Biratnagar, Morang, Nepal
२९ पुष २०८१, सोमवार
+977 21 450305, 515728, 578305
समाज

केरा बगानमा दुई नाबालिका मृत फेला प्रकरण

३६ घण्टादेखि बेपत्ता रहेकी अस्मिताको खोजीमा प्रहरी परिचालन

उद्‌घोष सम्वाददाता
१६ भदौ २०८१, आइतवार

विराटनगर । घटनास्थलको दृष्य र तस्वीर हेर्दै हृदयबिदारक थियो । एक वर्षकी बालिकालाई तीन वर्षकी दिदीले अंगालो हालेकी थिइन् । उनीहरुको शव केराबारीभित्र भेटिएको हो । दुई छोरी लिएर हिंडेकी आमा २९ वर्षीय अस्मिता पौडेल समेत ३६ घण्टादेखि बेपत्ता छिन् ।  उनी कस्तो अवस्थामा छिन् भन्ने कुरा खुल्न सकेको छैन ।

दुई नाबालिकाको शव भेटिएको ठाउँ नजिकै बिषादीको बट्टा समेत भेटिएका कारण अस्मिताले नै हत्या गरेको हुनसक्ने आशंका गरिएको छ । प्रहरीले नाबालिकाहरुको शवलाई पोष्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको जनाएको छ ।

मोरङको सुन्दरहरैंचा नगरपालिका–७ को केराघारीमा शनिबार अपरान्ह साढे ४ बजेतिर दुई बालिकाको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृत फेला परेका दुई बालिका स्थानीय मालती टोल निवासी सीता रेग्मीको घरमा बस्दै आएका ३१ वर्षीय अर्जुन कार्की र अस्मीता पौडेलका दुई छोरी एक वर्षीया अर्पणा र ३ वर्षीया आयिका भएको प्रहरीले जनाएको छ ।

धनकुटाको पाख्रिबास नगरपालिका–६ डिकुरे स्थायी घर भएका अर्जुन भने आफ्नो निजी यात्रुबाहक जीप इटहरीबाट संखुवासभाको खाँदबारीसम्म आफैं चलाउँछन् ।

लामो रुटको गाडी चलाएर घर आएपछि शुक्रबार श्रीमतीसँग बिवाद भएको र श्रीमतीले छोरीहरु लिएर हिंडेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अर्जुन प्रहरीकै सम्पर्कमा रहेको जनाइएको छ । तर अस्मिताको अवस्था भने आइतबार विहानसम्म पनि अज्ञात छ ।

दुई नाबालिकाको शव भेटिएको ठाउँमा ठुलो केरा बगान भएका कारण प्रहरीले शनिबार साँझदेखि नै अस्मिताको पनि खोजी गरिरहेको छ । 

‘शव भेटिएको क्षेत्र हामीले आज बिहानैदेखि अस्मिताको खोजीका लागि प्रहरी परिचालन गरिसकेका छौं, त्यहाँ ठुलो केरा बगान भएकोले सवैतिर खोजी गरिरहेका छौं’ मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र बहादुर बस्नेतले भने, ‘त्यस क्षेत्रको जंगलतिर पनि खोजी गर्दैछौं, अहिलेसम्म भने उनलाई भेटिएको छैन ।’

प्रनाउ बस्नेतले बालिबालिकाको शव पोष्टमार्टमका लागि पठाएका कारण उनीहरुलाई बिष सेवन हत्या गरेको हो होइन भन्ने कुरा अहिले नै यकिन भन्न नसकिने बताए ।

तर श्रीमान् अर्जुन प्रहरीको सम्पर्कमा रहेको र श्रीमती बेपत्ता भएका कारण घटनामा अस्मिताकै संलग्नता हुनसक्ने अनुमान प्रहरीले गरिरहेको छ । 

अर्जुनले दिदीको घरमा बसेर आˆनो घर सोही ठाउँमा बनाउँदै थिए । दुई सन्तानको मृत्यु र श्रीमती पनि बेपत्ता भएपछि अर्जुनको जीवनकै सपना टुटेको छ । अर्जुन शनिबार छोरीहरुको शवसँगै धरान गएका थिए । 

प्रहरी स्रोतका अनुसार आफुले जन्माएर हुर्काएका सन्तानको हत्या आमाबाटै भएको हो वा अरु कसैले कर्तव्य गरेर अस्मितालाई बेपत्ता पारेको हो भन्ने कोणबाट समेत अनुसन्धान गरिरहेको छ । कार्की परिवार पाख्रिबास र सुन्दरहरैंचा दुवैतर्फ आवतजावत रहँदै आएको थियो ।

धनकुटा प्रहरीका अनुसार अर्जुन श्रीमती र छोरीसहित पाख्रिबासबाट बसाई सरेर मोरङ झरेका थिए । दुई सन्तानको हत्या भएको खबरपछि पाख्रिबासमा कार्की परिवार शोकमा डुबेको छ ।

View : 390

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved