Biratnagar, Morang, Nepal
१८ मंसिर २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
कोशी

सरकारमा जाने नजाने बिषयले कोशीमा कोइराला पक्षभित्र विवाद

कांग्रेस नेताहरुका अनुसार कोइराला पक्षका चार जना सांसदहरु वर्तमान सरकारमा मन्त्री बन्ने दौडमा सबैभन्दा धेरै सहभागी छन् ।  यसअघि विद्रोह गरेर केदार कार्कीलाई मुख्यमन्त्री बनाउन भूमिका निर्वाह गरेकामध्ये इलामका गोविन्द गिरी र मोरङका मानबहादुर लिम्बू मन्त्री हुने लाइनमा छन् ।
उद्घोष सम्वाददाता
७ असोज २०८१, सोमवार

विराटनगर । कोशीका सत्तारुढ दुई दल कांग्रेस र एमालेले सरकारको साझा कार्यक्रम तय गर्न कार्यदल  गठन गरिसक्दा पनि कोशीमा कांग्रेसको कोइराला पक्ष भने सरकारमा सहभागी भएको छैन । 

स्रोतका अनुसार न्यूनतम दुईवटा मन्त्रालय नपाएसम्म सरकारमा नजाने अडानमा रहेको कोइराला पक्षले अहिलेसम्म मन्त्री पठाउने सुरसार गरेकै छैन । 

‘उहाँहरुले.पाउने एउटा मन्त्रालय हो, दुईटा पाउनैपर्ने त्यो पक्षको अडान छ’, कांग्रेस संस्थापन पक्षका एक नेताले भने ‘अहिले त्यो सम्भव देखिन्न । किनभने मन्त्रालय थप्ने तयारी तत्काल छैन ।’

संस्थापन पक्षका नेताहरुका अनुसार मन्त्रीको नाम दिन ढिला हुँदा कोशीको कोइराला पक्षभित्रै विवाद बढेको छ । 

‘हामीले सुने अनुसार कोइराला पक्षभित्र कोही सरकारमा जानुपर्ने अडानमा छन् रे, कोही जानुहुन्न भन्ने पक्षमा छन् भन्ने सुनिएको छ’, ती नेताले भने ‘सबैले शेखर कोइरालाको अन्तिम निर्देशन कुरिरहेको भन्ने बुझिएको छ ।’ 

कांग्रेस नेताहरुका अनुसार कोइराला पक्षका चार जना सांसदहरु वर्तमान सरकारमा मन्त्री बन्ने दौडमा सबैभन्दा धेरै सहभागी छन् । 

यसअघि विद्रोह गरेर केदार कार्कीलाई मुख्यमन्त्री बनाउन भूमिका निर्वाह गरेकामध्ये इलामका गोविन्द गिरी र मोरङका मानबहादुर लिम्बू मन्त्री हुने लाइनमा छन् ।

यसअघि नै मन्त्री भइसकेका उदयपुरका रामकुमार खत्री र धनकुटाकी इन्दिरा थापा पनि मन्त्री नभइ नछाड्ने दौडमा छन् । 

अहिले भागमा परेको जम्मा एउटा मन्त्रालयमा धेरै आकांक्षी भएपछि कोइराला पक्षलाई सकस परेको छ । यसरी सकस चुलिँदा पूर्व मुख्यमन्त्री केदार कार्की भने अहिलेको सरकारमा सहभागी हुन नहुने अडानमा रहेको स्रोतको भनाइ छ ।

‘पूर्व मुख्यमन्त्री कार्की सरकारमा जान नहुने अडानमा रहेको बुझिएको छ’, स्रोतले भन्यो ‘अरु धेरै सांसद भने सरकारमा जानुपर्ने अडानमा छन् । यो विषय छिनोफानो हुने बित्तिकै कोइराला पक्ष सरकारमा सामेल हुनेछ ।’

View : 152

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved