विराटनगर । यसअघि स्वतन्त्र उम्मेदवारका रूपमा खडा भएर चुनाव जितेकाहरू धमाधम पार्टी खोल्न अग्रसर भएका छन् । यो सूचीमा मोरङका पूर्व सांसद योगेन्द्र मण्डल पनि थपिने भएका छन् ।
२०७९ को निर्वाचनमा अन्तिम समयमा एमालेले टिकट नदिएपछि स्वतन्त्र चुनाव लडेर मोरङ ५ बाट प्रतिनिधिसभा सदस्य जितेका मण्डल अब आफैं पार्टी खोल्न अग्रसर भएका हुन् ।
स्वतन्त्र उठेरै धरानको मेयर जितेका हर्क साम्पाङले दल दर्ता गरिसकेका छन् । उनी जिल्ला दौडाहामा निस्किसकेका छन् ।
विघटित प्रतिनिधिसभा सदस्य मण्डलले पनि राजनीतिक दल दर्ता गर्ने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् ।
उनले निर्वाचन आयोगमा दल दर्ताको तयारी चलिरहेको र सम्भवतः बुधबार आयोग जाने तयारी गरिएको मण्डलले जानकारी दिए ।
‘राष्ट्रिय ऊर्जाशील पार्टी नामक दल दर्ताको तयारी चलिरहेको छ । बुधबार निर्वाचन आयोग जान्छौं होला’ मण्डलले भने ‘यसमा २७ जिल्लाका साथीहरू जोडिनुभएको छ । अब ७७ जिल्लाकै मान्छे समेटिने छ ।’
मण्डलका अनुसार उनले खोल्ने दलमा एउटा ठूलो टोली छ । नवयुवाहरू बढी समेटिएको उनको दाबी छ ।
मण्डल एमाले पृष्ठभूमिका व्यक्ति हुन् । झण्डै एक वर्षअघि उनले मोरङ ५ मा आफू अब कुन दलमा जाँदा राम्रो हुन्छ भनेर मतदातामाझ मत सर्भेक्षणसमेत गराएका थिए ।
त्यसबेला धेरैजसोले उनलाई जनता समाजवादी पार्टीमा जान भनेर सुझाव दिएका थिए ।
यद्यपि जसपा पनि विभाजित भएपछि उनी आफ्नै पूर्व पार्टी एमालेस“ग नजिक भएका थिए ।
जेनजी आन्दोलनपछि एमाले रक्षात्मक बनेको भन्दै मण्डलले आफै दल खोल्ने निर्णय लिन लागेका हुन् ।
‘अहिलेको संविधानका आधारभूत मान्यताहरूमा आधारित रहेको दल हुनेछ,’ मण्डलले भने ‘शासकीय स्वरूप कस्तो हुने, कसरी अघि बढ्ने भन्ने कुरा दल दर्तापछि हुने राष्ट्रिय भेलाले तय गर्नेछ ।’
२०७९ को चुनावताका एमालेबाट चुनाव लड्ने सबै चुनावी तयारी पूरा गरिसकेका मण्डललाई अन्तिममा एमालेले टिकट दिएको थिएन ।
एमाले र जसपाको एक्कासी बनेको गठबन्धनका कारण मोरङ ५ एमालेले जसपाका लागि छाडिदियो । मण्डलले स्वतन्त्र उम्मेद्वारी दिएका थिए ।
पार्टीबाट विद्रोह गर्ने उनको कदमलाई मोरङ ५ का मतदाताले अनुमोदन गरिदिएका थिए ।
तत्कालीन सत्ता गठबन्धनका माओवादी उम्मेदवार शिवकुमार मण्डल र एमाले–जसपा गठबन्धनका उम्मेदवार राजकुमार यादवलाई पछि पार्दै उनले चुनाव जितेका थिए ।
मण्डलले त्यसबेला उनले २१ हजार ८ सय २० मत पाए भने उनका प्रतिस्पर्धी माओवादी केन्द्रका शिवकुमार मण्डलले १७ हजार ४ सय ८६ मत पाएका थिए ।
मोरङ धनपालथान गाउँपालिका २ का ५४ वर्र्षीय मण्डल चुनावको दुई वर्षअघिसम्म राजनीतिक रूपमा सक्रिय थिएनन् ।
जीवन विकास समाज नामक चर्चित लघुवित्त संस्थाका संस्थापक अध्यक्ष उनी सोही संस्थामार्फत महिला समूह बनाएर सामाजिक काममा सक्रिय थिए ।
२६ वर्षभन्दा लामो समयदेखि सोही संस्थामार्फत मोरङ ५ सहित देशका २७ जिल्लामा पुगिरहेका उनलाई एमाले नेताहरूले संसदमा ठाउ“ दिने वचन दिएर पार्टीमा भित्र्याएका थिए ।
View : 339
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved