विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय (पूवि)ले एमबीबीएस शैक्षिक कार्यक्रम सञ्चालनको अनुमति पाएको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको बैठकले विश्वविद्यालयलाई ५० सिट क्षमतासहितको एमबीबीएस शैक्षिक कार्यक्रम सञ्चालनको स्वीकृति दिएको बताइएको छ ।
पूविले स्थापनाको तीन दशकपछि एमबीबीएस कार्यक्रम अनुमति पाएको हो । यसअघि २०६२ सालमा प्रवेश परीक्षा सञ्चालन भए पनि विविध कारणले एमबीबीएस कार्यक्रम सञ्चालन हुन सकेको थिएन ।
एमबीबीएस कार्यक्रम सुरू भएपछि यस क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध हुने अपेक्षा गरिएको छ । एमबीबीएसको स्वीकृति पाएको निर्णय सार्वजनिक भएपछि सुन्दरहरैंचा क्षेत्रका स्थानीयवासी खुसी भएका छन् । सुन्दरहरैंचासहित इटहरी पूर्वको क्षेत्र शैक्षिक हवका रूपमा विस्तार हुने सम्भावना बढेको स्थानीयवासीको भनाइ छ ।
पूविका उपकुलपति प्राडा बिजुकुमार थपलियाले विश्वविद्यालयको निरन्तरको प्रयास, राजनीतिक नेतृत्व र नागरिक समाजको समन्वय र स्थानीयवासीको सकारात्मक दबाबका कारण एमबीबीएस शैक्षिक कार्यक्रम सञ्चालनको स्वीकृति प्राप्त भएको बताए ।
उनका अनुसार लामो समयदेखिको शैक्षिक, भौतिक पूर्वाधारको तयारी र सबै पक्षबाट प्राप्त भएको सकारात्मक सहयोगको परिणाम स्वरूप एमबीबीएस कार्यक्रम शुरू हुन लागेको हो ।
स्थानीयवासीको आवाज, प्रदेशवासीको समर्थन, विश्वविद्यालय परिवारको सामूहिक व्यवस्थापन र पूर्वाधारको तयारीलाई चिकित्सा शिक्षा आयोग र नेपाल सरकारबाट अनुमोदन भएको उनले बताए ।
चिकित्साशास्त्र संकायका डीन डा. शैलेषमणि पोखरेलले चिकित्सा शिक्षा आयोगले छनोट गरेर पठाएका ५० जना विद्यार्थीलाई एमबीबीएस अध्ययन गराउन तयारी अवस्थामा रहेको बताए ।
स्थानीयवासी तथा पूवि सभाका सदस्य रञ्जन ओझाले स्वास्थ्य, शिक्षा र रोजगारीका क्षेत्रमा कोशी प्रदेशका लागि यो उपलब्धि ‘गेम चेन्जर’ हुने दाबी गरे ।
नागरिकले घर पायकमै सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउनुका साथै भविष्यका दक्ष चिकित्सक उत्पादनमा समेत सहयोग पुग्ने उनले बताए ।
View : 523
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved