Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
अन्तर्राष्ट्रिय

लेबनानका प्रधानमन्त्रीद्वारा इजरायलसँग युद्धविराम गर्न राष्ट्रसङ्घीय प्रस्तावको आह्वान

उद्घोष सम्वाददाता
२५ असोज २०८१, शुक्रवार

बेरुत, २५ असोज । लेबनानका प्रधानमन्त्री नजिब मिकातीले शुक्रबार संयुक्त राष्ट्रसङ्घ समक्ष इजरायल र इरान समर्थित हिजबुल्लाह समूहबीच ‘तत्काल’ युद्धविराम गर्ने प्रस्ताव पारित गर्न आग्रह गरेका छन् ।

टेलिभिजनमा सम्बोधन गर्दै उनले युद्धविरामको एउटा अंशका रूपमा इजरायलसँगको सीमामा सेना तैनाथ गर्न आफ्नो सरकारको प्रतिबद्धतामा जोड दिँदै हिजबुल्लाह यस विषयमा सहमत भएको बताए ।

लेबनानको विदेश मन्त्रालयले राष्ट्रसङ्घीय सुरक्षा परिषद्लाई ‘पूर्ण र तत्काल युद्धविराम’ को आह्वान गर्ने प्रस्ताव जारी गर्न अनुरोध गर्ने उनले बताए । उनका अनुसार लेबनान सरकार सन् २००६ मा अपनाइएको र मुलुकको दक्षिणमा लेबनानी सेना र शान्तिसेना मात्र तैनाथ हुनुपर्ने आह्वानसहितको ‘प्रस्ताव १७०१ को पूर्ण कार्यान्वयन’ प्रति प्रतिबद्ध छ ।

“लेबनान दक्षिणमा सेनाको तैनाथी र सीमामा यसको उपस्थिति बलियो बनाउन प्रतिबद्ध छ”, उहाँले भन्नुभयो, “हिजबुल्लाह यस विषयमा सहमत छ ।” एउटा सरकारी स्रोतले हिजबुल्लाहले लेबनानी अधिकारीहरूलाई सेप्टेम्बर २७ मा इजरायलसँग युद्धविराम स्वीकार गरेको जानकारी दिएको थियो ।

उक्त दिन इजरायली आक्रमणमा यसका नेता हसन नसरल्लाहको मृत्यु भएको थियो । यसअघि हिजबुल्लाहले गाजामा आफ्नो प्यालेस्टिनी सहयोगी हमाससँग पनि युद्धविराम भएमा मात्र युद्धविराम स्वीकार्ने बताएको थियो ।

प्रधानमन्त्री मिकातीले संयुक्त राष्ट्र अन्तरिम बल लेबनान (युनिफिल) माथिको आक्रमणलाई पनि ‘अपराध’ भन्दै निन्दा गरे ।

लेबनानी सञ्चारमाध्यम र विदेश मन्त्रालयका अनुसार लगातार दुई दिन इजरायली बलहरूले शान्तिसैनिकहरूलाई लक्षित गरी आक्रमण गरेका थिए ।

लेबनानी अधिकारीहरूका अनुसार एक वर्षको युद्धमा दुई हजार एक सयभन्दा बढी मानिसको मृत्यु र १० लाखभन्दा बढी मानिस विस्थापित भएका छन् । (रासस/एएफपी)

View : 100

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved