विराटनगर । विराटनगरमा शनिबारदेखि सुरु भएको ३८ औं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा झापा–११ सँग आर्मी स्तब्ध बनेको छ ।
विराटनगरस्थित शहीद रंगशालामा रात्रिकालीन खेलमा झापा–११ ले आर्मीलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
झापाको जितमा स्ट्राइकर फागुराम थारूले दुई गोल गरे । उनी खेलको प्लेयरअफ द म्याच घोषित हुँदै नगद ११ हजार रुपैयाँ पाए ।
उनले खेलको १० औं र ४४ औं मिनेटमा गोल गर्दै झापाका लागि जित सुनिश्चित गरे ।
पराजित आर्मीका तर्फबाट खेलको २३ औं मिनेटमा नवीन लामाले एक गोल फर्काए पनि त्यो हार टार्न पर्याप्त भएन ।
झन्डै ११ वर्षपछि सोही मैदानमा आमनेसामने भएका यी दुई टोलीबीचको भिडन्त निकै प्रतिस्पर्धात्मक थियो ।
वि.सं. २०७१ सालको विराट गोल्डकप फाइनलमा पनि झापाले आर्मीलाई नै हराएर उपाधि जितेको थियो । शनिबारको नतिजासँगै झापाले पुरानो इतिहास मात्र दोहो¥याएन, आर्मीलाई प्रतियोगिताबाट घर फर्काइदिएको छ ।
खेलको १० औँ मिनेटमै झापाले अग्रता लिएको थियो । अनुप तामाङले मिलाइदिएको क्रस पासलाई सदुपयोग गर्दै फागुरामले आकर्षक गोल गरे । तर, झापाको त्यो खुसी धेरै बेर टिक्न सकेन ।
२३ औं मिनेटमा गौरव महर्जनको पासमा नवीन लामाले गोल गरेपछि आर्मी खेलमा फर्किएको थियो । पहिलो हाफ सकिन एक मिनेट बाँकी छँदा राजेश दाहालको पासमा फागुरामले व्यक्तिगत दोस्रो गोल गरेपछि झापा २–१ ले अघि बढ्यो ।
दोस्रो हाफमा आर्मीले खेल बराबरी गर्ने थुप्रै अवसर गुमायो । ७६ औँ मिनेटमा भरत खवासको पासमा कप्तान जिलेस्पीजंग कार्कीको प्रहार झापाका डिफेन्डर योगेश गुरुङले गोललाइनबाट क्लियर गरिदिए ।
लगत्तै ७८ औँ मिनेटमा गौरव महर्जनको सशक्त प्रहार पोस्टको थोरै माथिबाट बाहिरियो ।
झापाका तर्फबाट विदेशी खेलाडी सोलमन र राजेश दाहालको प्रहारलाई आर्मीका गोलरक्षक विकेश कुथुले उत्कृष्ट बचाउ गर्दै अन्तर बढ्न दिएनन् ।
आइतबारको खेल ’ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड र विभागीय टोली एपीएफ क्लबबीच हुने आयोजकले जनाएको छ ।
View : 170
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved