Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

बन्दुक र लागुऔषध खोज्दै कुकुर

उद्‌घोष संवाददाता
२३ साउन २०८२, शुक्रवार

विराटनगर भंसार क्षेत्रमा निगरानी गर्दै कुकुर । तस्वीर : उद्घोष

विराटनगर । मानिसले सहजै फेला पार्न नसकेको कतिपय वस्तु कुकुरले फेला पार्छ । नेपाल प्रहरीको तालिमप्राप्त कुकुरले अहिले कोशी प्रदेशका भारतीय सीमा क्षेत्रमा बन्दुक, बिस्फोटक पदार्थ र लागुऔषध खोज्दैछ ।

विराटनगर भंसार क्षेत्रमा बिहीबार दुईवटा कुकुरले भारतबाट नेपाल आउने मानिसहरुको निगरानी गरे । 

सवारी साधनमा पनि कुकुरले खोजतलास गरेको देखेर आवतजावत गर्नेहरु चकित भएका छन् । 

दुईमध्ये एक कुकुरले लागुऔषध र अर्कोले बन्दुक तथा बिस्फोटक पदार्थ खोजी गरे । दुई कुकुर आआफ्नो विषयमा खोजी गर्न सक्ने छन् ।

कुकुरसँगै निगरानीमा खटिएका इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक कबिन राई थोरैबाट ठूलो क्षति गराउन सक्ने मानिसले फेला पार्न नसक्ने वस्तुहरु कुकुरले पत्ता लगाउने बताउँछन् । 

कुकुरसहितको निगरानीका क्रममा त्यस्तो वस्तु फेला नपरेपनि बिहीबार लागुऔषध प्रयोग गरेर नेपाल छिरेका युवाहरु धेरै भेटिएको उनले जानकारी दिए ।

मोरङका प्रहरी उपरीक्षक नारायणप्रसाद चिमरिया सीमामा मात्रै हैन मानिसको भिडभाड हुने बजार क्षेत्रमा पनि यस खाले चेकिङ हुने बताउँछन् । 

मानिसको बढी चहलपहल हुने क्षेत्रमा अपराध हुनसक्ने भएकाले सीमा नाकासहित जिल्लाका बिभिन्न बजार क्षेत्रमा पनि कुकरबाट बेलाबेलामा निगरानी गराइने उनले जानकारी दिए ।

बढी लागुऔषध कारोबारीलाई कारवाही गराउन सफल भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार प्रदेशका सबै सीमावर्ती क्षेत्रमा कुकुरबाट निगरानी हुँदै आएको जनाएको छ ।

 प्रहरी नायव महानिरीक्षक इश्वर कार्कीले अघिल्लो वर्षको तुलनामा यस वर्ष लागुऔषधको कारोबारी बढी समाउन सफल हुनुमा कुकुरको पनि सहयोग रहेको बताए । 

View : 510

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved