विराटनगर । विराटनगरको एउटा नाला निर्माण भएको साढे दुई दशकमा पहिलो पटक सफाई गरिएको छ । नगरक्षेत्रको वडानम्बर ६ र ११ को सिमानामा पर्ने नाला २५ बर्षमा पहिलोपटक सफाई गरिएको हो ।
सामान्य वर्षातमा समेत विराटनगर महानगरपालिकाका बस्तीहरू डुबान हुनु पछिल्लो समय सामान्य घटना जस्तै भएको छ । वर्षात्को पानी निकास हुने प्राकृतिक पैनीहरू अतिक्रमण गरेर सडकको निर्माण हुनु डुबानको प्रमुख कारक हो भने नगरक्षेत्रका नालाहरू जाम हुनु अर्को कारण हो ।
नाला सफाईमा बिगतमा कुन स्तरसम्मको सतही काम हुँदै आयो भन्ने कुरा विराटनगर– ११ र ६ नम्बर वडा केशलिया रोडको नालालाई लिन सकिन्छ । यस क्षेत्रको नाला निर्माण भएपछिको २५ वर्षमा पहिलोपटक सफाई गरिंदैछ ।
केशलिया रोडको मध्यभागबाट पश्चिम नहरसम्मको ६ फिट गहिरो तथा ३ सय मिटर लम्बाईको नाला साढे दुई दशकमा पहिलो पटक सफाई गरिंदैछ । लामो समयसम्म सफाई नगरिएका कारण उक्त नालामा ३ फिट बाक्लो फोहोर जमेको छ । जसलाई स्काभेटरको प्रयोग गरि सफाई गरिंदैछ ।
महानगरको सम्पूर्ण साधन श्रोतहरूको परिचालन तथा प्रयोग गरी सो नालाको सफाई थालिएको महानगरपालिकाका सरसफाई ब्यवस्थापन शाखा प्रमुख पुनम दाहालले जानकारी दिए ।
२०५५ सालमा निर्माण भएको सो नाला जाम भएकै कारण विराटनगर–११ को मरिक बस्ती, लंका टोल र जनपथ टोलसहित विराटनगर–६ को विभिन्न टोल बस्तीहरूले समेत डुबानको समस्या खेप्दै आएका थिए ।
View : 1894
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved