एआईद्वारा श्रृजित तस्वीर ।
विराटनगर । जूवामा आदत भएका विराटनगरका व्यावसायीक परिवारका तीन जना पुष १८ गते झापाको मेची क्राउन प्लाजा होटलमा सञ्चालित क्यासिनोमा जूवा खेलेर शनिबार घर फर्किए । उनीहरू त्यहाँ सुरक्षित भएकाले झापाको क्यासिनोमा जुवा खेल्न गएका हुन् ।
विराटनगरका क्यासिनोमा प्रहरीले कारवाही गरेपछि जुवाडेहरू झापाका क्यासिनोतर्फ केन्द्रित हुन थालेका छन् ।
विराटनगरमा गैरकानुनी रूपमा जूवा खेलाउने क्यासिनोमा छापा परेपछि जुवाडेहरूको ‘सेफ जोन’ झापा बन्न थालेको छ । ‘मेरा तीन जना साथी शुक्रबार झापा गएर शनिबार फर्किए, त्यहाँ सुरक्षाकर्मीको कुनै समस्या थिएन’ विराटनगरका एक ब्यक्तिले भने ।
दुई साताअघि विराटनगरस्थित बिग होटलमा सञ्चालित च्याम्पियन जोन र रत्ना होटलमा सञ्चालित गोल्डेन क्वाइन क्यासिनोमा प्रहरीले छापा मारेर क्यासिनो सञ्चालक, कर्मचारी र खेलाडी गरी १७ जनालाई पक्राउ गरेको थियो । उनीहरू सबैलाई जिल्ला अदालत मोरङको आदेशअनुसार जनही ५० हजार रूपैयाँ धरौटीमा शुक्रबार रिहा गरिएको छ ।
विराटनगरका क्यासिनोमा प्रहरीले कारवाही गरेपछि झापाका क्यासिनोमा पनि कारवाही गर्न प्रहरी र प्रशासनलाई दवाब आएको स्रोतले बताएको छ ।
यो कारबाहीपछि विराटनगरका जुवाडेहरू झापातर्फ मोडिएको देखिएको छ । प्रहरीको छापापछि केही दिन बन्द भएका विराटनगरका दुबै क्यासिनो सञ्चालनमा भए पनि यहाँ जाने आधासरो नेपाली जुवाडे झापा जाँदैछन् ।
झापामा सञ्चालित चार वटा क्यासिनोले नेपाली ग्राहकलाई नक्कली भारतीय आधारकार्ड उपलब्ध गराएको स्रोतको दाबी छ ।
विराटनगरको क्यासिनोमा पक्राउ परेका झापा दमकका पुष्पलाल शर्मासँग पनि भारतीय आधारकार्ड भेटिएको थियो । झापाको बिर्तामोडमा सञ्चालित किङ्गसबेरी होटल, धुलाबारीको मेची क्राउन, काँकडभिट्टाका ढाका होटल र रियाज होटलमा क्यासिनो सञ्चालनमा छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक खगेन्द्र खड्काले झापामा नेपालीले जूवा खेलेको औपचारिक गुनासो नआएको बताए ।
क्यासिनो अनुगमनका क्रममा भारतीय खेलाडीहरू मात्रै देखिएको उनको भनाइ छ । स्रोतका अनुसार झापाका क्यासिनोले विराटनगरका जुवाडेलाई फोन गरेर बोलाउन थालेका छन् ।
क्यासिनो सञ्चालक र उनीहरूका संरक्षक राजनीतिककर्मीका कारण देशभरका क्यासिनो पारखीलाई क्यासिनो ब्यवस्थापन र मार्केटिङका कर्मचारीले सम्पर्कमा राखेका हुन्छन् ।
विराटनगरपछि झापाका क्यासिनोमा नेपाली जान थालेको सूचना पाए एकै दिनमा तीन पटकसम्मपनि छापा मारेर कारवाही गर्न सकिने कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक दीपक पोखरेलले बताए ।
उनका अनुसार, नेपाल प्रहरीले हरेक जिल्ला र युनिटहरूलाई क्यासिनो, होटल र रेष्टुरेण्टमा कारागारबाट भागेका, लागुऔषध कारोबारी र आपराधिक क्रियाकलापमा संलग्न ब्यक्तिको खोजीका लागि परिपत्र नै गरेको छ ।
‘सूचना आए क्यासिनोमा छापा मार्न प्रहरीका जुनसुकै युनिटले माथिको आदेश पर्खन पर्दैन’ पोखरेलले भने– ‘जिम्मेवार नागरिक जो कोहीले जुवामा घरबारबिहीन हुने अवस्था आएकाले प्रहरीलाई यस्तो सूचना दिनु पर्छ ।’
विराटनगरका क्यासिनोमा नेपाली नागरिकलाई आकर्षित गरेर जुवा खेलाइदै आएको विषयमा उद्घोष दैनिकले समाचार प्रकाशन गरेकै दिन प्रहरीले छापा मारेको थियो । अदालतबाट सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति लिइए पनि नेपाली जुवाडे र क्यासिनो सञ्चालक पाँच दिनमै धरौटीमा छुटेका थिए ।
धरौटीमा छुट्नेमा च्याम्पियन जोन क्यासिनोका सञ्चालकद्वय रामकृष्ण गौतम र हरि भट्ट, गोल्डेन क्वाइन क्यासिनोका जनरल म्यानेजर लोकेन्द्रबहादुर बस्नेत तथा क्यासिनो खेलाडी एवम् पुसेट कलेज विराटनगरका पूर्व निर्देशक तेजराज गिरीलगायत छन् । गौतम झापाको किंग्सबेरी होटलमा सञ्चालित क्यासिनो बिक्री गरेर त्यहाँको कमाइले विराटनगरमा क्यासिनो सञ्चालन गर्छन् ।
स्रोतका अनुसार झापाका क्यासिनोमा पनि खेलाडी हारेर रित्तिए रकम दिनका लागि मिटरब्याजी राखिएका छन् । मिटरब्याजीसँगै लेनदेनको कागज बनाउने लेखापढी ब्यवसायी पनि सम्पर्कमा राखिएको छ ।
क्यासिनोभित्रै रहेका मिटरब्याजीलाई धनसम्पत्ति राखेर बिक्रीनामाको कागजनै बनाएर भोलिपल्ट वडा कार्यालयमा प्रमाणितसम्म गराउने गरिएको स्रोतले बताएको छ ।
View : 301
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved