Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

‘सरकार नागरिकको सुरक्षाप्रति संवेदनशील छ’

उद्घोष सम्वाददाता
९ साउन २०८१, बुधवार

विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले प्रदेश सरकार नागरिकको सुरक्षामा संवेदनशील भएको बताएका छन् । मोरङको सुनबर्षी नगरपालिका–१ केचनामा बुधबार अस्थायी प्रहरी चौकी उद्घाटन गर्दै मन्त्री अधिकारीले सो कुरा बताएका हुन् । 

मन्त्री अधिकारीले चौकी स्थापनाबाट त्यस क्षेत्रमा शान्तिसुरक्षा कायम हुने बताए । आउँदो एक बर्षभित्र अस्थायी प्रहरी चौकीलाई स्थायी बनाउने समेत प्रतिवद्धता उनले जनाए ।

उक्त अस्थायी प्रहरी चौकीको स्थापनाले भारतीय सीमावर्ती सिक्टी नाकाबाट हुने चोरी तस्करी नियन्त्रण र लागुपदार्थ ओसारपसार रोकथाममा सहयोग पुग्ने जनाइएको छ । 

सो अवसरमा कोशी प्रदेश सरकारका खानेपानी, सिंचाई तथा उर्जामन्त्री एकराज कार्कीले सुरक्षा चौकी स्थापनाबाट जनतालाई सुरक्षाको थप अनुभूति हुने विश्वास व्यक्त गरे । 

कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्रकुबेर खापुङले जनताको माग अनुसार  अस्थायी प्रहरी चौकी स्थापना गरिएको बताए । 

कार्यक्रममा सुनबर्षी नगरपालिकाका प्रमुख श्यामप्रसाद राजवंशी, वडाध्यक्ष वीरबहादुर राई, मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीलगायतले लागुपदार्थ दुर्व्यसन नियन्त्रण, आपराधिक घटना न्यूनीकरण र शान्ति सुरक्षा कायम गर्न नागरिकको समेत सहयोग आवश्यक रहेको बताएका थिए ।

View : 108

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved