विराटनगर । हिसान स्पोर्टस् मिट अन्तरगत विराटनगरमा जारी प्रतियोगितामा शनिबार विभिन्न खेलमा प्रतिस्पर्धा भएका छन् । स्पोर्टस् मिटको १२औं संस्करण अन्तर्गतका खेलमा क्रिकेटतर्फ अर्किड, अरनिको र फुटबलमा अर्किड र कान्तिपुर, भलिबलमा रेडस्टार स्कुल र शिक्षादीप कलेज विजयी भएका छन् ।
त्यसैगरी कवड्डीमा मोडर्नएरा, विद्याभूमि, कान्तिपुर, अर्किड, शिक्षादीप र अरनिको कलेज विजयी भएका छन् । विराटनगर–१९ वैजनाथपुरको क्रिकेट मैदानमा भएको क्रिकेट प्रतियोगितामा अर्किड र अरनिको कलेज सेमिफानलमा प्रवेश गरेका छन् ।
अर्किड कलेजले विकेभिएम स्कुललाई ४२ रनले पराजित गरेको हो । टस जितेर ब्याटिङ गरेको अर्किडले निर्धारित ओभरमा ३ विकेट गुमाउँदै १३१ रन जोडेको थियो । अर्किडका महमद् सवाजुल र सन्तोष चौधरीले ४१–४१ रन बनाउँदा साहिल शेखले ३७ रन जोडे । विकेभिएमका आदित्य बस्नेत, राज कामत र सुनिल यादवले समान १–१ विकेट लिए ।
१ सय ३४ रनको चुनौति पाएको विकेभिएमले १३ दशमलव ५ ओभरमा अल आउट हुँदै ९१ रनमा सीमित भयो । विकेभिएमका अमन शेर्माले सर्वाधिक ३३ रन जोडे । म्यान आफ द म्याच अर्किडका निरज मण्डलले सर्वाधिक ५ विकेट लिएका थिए ।
क्रिकेटमै अरनिकोले शिक्षदीपलाई ६५ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको अरनिकोले ६ विकेटको क्षतिमा ११७ रन जोड्यो । म्यान अफ द म्याच बनेका अरनिकोका रामनारायण यादवले सर्वाधिक ६१ रनमा अविजित बने । शिक्षादीपका प्रज्वल काफ्ले, प्रतीक पोखरेल, उदय कामत र सागर मण्डलले १–१ विकेट लिएका थिए ।
११८ रनको चुनौती पछ्याउने क्रममा शिक्षादीपले १४ दशमलव १ ओभरमा अलआउट हुँदै ५२ रनमा सीमित भयो ।
फुटबलतर्फ शहीद मैदानमा भएको खेलमा अर्किड र कान्तिपुर कलेज विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश गरेका छन् । पहिलो खेलमा अर्किडले सिटी कलेजलाई ४–० को फराकिलो गोल अन्तरले पराजित गरेको थियो । अर्किडका लागि म्यान अफ द म्याच घोषित भएका सागर विश्वकर्माले २ गोल र अनिष श्रेष्ठ र प्रनिल मगरले १–१ गोल गरेका थिए ।
दोस्रो खेलमा कान्तिपुर कलेजले सगरमाथा कलेजलाई २–० को गोल अन्तरले पराजित गरेको हो । कान्तिपुरका म्यान अफ द म्याच घोषित भएका युनिस मगर र सरोज साहले १–१ गोल गरेका थिए ।
छात्र भलिबलतर्फ पहिलो खेलमा रेडस्टार स्कुल र शिक्षादीप कलेज विजयी भए । उनीहरु सेमिफाइनलमा प्रवेश गरे । पहिलो खेलमा रेडस्टारले पशुपति स्कुललाई २५–१७, १६–२५ र २५–२३ को सेटले पराजित गरेको हो । खेलको म्यान अफ द म्याच रेडस्टारका प्रदिप खडका बने । दोस्रो खेलमा शिक्षादीप कलेजले बुद्ध स्कुललाई २७–२५ र २७–२५ को सोझो सेटमा पराजित गरेको थियो । म्यान अफ द म्याच शिक्षादीपका सुरेन्द्र खनाल बने ।
छात्रा भलिबलमा कान्तिपुर कलेज र अर्किड कलेज विजयी बन्दै सेमिफाइनलमा प्रवेश गरेका छन् । पहिलो खेलमा कान्तिपुरले अरनिको कलेजलाई २५–५ र २५–९ को सोझो सेटले पराजित गर्यो । खेलको म्यान अफ द म्याच कान्तिपुरकी पवित्रा डाँगी बनिन् ।
दोस्रो खेलमा अर्किड कलेजले बुद्ध स्कुललाई २५–११ र २५–१३ को सोझो सेटले पराजित गरेको थियो । म्यान अफ द म्याच अर्किडकी रिमा मगर घोषित भइन् ।
शनिबार भएको कवड्डी खेलमा मोडर्न एरा, विद्याभूमि, कान्तिपुर, अर्किड, शिक्षादीप र अरनिको कलेज विजयी भए । पहिलो खेलमा मोडर्न एराले विकेभिएम स्कुललाई ४२–२४ स्कोरले पराजित गर्यो ।
दोस्रो खेलमा विद्याभूमि स्कुलले पशुपति स्कुललाई ५१–३९ स्कोरले पराजित गर्यो । तेस्रो खेलमा कान्तिपुर कलेजले नमुना स्कुललाई ८९–१४ स्कोरले पराजित गर्यो ।
चौथो खेलमा अर्किड कलेजले सेन्ट जोसेफ स्कुललाई ५५–२४ स्कोरले पराजित गर्दा पाँचौ खेलमा शिक्षदीप कलेजले विराट क्याम्पसलाई ४५–४४ स्कोरले पराजित गर्न सफल भयो । कवड्डी तर्फको अन्तिम खेलमा अरनिको कलेजले जनक स्कुललाई ७०–३२ स्कोरले पराजित गरेको थियो ।
View : 132
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved