Biratnagar, Morang, Nepal
३१ जेठ २०८३, आइतवार
+977 21 450305, 515728, 578305
कोशी

सातबुँदे घोषणापत्र जारी गर्दै कोशी प्रदेश युवा सम्मेलन सम्पन्न

कोशी प्रदेशका १४ वटै जिल्लाबाट सहभागी युवाहरूको उपस्थितिमा आयोजित सम्मेलनले युवा सहभागिता र अधिकार सुनिश्चित गर्न सातबुँदे मागसहितको घोषणापत्र जारी गरेको गैसस महासंघका केन्द्रीय उपमहासचिव किरण थापाले जानकारी दिए ।
उद्‌घोष संवाददाता
३० जेठ २०८३, शनिवार

Advertisement

विराटनगर । सातबुँदे घोषणापत्र जारी गर्दै कोशी प्रदेश युवा सम्मेलन शुक्रबार विराटनगरमा सम्पन्न भएको छ ।

गैरसरकारी संस्था महासंघ नेपाल र युवा अभियानको आयोजनामा सम्पन्न ‘कोशी प्रदेश युवा सम्मेलन २०८३’ ले युवाका अधिकार, सहभागिता, रोजगारी, डिजिटल अधिकार तथा जलवायु न्यायका विषय समेटिएको साझा घोषणापत्र सार्वजनिक गरेको छ ।

कोशी प्रदेशका १४ वटै जिल्लाका युवाको सहभागितामामा सम्मेलन आयोजना गरिएको सम्मेलन सम्पन्न भएपछि आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

सम्मेलनले कोशी प्रदेश सीएसओ युथ फोरमको संयोजकमा युवा तिम्सिना र सहसंयोजकमा नेहा अग्रहरीलाई चयन गरेको छ ।

कोशी प्रदेशका १४ वटै जिल्लाबाट सहभागी युवाहरूको उपस्थितिमा आयोजित सम्मेलनले युवा सहभागिता र अधिकार सुनिश्चित गर्न सातबुँदे मागसहितको घोषणापत्र जारी गरेको गैसस महासंघका केन्द्रीय उपमहासचिव किरण थापाले जानकारी दिए ।

उनले सामाजिक आन्दोलनमा युवाहरूको सकारात्मक सहभागिता, युवा अधिकार, रोजगारी, डिजिटल सुरक्षा, जलवायु न्याय तथा समावेशी विकासका विषयमा सम्मेलनमा छलफल भएको बताए ।

घोषणापत्रमार्फत राष्ट्रिय तथा प्रदेश युवा परिषद्लाई खारेज वा संकुचन नगरी थप सशक्त, स्रोत–साधन सम्पन्न र प्रभावकारी संस्थाका रूपमा विकास गर्न माग गरिएको संयोजक युवा तिम्सिनाले बताए ।

उनले राष्ट्रिय युवा नीति २०८२ को मर्मअनुसार कोशी प्रदेशको आफ्नै विशिष्ट युवा नीति तथा कार्ययोजना तत्काल तर्जुमा गरी कार्यान्वयन गर्नुपर्ने आवश्यकता सम्मेलनमार्फत औँल्याइएको जानकारी दिए ।

सम्मेलनले स्थानीय तथा प्रादेशिक योजना तर्जुमा प्रक्रियामा युवा नागरिक समाजको कम्तीमा २० प्रतिशत समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न र ‘युवा उत्तरदायी बजेटिङ’ लागू गर्न माग गरेको छ । 

बजेट तथा योजनामा पारदर्शिता बढाउन ‘प्रादेशिक युवा सूचना पोर्टल’ स्थापना गर्नुपर्ने सुझाव पनि दिइएको उनले बताए ।

युवाहरूले रैथाने ज्ञान, सीप र सांस्कृतिक सम्पदाको संरक्षणका लागि ‘प्रादेशिक रैथाने ज्ञान तथा नवप्रवर्तन केन्द्र’ स्थापना गर्न, स्वदेशी उत्पादनको बौद्धिक सम्पत्ति अधिकार संरक्षण गर्न तथा युवा उद्यमीलाई बिना धितो सहुलियतपूर्ण ऋण उपलब्ध गराउन माग गरेका छन् ।

डिजिटल अधिकार, गिग श्रमिकको सामाजिक सुरक्षा, कृत्रिम बौद्धिकता (एआई) को नैतिक प्रयोग, मानसिक स्वास्थ्य सेवा विस्तार, वृत्ति विकास परामर्श तथा युवालाई लक्षित रोजगार कार्यक्रमका विषयलाई पनि सम्मेलनले प्राथमिकतामा राखेको जनाइएको छ ।

घोषणापत्रमा युवाका मुद्दालाई केवल तालिम र भत्तामा सीमित गर्ने सोच त्याग्दै यसको प्रभावकारी कार्यान्वयनका लागि सरकार, नागरिक समाज र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उल्लेख गरिएको छ ।

घोषणापत्र कार्यान्वयनका लागि सरकार, नागरिक समाज र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य आवश्यक रहेको निष्कर्ष निकालिएको सीएसओ युथ फोरम कोशीकी सहसंयोजक नेहा अग्रहरीले जानकारी दिइन् ।

सम्मेलनमा गैसस महासंघका केन्द्रीय सदस्य सिर्जना बस्नेत, काेशी प्रदेशका अध्यक्ष सोमराज ढकाल, सचिव सिएम गुरागाईँ, सहसचिव सन्तोष कुमार बस्नेत, युथ इनिसिएटिभकी सुस्मिता यादव लगायतको उपस्थिति रहेको थियो ।

View : 84

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved