Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
साहित्य

मैथिली साहित्यकार राना सुधाकरको निधन

उद्‌घोष संवाददाता
२५ पुष २०८२, शुक्रवार

विराटनगर । मैथिली कथा साहित्यका विशिष्ट हस्ताक्षर एवं वरिष्ठ साहित्यकार राना सुधाकरको ७९ वर्षको उमेरमा निधन भएको छ । विराटनगर–१४, भगवतीटोलस्थित आफ्नै निवासमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । 

लामो समयदेखि श्वासप्रश्वास र अन्य दीर्घरोगबाट पीडित सुधाकरको जन्म विक्रम संवत् २००२ सालमा बाराको कलैया, मल्हनीमा भएको थियो । 

उनका तीन छोरा र एक छोरी छन् । सुधाकर मैथिली साहित्यमा कथा, कविता, गीत र गजल विधाका अग्रणी व्यक्तित्व मानिन्छन् । 

उनीद्वारा लिखित प्रसिद्ध दीर्घकथा ‘दीयरि’ त्रिभुवन विश्वविद्यालयको मैथिली संकाय (स्नातकोत्तर तह) को पाठ्यक्रममा समेत समावेश छ । 

विगत पाँच दशकभन्दा लामो समयदेखि साहित्य साधनामा सक्रिय उनका सयौं रचनाहरू नेपाल र भारतका प्रतिष्ठित पत्रपत्रिकाहरूमा प्रकाशित छन् ।

उनको पहिलो कथा संग्रहको रूपमा २०७९ सालमा विराटनगरस्थित मिथिलेश्वरी मिडिया प्रालिले ‘दीयरि’ कथा संग्रह प्रकाशन गरेको थियो । उक्त संग्रहमा शीर्षक कथासहित २० वटा लामा कथाहरू समेटिएका छन् । 

मिथिलेश्वरी मिडियाका अध्यक्ष नवीन कर्णका अनुसार, सुधाकरको मौलिक कथा शिल्प र विशिष्टतालाई सम्मान गर्दै संस्थाले उनको पहिलो पुस्तक प्रकाशनमा ल्याएको थियो । साहित्यकार सुधाकरले आफ्नो जीवनकालमा विभिन्न प्रतिष्ठित पुरस्कार र सम्मानहरू प्राप्त गरेका थिए ।

सुधाकरका धेरै कृतिहरू अझै प्रकाशनको पर्खाइमा छन् । उनका अप्रकाशित कृतिहरूमा कविता संग्रह ः ‘अच्छत’, ‘धरोहर’ र ‘प्रेमपत्र’ । गीत संग्रह ः ‘सयपत्री’ र ‘कब–कब’ यस्तै गीत–गजल संग्रहमा ः ‘कागजके फूल’ र ‘हीरा मोती’ छन् । 

त्यसैगरी कथा संग्रह ः ‘विकल्प’ र अन्य थुप्रै फुटकर रचनाहरू अप्रकाशित छन् ।

View : 110

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved