विराटनगर । मोरङ उद्योग व्यापार संघको महिला उद्यम समितिको आयोजनामा ‘कोशी प्रदेशका महिला उद्यमी र उदयीमान अवसरहरू’ विषयक अभिमुखिकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । उदय परियोजना सहजीकरण ईकाई कोशी प्रदेशसँगको सहकार्यमा आयोजित कार्यक्रममा महिला उद्यमीहरूको सशक्तिकरणमा जोड दिइएको हो ।
संघकी महिला उद्यम समितिकी संयोजक श्रुति शर्माको सभापतित्वमा आयोजित कार्यक्रममा महिला उद्यमीहरूको वित्तीय व्यवस्थापन, बचत तथा लगानी, अवसरको पहिचान र व्यवसायिक दिगोपनाका विषयमा अभिमुखिकरण गरिएको थियो । उदय परियोजना मार्फत साना तथा मझौला उद्यमका लागि आवश्यक पुँजी उपलब्ध गराउने प्रक्रिया, माध्यम र सहजीकरणका उपायबारे समेत जानकारी गराइएको जनाइएको छ ।
संघका वरिष्ठ उपाध्यक्ष अनिल कुमार साहले महिला उद्यमशीलताको विकास र प्रवर्द्धनमा महिला उद्यम समितिले खेलेको भूमिका प्रशंसनीय रहेको उल्लेख गरे ।
उनले यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै उदय परियोजनासँगको समन्वयले कोशी प्रदेशका उदयीमान अवसर पहिचान गरी महिला उद्यमीलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास उनले व्यक्त गरे ।
महिला उद्यम समिति संयोजक शर्माले महिला उद्यमीहरूको सशक्तिकरण, क्षमता अभिवृद्धि र आत्मनिर्भरता संघको प्राथमिकतामा रहेको बताइन् ।
उनले बदलिंदो र प्रतिस्पर्धात्मक व्यवसायिक परिवेशमा महिलाको भूमिका थप महत्वपूर्ण बन्दै गएको उल्लेख गर्दै ज्ञान, सीप र सहकार्यको वातावरण सिर्जना गर्न समिति सक्रिय रहेको जानकारी दिइन् ।
साथै, महिला उद्यमीहरूलाई आर्थिक रूपमा सक्षम र आत्मविश्वासी बनाउन अभिमुखिकरण, तालिम तथा अन्तरक्रियामूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताइन् ।
महिला उद्यमीहरूको सशक्तिकरण नै समग्र समाज र राष्ट्रको आर्थिक समृद्धिको आधार भएको उल्लेख गर्दै सहभागीहरूले यस्ता कार्यक्रमले ज्ञान र प्रेरणा प्रदान गर्दै व्यवसाय विस्तार र दिगोपनामा टेवा पुग्ने कार्यक्रमका सहभागीहरूले विश्वास व्यक्त गरेका थिए ।
कार्यक्रममा संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नवीन रिजाल, आर्थिक मामिला तथा योजना मन्त्रालय, कोशी प्रदेशकी वित्त तथा वित्तीय क्षेत्र व्यवस्थापन शाखा प्रमुख राजकुमारी राई, उद्योग, कृषि तथा सहकारी मन्त्रालयका प्रतिनिधि, उदय परियोजना सहजीकरण इकाई, कोशी प्रदेशका विडीएस लिड विष्णु काफ्ले, रिस्क सेयरिङ लिड उत्सव घिमिरे तथा टिएएफ लिड मोहन गौतम लगायतको उपस्थिति रहेको थियो ।
यसैगरी, संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरू, विभिन्न स्थानीय तहका उद्यम विकास समितिका प्रतिनिधि, संघ–संस्थाका महिला उद्यम समितिका पदाधिकारी, महिला उद्यमीहरूको सहभागिता रहेको संघका कार्यकारी निर्देशक भरत प्रसाईँले जानकारी दिए ।
View : 106
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved