विराटनगर । एमाले अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना गर्दै आएका कोशी प्रदेशसभाका पूर्व सांसद एवं एमाले उदयपुरका नेता विमल कार्कीले पुनः एमालेको राजनीतिमा सक्रिय हुने घोषणा गरेका छन् ।
ओलीका खरो आलोचक बनेका कारण पार्टीले कारवाही समेत गरेका कार्कीले प्रतिनिधिसभा निर्वाचन नजिकिंदै गर्दा सार्वजनिक रूपमै एमाले उम्मेदवारहरूको समर्थनमा उभिएका हुन् ।
उनले आफू अहिले कुनै पनि दलको औपचारिक सदस्य नभए पनि मुलुकको राजनीतिप्रति गहिरो चासो रहेको उल्लेख गरेका छन् । उनले पछिल्लो समय ‘नयाँ र वैकल्पिक राजनीति’ को नाममा देखिएको गतिविधिलाई प्रहसनको संज्ञा दिंदै देशलाई संकटबाट उकास्न पुरानै, अनुभवी र जिम्मेवार राजनीतिक शक्तिको आवश्यकता रहेको बताए ।
‘प्रतिनिधि सभाको निर्वाचनका लागि भनेर नयाँ र बैकल्पिक राजनीतिक शक्ति हौं भन्नेहरूले राजनीतिका नाममा जे जस्तो प्रहसन र नौटंकी देखाइरहेकाछन्, त्यो हेर्नू परेपछि म एउटा निष्कर्षमा पुगेको छु’ उनले आफ्नै फेसबुकमार्फत उल्लेख गरेका छन्, ‘त्यो निष्कर्ष भनेको दुर्घटनाको डिलमा पुग्न आटेको देशलाई जोगाउनका लागि पुरानै राजनितिक शक्तिहरु चाहिने रहेछ, र त्यसमा पनि नेकपा एमाले नै चाहिने रहेछ ।’
कार्कीले एमालेका नेता, अध्यक्ष केपी ओलीमा चट्टानी दृढता र अडान भएको बताएका छन् । तर आफु पार्टी भित्र र बाहिर स्वच्छ र स्वस्थ लोकतन्त्र हुनुपर्छ भन्नेमा मान्यतामा भने अडिग रहेकोले त्यसमा आफु ओलीको आलोचककै रुपमा रहने बताए ।
कार्कीले एमालेका उम्मेदवारहरू नै अरुभन्दा माझिएका, खारिएका, अनुभवी र योग्य रहेको दाबी गरेका छन् ।
View : 1276
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved