Biratnagar, Morang, Nepal
८ फागुन २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
राजनीति

बढ्दो भ्रष्टाचारले नेपाल बद्नाम : कोइराला

उद्‌घोष सम्वाददाता
५ फागुन २०८१, सोमवार

विराटनगर । नेपाली कांग्रेसका नेता तथा संघीय सांसद डा शेखर कोइरालाले कमजोर आर्थिक अवस्था र बढ्दो भ्रष्टाचारका कारण अन्तर्राष्ट्रियस्तरमा नेपाल बद्नाम हुँदै गएको बताएका छन् । 

मोरङको बूढीगंगा गाउँपालिकाले सञ्चालनमा ल्याएको पालिकास्तरीय अस्पतालको उद्घाटन गर्दै सांसद कोइरालाले भ्रष्टाचारसँग सम्बन्धित विभिन्न रिपोर्टका कारण देशलाई अफ्ठ्यारोमा पारेको बताए । 

‘देशको आर्थिक अवस्थामा कमजोर हुँदै गएको र उत्पादकत्व वृद्धि हुन नसक्दा परनिर्भरता बढ्दै गएको छ,’ उनले भने, ‘अर्कातिर ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई), सीपीआईलगायत अन्तर्राष्ट्रिय संस्थाहरूको रिपोर्टले नेपालमा भ्रष्टाचार व्यापक मात्रामा बढेको देखाएको छ । यसले अन्तर्राष्ट्रियस्तरमा देश बद्नाम भएको छ । 

सीपीआईको पछिल्लो रिपोर्टले विश्वका १८० मुलुकमध्ये नेपाल १०० मा ३४ अंकका साथ बढी भ्रष्टाचार हुने मुलुकको १०७ औं स्थान पर्नुले लज्जाको विषय भएको उनको टिप्पणी थियो । 

कार्यक्रममा मनमोहन प्राविधिक विश्वविद्यालयका उपकुलपति डा सुवासश्री पोखरेलले हरेक वर्ष विश्वविद्यालयले ५ सय रोजगारी सिर्जना गर्नेगरी काम गरिरहेको जानकारी दिए । उनले बूढीगंगा गाउँपालिकासँग मिलेर रोजगारमूलक तालिम र शिक्षा दिन विश्वविद्यालय तयार रहेको प्रस्ट्याए । 

बूढीगंगा गाउँपालिका अध्यक्ष जितनारायण थापा मगरले गाउँपालिकाले भौतिक पूर्वाधारको विकाससँगै शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको सुनाए । 

उद्घाटन समारोहमा संविधानसभा सदस्य पवनकुमार सारडा, वीरेन्द्रकुमार माझी, कोशी प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव राधिका थपलिया, गाउँपालिकाका निवर्तमान अध्यक्ष बालचन्द्र माझी, नेपाली कांग्रेस मोरङका कार्यबाहक सभापति भक्तिनाथ माझी, नेकपा एमालेका सत्यनारायण चौधरी, गाउँपालिकाकी उपाध्यक्ष अमृताकुमारी गच्छदार, बूढीगंगा गाउँपालिका खानेपानी उपभोक्ता समितिका अध्यक्ष राजन केसीलगायतले पालिका अस्पतालले गुणस्तरीय सेवा दिनुपर्नेमा जोड एका थिए ।

समारोहमा अस्पताल निर्माणमा सहयोग पुर्याउने उद्योगी जगदीश अग्रवाल, रविरञ्जन झा र सञ्जय अग्रवाललाई सम्मान गरिएको थियो । 

पालिकास्तरीय अस्पतालमा आकस्मिक र ओपीडी सेवा रहेको छ । १० शय्याको सो अस्पतालमा फिजिसियन, दाँत, प्रसूति, एक्से–रे, ल्याब, फार्मेसीलगायतका सेवाहरू उपलब्ध रहेको अध्यक्ष थापा मगरले जानकारी गराए । 
पालिकावासीको सुविधालाई ध्यानमा राखेर ३६५ दिनको चौवीसै घण्टा आकस्मिक सेवा उपलब्ध हुनेछ ।

View : 81

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved