Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

चुनावी प्रतिवद्धता सार्वजनिक

उदयपुर १ मा एमालेका थापाकाे नारा ‘देखाउँछौं हामी परिणाम, पाँच वर्षमा ५० काम’

उद्‌घोष संवाददाता
७ फागुन २०८२, बिहिवार

उदयपुर । उदयपुरको क्षेत्र नम्बर १ का एमाले उम्मेदवार दुर्गा कुमार थापा ‘स्वस्ती’ ले ‘देखाउँछौं हामी परिणाम, पाँच वर्षमा ५० काम’ भन्ने नारासहित चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् । 

उनले समृद्ध उदयपुर निर्माणको लक्ष्य राख्दै बिहीबार सदरमुकाम गाईघाटस्थित पिपल चोकमा चुनावी निर्वाचन लक्षित प्रतिबद्धता पत्र जनाएका हुन् ।

थापाले संविधानको रक्षा, अधुरा योजनाको सम्पन्नता, कृषि आधुनिकीकरण, स्वास्थ्य–शिक्षा सुधारदेखि ‘स्मार्ट सिटी’ कार्यक्रमसम्मका महत्वाकांक्षी योजना समेट्दै आफूलाई विकास र स्थायित्वको पक्षधर उम्मेदवारका रूपमा प्रस्तुत गरेका हुन् ।

प्रतिवद्धता पत्रमा उनले नेपालको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने प्रतिबद्धता जनाएका छन् । कानुनहरूको समयानुकूल परिमार्जन, जनमैत्री कानुन निर्माण र सुशासनलाई प्राथमिकतामा राख्ने उनको घोषणा छ । 

स्थानीय तहबाट माग भई आएका योजनालाई प्राथमिकताका आधारमा अगाडि बढाउने र अधुरा सडक, पुल, भवन तथा खानेपानी आयोजना समयमै सम्पन्न गर्ने प्रतिवद्धता पनि पत्रमा उल्लेख गरिएको छ ।

स्वास्थ्य क्षेत्रलाई उनले विशेष प्राथमिकता दिएका छन् । 

उदयपुरमै मेडिकल कलेज स्थापना गर्ने, जिल्ला अस्पताललाई प्रदेशस्तरीय अस्पतालका रूपमा विकास गर्ने र रिफरल सेन्टरको रूपमा स्तरोन्नति गर्ने योजना अघि सारिएको छ । कोभिड अस्पताललाई ट्रमा सेन्टरमा रूपान्तरण गर्ने घोषणा पनि गरिएको छ । सामाजिक सुरक्षा भत्ता वृद्धि तथा सुरक्षित आवास प्रवद्र्धन कार्यक्रमलाई निरन्तरता दिने उनको प्रतिबद्धता छ ।

कृषि र कृषकलाई केन्द्रमा राख्दै थापाले किसान परिचयपत्र र किसान पेन्सन ऐन जारी गर्न पहल गर्ने बताएका छन् । एक पालिका एक कृषि बजार, एक पालिका एक उत्पादन कार्यक्रम लागू गर्ने, व्यावसायिक कृषि तथा पशु विज्ञान शिक्षा अनिवार्य बनाउने, कृषिको आधुनिकीकरण र यान्त्रीकरणमार्फत युवालाई स्वरोजगार बनाउने योजना अघि सारिएको छ । जडीबुटी खेती, व्यावसायिक गाँजा खेतीका लागि कानुनी व्यवस्था, स्थानीय कच्चा पदार्थमा आधारित कुटीर उद्योग सञ्चालनजस्ता कार्यक्रम पनि समेटिएका छन् ।

पूर्वाधार विकासअन्तर्गत त्रियुगा नदीको स्थायी तटबन्ध, हरित करिडोर निर्माण, चन्द्र नहरको आधुनिकीकरण, सिंचाइ व्यवस्थापन र बाढी नियन्त्रणलाई प्राथमिकता दिइएको छ । 

‘एक पालिका एक रंगशाला’, साहसिक खेल (साइकलिङ, प्याराग्लाइडिङ, र्‍याफ्टिङ) प्रवद्र्धन तथा पर्यटन पूर्वाधार विकास गरी सन् २०३० सम्म उदयपुरका सम्भावित पर्यटकीय स्थललाई व्यवस्थित केन्द्रका रूपमा विकास गर्ने योजना सार्वजनिक गरिएको छ ।

शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयमा ई–लाइब्रेरी स्थापना, टेलि–एजुकेसन कार्यक्रम सञ्चालन, उच्च शिक्षाको गुणस्तर वृद्धि र शिक्षकका सेवा–सर्त सुनिश्चित गर्न पहल गर्ने उल्लेख छ । सबै नागरिकलाई स्वच्छ खानेपानीको पहुँच पुर्‍याउने र शहरीकरण उन्मुख क्षेत्रमा चक्रपथ निर्माण गरी व्यवस्थित सहर विकास गर्ने लक्ष्य पनि राखिएको छ ।

सामाजिक समावेशीकरणतर्फ थारु, जनजाति र दलित समुदायको जनसंख्याका आधारमा विशेष, संरक्षित तथा आरक्षित क्षेत्र घोषणा गर्न पहल गर्ने उल्लेख छ । 

भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण गर्ने कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ । महिलाको प्रजनन स्वास्थ्य, बालमैत्री वडा घोषणा, विभिन्न जातजातिको भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनका कार्यक्रम पनि प्रतिवद्धता पत्रमा समेटिएका छन् ।

यसैगरी वन तथा वातावरण संरक्षण, जलवायु परिवर्तनसम्बन्धी प्रभावकारी कानुन निर्माण, फोहोर व्यवस्थापनको स्थायी समाधान र वन्यजन्तु नियन्त्रण कार्यक्रम सञ्चालन गर्ने घोषणा गरिएको छ । पालिका केन्द्रमा ‘स्मार्ट सिटी’ कार्यक्रम लागू गर्ने र औद्योगिक ग्राम स्थापना गर्ने योजना पनि अघि सारिएको छ । 

भूमिहीन सुकुम्बासी, दलित तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पूर्जा वितरण, सुरक्षित आवास प्रवद्र्धन तथा थारु, जनजाति र दलित समुदायको संरक्षण क्षेत्र घोषणा गरिने उनको प्रतिबद्धता पत्रमा उल्लेख छ । साथै, भाषा–संस्कृति संरक्षण, महिला प्रजनन स्वास्थ्य सुधार तथा जलवायु परिवर्तनसम्बन्धी प्रभावकारी कानून निर्माणमा जोड दिइएको जनाइएको छ ।

थापाले आफ्नो अनुभवलाई जनप्रतिनिधिका रूपमा उपयोग गर्दै ‘समृद्ध उदयपुर’ निर्माणमा केन्द्रीत हुने दाबी गरेका छन् । 

एमाले उम्मेदवार थापाले प्रतिबद्धता पत्र सार्वजनिकसँगै छिट्टै जिल्लाका १० गौरवका योजना पनि सार्वजनिक गर्ने जानकारी दिए । उनले विकास, सुशासन र समावेशीतालाई मुख्य एजेन्डा बनाएका उनको प्रतिवद्धता पत्रले उदयपुर–१ को समग्र रूपान्तरणलाई लक्ष्य बनाएको एमाले उदयपुरका अध्यक्ष भावगत राउतले दाबी गरे ।

राउतले एमाले पार्टी प्रश्नबाट नभाग्ने भएकाले जनतामाझै खुला स्थानमा प्रतिबद्धता सार्वजनिक गरिएको बताए । उनले जनताको विश्वास जित्ने आधार स्पष्ट भएकाले यसपटक उदयपुरका दुवै निर्वाचन क्षेत्रमा एमाले विजयी हुने समेत दाबी गरे ।

सोही अवसरमा नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) का उदयपुर संयोजक यादप पोखरेल एमालेमा प्रवेश गरेका थिए ।

View : 240

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved