Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

उद्योगलाई चाहिने दक्ष जनशक्ति उत्पादन गर्न उद्योग संगठनले गर्यो सम्झौता

उद्‌घोष संवाददाता
३१ असोज २०८२, शुक्रवार

विराटनगर । उद्योग तथा व्यवसाय क्षेत्रका लागि आवश्यक दक्ष प्राविधिक जनशक्ति उत्पादन र विकास गर्ने उद्देश्यका साथ उद्योग संगठन मोरङले विभिन्न दातृ निकाय अन्तरगतका परियोजनाहरूसँग सम्झौता गरेको छ । 

बिहीबार उद्योग संगठनसहित स्वीस सरकार अन्तरगतको इन्स्योर परियोजना, राष्ट्रिय व्यवसायिक योग्यता प्रणाली (एनभीक्यूएस) तथा क्वालिटी परियोजनाबीच सहकार्यका लागि सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो । 

सम्झौता अनुसनर आगामी एक वर्षका लागि प्राविधिक शिक्षा तथा तालिमको क्षेत्रमा सहकार्य गर्नेगरी तीनवटै परियोजनाबीच सहकार्य हुने जनाइएको छ ।

सम्झौता अनुसार तालिम प्रदायक शैक्षिक संस्था र औद्योगिक प्रतिष्ठानहरूको सहकार्यमा औद्योगिक प्रशिक्षार्थीको तालिम, उद्योगमा कार्यरत मानव संशाधनका लागि सीप स्तरोन्नति तालिम, मानव स्रोत व्यवस्थापन, व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षाको प्रवद्र्धन, पूर्व सिकाई मान्यता प्रणाली, सीप उत्सव, विजनेस एट स्कुल, कार्वन फुट प्रिन्ट एसिस्मेन्ट र तालिम प्रशिक्षकहरूका लागि व्यवहारिक कक्षा लगायतका कार्यक्रम सञ्चालन हुने जनाइएको छ ।

उद्योग संगठनका अध्यक्ष नन्दकिशोर राठीले उक्त सहकार्यले उद्योगहरूलाई आवश्यक प्राविधिक जनशक्ति विकासमा सहजता प्रदान गर्ने र उद्योगको वर्तमान आवश्यकतालाई सम्बोधन गर्ने बताए । 

उनले औद्योगिक प्रतिष्ठानहरूमा आवश्यक प्राविधिक सीप भएका दक्ष जनशक्तिको अभाव रहेको अवस्थामा त्यसको परिपूर्ति गर्न तालिम कार्यक्रम आवश्यक रहेको बताए । 

तालिम प्राप्त व्यक्तिहरूलाई रोजगारीको अवसर प्रदान गर्न र उद्योगको उत्पादकत्व वृद्धि गर्ने लक्ष्य हासिल गर्नसमेत यो सहकार्य महत्वपूर्ण हुने उनले धारणा राखे ।

उक्त सम्झौतामा इन्स्योर हेल्भेटास परियोजनाका टिम लिडर रविन्द्रबहादुर सिंह, एनभीक्यूएसका आनन्द पौडेल र क्वालिटी परियोजनाका भानु पण्डितले हस्ताक्षर गरेका हुन् ।

हस्ताक्षर कार्यक्रममा उद्योग संगठनका उपाध्यक्ष सुरेन्द्र गोल्छा, मानव संशाधन विकास समिति संयोजक दिपक अग्रवाल लगायतको उपस्थिति रहेको थियो ।

View : 189

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved