Biratnagar, Morang, Nepal
२९ पुष २०८१, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

कोशीमा कडा रोगका बिरामीले पाए पाँच करोड सहायता

उद्‌घोष सम्वाददाता
१९ भदौ २०८१, बुधवार

झापा, १९ भदौ । कोशी प्रदेश सरकारले कडा रोगका विरामीलाई पाँच करोड आर्थिक सहायता वितरण गरेको छ ।

विगत एक वर्षमा पाँच सय बिरामीले उक्त सहायता लिएका छन् ।

कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा रविन्द्र निरौलाका अनुसार आर्थिक वर्ष २०८०/८१ मा सहायताका लागि दुई हजार सात सय जना विरामीले मन्त्रालयमा निवेदन दर्ता गराएका थिए ।

जसमध्ये बजेट अभावमा क्यान्सर, मृगौला, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इञ्जुरी, हेड इञ्जुरी र सिकलसेन एनिमियालगायतका पाँच सय जना विरामीलाई एक लाखका दरले आर्थिक सहायता वितरण गरेको उनले जानकारी दिए । 

“निवेदन धेरै परेको थियो, बजेट थोरै थियो”, उनले भने, “सुरुमा निवेदन दिनेले पाए, अझै दुई हजार दुई सय निवेदकले सहयोग रकम पाउन बाँकी छ ।”

सरकारले चालू आवमा  पाँच करोड नै बजेट बिनियोजन गरेको छ ।

कडा रोगीहरुका लागि विनियोजन गरेको रकम वितरणका लागि प्रदेश सरकारले नयाँ कार्यविधि पारित गरेको छ ।

जसका कारण पुराना निवेदकले नयाँ कार्यविधिबाट सहयोग पाउन सम्भव नरहेको उनले बताए। 

प्रदेश सरकारको नयाँ कार्यविधि अनुसार बिरामीले अबदेखि मन्त्रालयबाट होइन, अस्पतालबाटै उपचारको रकम शोधभर्ना पाउने व्यवस्था छ ।

नयाँ कार्यविधि समेत कार्यान्वयनमा आउन सकेको छैन । 

“नयाँ कार्यविधि बन्यो, कार्यान्वयन हुन बाँकी छ । पुरानो निस्क्रिय भइसक्यो”, उनले भने, “निवेदन लिएका पुराना सेवाग्राहीले मन्त्रालयमा फोन गरेर सोधिरहनु भएको छ ।

उनीहरुलाई रकम दिन अब प्रदेश सरकारले कार्यविधि परिमार्जन गर्न छलफल सुरु गरेको छ ।”

उनले वि.सं. २०८० चैतबाट मन्त्रालयले निवेदन लिने काम बन्द गरिसकेको जानकारी दिए ।

प्रदेशमा कडा रोग लागेका बिरामीलाई पहिलोपल्ट आव २०७९/८० को असारमा सात जनालाई सहयोग वितरण गरिएको थियो । रासस

View : 186

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved