशनको प्रक्रिया चलिरहँदा आइतबार साँझसम्म आठवटा वडामा निर्विरोध रुपमा वडा समिति चयन भइसकेको छ । यी वडाबाट क्षेत्रीय प्रतिनिधि पनि चयन भएका छन् ।

तर, केही वडामा भने प्रतिस्पर्धा र त्यसअघिको सहमतिको प्रयास पनि जारी रहेको बताइएको छ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले १५औं महाधिवेशनअन्तर्गत वडा तहको अधिवेशन सुरु गरेको हो ।

वडा अधिवेशनबाट वडा कार्यसमिति निर्वाचित हुनुका साथै क्षेत्रीय प्रतिनिधि चयन हुने व्यवस्था छ । 

यही प्रक्रियाबाट चुनिएका प्रतिनिधिहरू क्रमशः माथिल्लो तहका अधिवेशनमा सहभागी हुँदै असोज १६–१९ मा तय भइसकेको केन्द्रीय महाधिवेशनको प्रतिनिधि चयन प्रक्रियासम्म पुग्नेछन् ।

नेपाली कांग्रेस विराटनगर महानगर समिति सचिव तेजिन्द्र भट्टराईका अनुसार विराटनगर महानगरका आठ वडामा वडा सभापति निर्विरोध चयन भएका छन् । ती वडामा क्षेत्रीय  प्रतिनिधि पनि निर्विरोध चयन भएका छन् ।

विराटनगर वडा नम्बर १ मा पेशल ढुंगेल, वडा नम्बर १० मा अर्जुन कार्की, वडा नम्बर १३ मा तारानाथ तिम्सिना, वडा नम्बर १४ मा दिलिप यादव, वडा नम्बर १५ मा प्रकाश साह, वडा नम्बर १६ मा मनोहर कोइराला, वडा नम्बर १७ मा सकिल अहमद र वडा नम्बर १८ मा तुलाचन यादव र वडा नम्बर १९ मा जितेन्द्र खवास निर्विरोध चयन भएका छन् ।

सबै वडामा नेतृत्व चयनमा सहमतिको प्रयास गरिएको र सहमति नभएका वडामा निर्वाचनको प्रक्रिया चलिरहेको सचिव भट्टराईले जानकारी दिए ।

वडा नम्बर २ मा भने वडा सभापतिका लागि दीपक प्रधान र कुमार कटुवालबीच प्रतिस्पर्धा छ । 

यहाँ आइतबार साँझसम्म पनि निर्वाचनको प्रक्रिया जारी छ । क्षेत्रीय प्रतिनिधि भने शनिबार नै निर्विरोध चयन भैसकेका छन् ।

त्यस्तै वडा नम्बर ३ मा कृष्ण सुवेदी र आशिष ओझा वडा सभापतिका आकांक्षी छन् । यहाँ सहमतिबाट नेतृत्व चयन गर्ने प्रयास भइरहेको सचिव भट्टराईले बताए । वडा नम्बर ८ मा पनि सहमतिका लागि छलफल जारी रहेको उनले जानकारी दिए ।

यता, वडा नेतृत्वसँगै क्षेत्रीय प्रतिनिधि चयनको विषयले आगामी क्षेत्रीय अधिवेशनका लागि पनि आधार तयार गर्ने भएकाले वडा तहको निर्वाचन कांग्रेसको आन्तरिक शक्ति संरचनाका दृष्टिले महत्वपूर्ण मानिएको छ ।

शेखरको क्षेत्रमा क्रियाशीलको विवाद

आठ वटा वडामा निर्विरोध वडा समिति चयन भएपनि महानगरभित्रकै अन्य ६ वटा वडामा भने क्रियाशील सदस्यताको संख्याको विवाद देखिएको छ । 

कांग्रेसका नेता डा. शेखर कोइरालाले चुनाव लड्दै आएको निर्वाचन क्षेत्र नम्बर ६ अन्तर्गत पर्ने महानगरको वडा नम्बर ४, ५, ७, ९, ११ र १२ मा वडा अधिवेशनको प्रक्रिया सुरु हुन सकेको छैन ।

महानगर समिति सचिव भट्टराईका अनुसार यी वडामा क्रियाशील सदस्यता विवाद टुंगिएको छैन । 

यो क्षेत्र लागि केन्द्रीय समितिबाट क्रियाशील सदस्यताको अन्तिम सूची प्राप्त नभएकाले सम्बन्धित वडामा अधिवेशन अघि बढाउन नसकिएको उनको भनाइ छ ।

View : 7

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved