Biratnagar, Morang, Nepal
१६ वैशाख २०८१, आइतवार
+977 21 450305, 515728, 578305
खेलकुद

कोशी प्रदेशका १४ खेलाडी र प्रशिक्षक सम्मानित

उद्घोष सम्वाददाता
१३ चैत २०८०, मङ्गलवार

विराटनगर । कोशी प्रदेश सरकारले विभिन्न खेलका अन्तर्राष्ट्रिय प्रतियोगिताका विजेता बनेका प्रदेशका खेलाडी र प्रशिक्षकहरूलाई पुरस्कृत गरेको छ ।

उनीहरूलाई मंगलबार धनकुटास्थित मुख्यमन्त्री कार्यालयको सम्पर्क कार्यालयमा कोशी प्रदेश खेलकुद विकास बोर्डले नगदसहित सम्मानित गरेको हो । खेलाडीहरूलाई कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, सामाजिक विकास मन्त्री राजेन्द्र कार्की लगायतले नगद र सम्मान पत्र प्रदान गरेका हुन् ।

साउदी अरेबियामा सम्पन्न भएको वाफ महिला फुटबल च्याम्पियनसिपमा रजत पदक प्राप्त नेपाली राष्ट्रिय फुटबल टोलीका सविता राना मगर, अमिसा कार्की, हिराकुमारी भुजेल, रेखा पौडेल, अनिसा बस्नेत, प्रीति राई, एन्जिला तुम्बाप्पोसहित प्रशिक्षक श्याम मानन्धरलाई जनही २५ हजार रुपैयाँका दरले सम्मान गरिएको हो ।

मलेसियामा सम्पन्न भएको आईटीएफ तेक्वान्दो विश्व च्याम्पियनसिप २०२३ मा स्वर्ण पदक विजेता सजिना तामाङ नगद ५० हजारसहित सम्मानित भएकी हुन् ।

त्यसैगरी चीनमा सम्पन्न भएको १९ औं एसियाली खेलकुदमा महिला कबड्डीतर्फका काँस्य पदक विजेता भएको नेपाली कबड्डीकी मुख्य प्रशिक्षक पार्वती राईसहित खेलाडीहरू मेनुका राजवंशी, अनुजा कुलुङ राई र ईशा राईलाई नगद २/२ लाख रुपैयाँ प्रदान गरिएको छ । सोही प्रतियोगितामा रजत पदक विजेता प्रशिक्षक धनकुटाका कुशल श्रेष्ठलाई समेत नगद २ लाख र कदर पत्रसहित प्रदान गरिएको छ ।

खेलाडीलाई सम्मान गर्दै मुख्यमन्त्री कार्कीले प्रदेशले खेल र खेलाडीको विकासका लागि आवश्यक बजेटको प्रबन्ध गरेको बताए । खेल कक्षाकोठा बाहिरको सिकाइ भएको भन्दै उनले  खेलकै माध्यमबाट रोजगारी पनि सिर्जना हुने बताए ।

प्रदेश खेलकुद विकास बोर्डमार्फत अन्तराष्ट्रियस्तरमा भएका खेलका बिजेतालाई सम्मान गर्ने कार्य योजना बनाएको मुख्यमन्त्री कार्कीले बताएका छन् ।

View : 79

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved