Biratnagar, Morang, Nepal
६ चैत २०८२, शुक्रवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

मनमोहनमा चिनिया राष्ट्रपति सी जिनपिङ लिखित पुस्तक जलेको घटना छानबिन गर्न बन्यो समिति

उद्‌घोष संवाददाता
५ चैत २०८२, बिहिवार

तस्वीर : बीबीसी नेपाली

विराटनगर । एउटा शैक्षिक संस्थाको ‘लापरबाही’ कसरी द्विदेशीय सम्बन्धलाई असर पार्ने माध्यम बन्न सक्छ भन्ने प्रमाण बनेको छ, मनमोहन प्राविधिक विश्वविद्यालयमा किताब जलाइएको घटना । नेपाल–चीन सम्बन्धमै तरंग उत्पन्न गराएको यो घटनाको अब छानविन हुने भएको छ । 

मोरङ बुढीगंगा गाउँपालिकामा रहेको मनमोहन प्राविधिक विश्वविद्यालयमा चिनिया राष्ट्रपति सी जिनपिङद्वारा लिखित पुस्तक जलाइएको घटनाको छानविन गर्न गृह मन्त्रालयले मोरङ प्रशासनलाई निर्देशन दिएको थियो । 

सोही अनुसार जिल्ला प्रशासन कार्यालय मोरङले बुधबार सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको छ । 

विश्वविद्यालयको मुख्यालयमा नियमित सरसफाइका क्रममा धमिरा लागेका पुस्तकहरू जलाउँदा चिनिया राष्ट्रपति सी को पुस्तक ‘द गभर्नेन्स अफ चाइना’ पनि जलेको भिडियो सार्वजनिक भएपछि चिनिया दूतावासले परराष्ट्र मन्त्रालयसामु आपत्ति प्रकट गरेको थियो ।

चिनिया दुतावासले गम्भीरतापूर्वक लिएको भन्दै आपत्ति प्रकट गरेपछि परराष्ट्रले गृह मन्त्रालयलाई यो विषय हस्तान्तरण गरेको थियो । 

लगत्तै गृहले छानबिन समिति बनाएर दोषीमाथि कारबाही गर्न निर्देशन दिएको थियो ।

सोही निर्देशनअनुसार छानबिन समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिएका छन् । उनका अनुसार समितिलाई  १५ दिनको समय दिइएको छ । 

उक्त समयभित्र घटनाको विस्तृत प्रतिवेदन पेश गर्ने समयसीमा दिइएको छ । 

समितिको मुख्य जिम्मेवारी घटनाको सत्यतथ्य पत्ता लगाउनुका साथै यदि कुनै कमजोरी वा नियत भेटिए त्यसअनुसार कारबाहीका लागि सिफारिस गर्नु रहेको प्रजिअ कट्टेलको भनाइ छ । 

समितिलाई केवल घटनाको विवरण संकलनमै सीमित नराखी भविष्यमा यस्ता संवेदनशील घटना दोहोरिन नदिन आवश्यक नीतिगत र व्यवस्थापकीय उपायहरू समेत सुझाउन निर्देशन दिइएको छ । 

यो घटनामा विश्वविद्यालय प्रशासनले भने सुरुदेखि नै घटना नियतवश नभएको दाबी गर्दै आएको छ । 

विश्वविद्यालयका उपकुलपति सुभाषश्री पोखरेलका अनुसार फागुन ३० गते प्रयोगशाला निर्माणका लागि स्थान खाली गर्ने क्रममा सरसफाइ तथा व्यवस्थापन कार्य गरिएको थियो । 

सो क्रममा लामो समयदेखि स्टोरमा थन्किएका र प्रयोग गर्न नसकिने अवस्थामा पुगेका सामग्री छुट्याएर हटाउने निर्णय गरिएको थियो । धमिरा लागेका, पानीले भिजेर मक्किएका तथा प्रयोगयोग्य नभएका सामग्री नष्ट गर्ने प्रक्रियामा केही पुस्तकहरू पनि परेको उनको भनाइ छ । 

‘कुनै विशेष पुस्तकलाई लक्षित गरेर जलाइएको होइन, सरसफाइ प्रक्रियाकै क्रममा यस्तो भएको हो’ उनको भनाइ छ ।

अहिले मनमोहन प्राविधिक विश्वविद्यालय रहेको स्थानमा विश्वविद्यालय स्थापना हुनुअघि मनमोहन स्मृति प्रतिष्ठान सञ्चालनमा थियो । 

नेपालका प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको नाममा स्थापित प्रतिष्ठान र पोलिटेक्निक रहेको बेला विभिन्न स्रोतबाट प्राप्त पुस्तकहरू पछि विश्वविद्यालयमा स्थानान्तरण गरिएको थियो । 

बाँकी रहेका पुस्तकका प्रति स्टोरमा राखिएका थिए, जसको व्यवस्थापन गर्ने क्रममा अहिलेको घटना भएको दाबी गरिएको छ ।

विश्वविद्यालय स्रोतका अनुसार अझै पनि सी जिनपिङद्वारा लिखित उक्त पुस्तकका हजारौं प्रति सुरक्षित अवस्थामा रहेका छन् ।

आन्तरिक विवरणअनुसार १० देखि १२ हजारसम्म पुस्तक अझै स्टकमा रहेको जनाइएको छ । 

घटनाले अन्तर्राष्ट्रिय चासो उत्पन्न भएपछि  सरकारी संयन्त्र सक्रिय बनेको छ । 

नेपालस्थित चिनिया दूतावासले परराष्ट्र मन्त्रालयमार्फत औपचारिक रूपमा ध्यानाकर्षण गराउँदै घटनाको छानबिन र आवश्यक कारबाहीको माग गरेको थियो ।

View : 64

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved