मनसुनी विपद्को कहर :
विराटनगर । कोशी प्रदेशका पहाडी जिल्लाहरू पहिरोको उच्च जोखिममा रहेको आफ्नै अध्ययन प्रतिवेदनको निष्कर्षलाई कोशी प्रदेश सरकारसहित सबै तहका सरकारले वेवास्ता गर्दा यसपटक ठूलो मानवीय क्षति निम्तिएको छ ।
केही दिनदेखिको अविरल वर्षाले निम्त्याएको बाढीपहिरोले कोशी प्रदेशमा मात्रै अहिलेसम्म कम्तीमा ४५ जनाको ज्यान लिइसकेको छ ।
यसपटक जेठ १५ मा कोशी प्रदेश हुँदै नेपाल भित्रेको मनसुनले पहिलो दिन नै विपदको संकेत देखाइसकेको थियो ।
त्यहीबेला नै कोशी प्रदेश सरकारले पहिरोको जोखिम क्षेत्रबाट सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्ने बताएको थियो ।
तर, महिनौं बितिसक्दा पनि जोखिम क्षेत्रबाट सर्वसाधारण सुरक्षित ठाउँमा सार्ने काममा प्रदेश, संघ र स्थानीय सरकार कसैले पनि चासो दिएनन् ।
यसले प्रदेशमा ठूलो मानवीय क्षति निम्त्याएको छ । भौतिक क्षतिको आकार त आंकलन नै गर्न नसकिने तहको रहेको सरकारी अधिकारीहरू नै बताउँछन् ।
गएको हिउँदमा मात्रै कोशी प्रदेश सरकारले विज्ञहरू परिचालन गरेर गरेको अध्ययनकै निष्कर्षले पनि कोशीमा मनसुनजन्य विपद्को सम्भावित आकार ठूलो हुने देखाएको थियो ।
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गरेको अध्ययनले कोशीमा १ लाख १६ हजार ८ सय १८ घरपरिवार मनसुनजन्य विपद्को जोखिममा रहेको देखिएको थियो । त्यसमध्ये २५ सय हाराहारी घरपरिवारलाई तत्कालै सुरक्षित ठाउँमा सार्न समितिले सुझाव दिएको थियो । त्यो सुझाव लत्याउँदाको दुष्परिणाम यसपटकको मानवीय क्षति बनेको छ ।
सोमबार रातिसम्ममा बाढी र पहिरोमा परेर कोशीमा मात्रै ४५ जनाले ज्यान गुमाइसकेका छन् ।
कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दीपक पोखरेलले दिएको जानकारी अनुसार इलाममा सबैभन्दा धेरै ३८ जनाको ज्यान गएको छ । पाँचथरमा २, मोरङमा १, सुनसरीमा १, उदयपुर २ र खोटाङमा १जनाको मृत्यु भएको छ ।
मृतकहरूमध्ये इलाम फाकफोकथुम गाउँपालिका–३ रातमाटेका सुरेश लिम्बू, सूर्योदय नगरपालिका–१ मानेभञ्ज्याङकी मनमाया क्षेत्री र रस्मिका क्षेत्री, इलाम नगरपालिका–६ का समिर देउजाली र प्रविण तामाङ छन् । त्यस्तै इलाम नगरपालिका–६ का बिराज तामाङ र झापा अर्जुनधारा नगरपालिका–६ की अनु तामाङ पनि छन् ।
माई नगरपालिका–५ की प्रिन्सिखा मगर र सोही ठाउँकी आवास दनुवारको पनि ज्यान गएको छ ।
देउमाई नगरपालिका–५ झारेका रोशन लिम्बू र बेबिसा राई, ढुसेनीका दीपक लिम्बू, ऋषिका लिम्बू र दिपिस्का लिम्बू ,पाँचथर फाक्तेपका सौजन र सौगात लिम्बूको पनि ज्यान गएको छ ।
इलामकै माङसेबुङ गाउँपालिका–१ पार्टी गाउँकी कृष्णामाया लिम्बू र माया लिम्बू, पाँचथर मिक्लाजुङ गाउँपालिका–६ की नेहा राई, सन्दकपुर गाउँपालिका–१ का भीमबहादुर राई, हरिमाया राई, देवी राई, शेखर राई, सारादा सेडाई र तारादेवी राई, देउमाई नगरपालिका–३ लक्ष्मीबोटेका कृष्ण मगरको पनि मृत्यु भएको छ ।
त्यस्तै इलामकै माईजोगमाई गाउँपालिका–६ ओडारेका किरण थेवे, मनमाया थेवे र मुनुसा थेवे, माईजोगमाई गाउँपालिका–३ प्याङका बर्मालल सोङमी, बुद्धमाया सोङमी, धनबल सोङमी, सरला सोङमी र प्रकृती सोङमी, उदयपुरकी मञ्जु अधिकारी र रेविका राई, पाँचथरका मिकेश नेम्वाङ र कान्छीमाया सेर्मा, खोटाङका सुमन विक र राजेश रम्तेल, पाँचथरका मनिषा कार्की, यूना तामाङ, धनकुमार चेमजोङ, अभिशेक लिम्बू, बिनोद लङ्गवा र गिता हाङ्गामको पनि पहिरोले ज्यान लिएको छ । इलामका एक जना अझै पनि बेपत्ता नै रहेको प्रहरी भनाइ छ ।
विज्ञहरूसहितको सरकारी टोलीले गरेको अध्ययन र विपद्को सम्भावित जोखिमको नक्सांकनले देखाएको डरलाग्दो चित्रलाई सरकारले पूरै वेवास्ता गरेको देखिएको छ ।
कोशीमा २ हजार ४ सय ६६ घरपरिवारलाई तत्कालै सुरक्षित स्थानमा सार्नुपर्ने सिफारिश अध्ययन समितिले गएको हिउँदमै गरेको थियो ।
‘२४६६ परिवार जुनसुकै बेला पहिरो र बाढीको चपेटामा पर्नसक्ने सम्भावना देखिएको छ,’ कोशीको समितिले तयार पारेको प्रतिवेदनमा भनिएको थियो ।
माथिल्लो तहका सरकारहरूले स्थानीय तहसँग समन्वय गरेर उच्च जोखिम क्षेत्रका बासिन्दालाई जोखिम क्षेत्रबाट अन्यत्र सार्न सुझाव दिइएको थियो । तर, विज्ञहरूको सुझाव कतै थन्कियो ।
गत वर्ष असोजको तीन दिनको बाढीपहिरोमा परेर प्रदेशमा १८ जनाले ज्यान गुमाएका थिए ।
कोशीका १४ जिल्लामध्ये इलाममा १ हजार २ सय ४३ परिवार पहिरोको जोखिममा रहेको र ३ सय ५५ परिवार अत्यधिक जोखिमयुक्त क्षेत्रमा बसिरहेको भन्दै अध्ययन समितिले कम्तीमा ती परिवारलाई तत्कालै सुरक्षित स्थानमा सार्न भनेको थियो ।
तर, जोखिम उच्च हुँदाहुँदै पनि उनीहरूलाई सार्न कसैले ध्यान नदिंदा इलाममा मात्रै ३८ जनाले ज्यान गुमाएका छन् ।
मोरङ जिल्लामा मात्र बाढी र डुवानका कारण ४२ हजार ९ घरपरिवार यसपटक विपदबाट प्रभावित बन्न सक्ने सम्भावना अध्ययनले औंल्याएको थियो । मोरङमा एक जनाले ज्यान गुमाउँदा ४०४ परिवार डुबानमा परेका छन् ।
View : 356
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved