धनकुटा, ७ मंसिर : धनकुटा नगरपालिका-१ निगालेमा एकै परिवारका आमा, बाबु र छोरा मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार ३७ का टीकाराम गुरुङ, ३८ वर्षीया झुमा गुरुङ र ११ वर्षका छोरा आयुष गुरुङ मृत फेला परेका हुन् ।
टिकाराम भने झुण्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक राजबाबु महर्जनले जानकारी दिए । उनीहरु तीनैजना घरभित्रै मृत फेला परेको बताए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा टीकारामले मादक पदार्थ सेवन गरेको हुनसक्ने जनाइएको छ । उनैले पत्नी झुमा र छोरा आयुषको हत्या गरेर आफू झुन्डिएर आत्महत्या गरेको हुनसक्ने अनुमान प्रहरीको रहेको छ ।
टिकारामले ६ वर्षकी छोरी आशिकालाई भने राति नै छिमेकीको घरमा पुर्याएको अनुसन्धानमा खुलेको छ । उनले त्यसपछि परिवारका सदस्यहरुको हत्या गरेको हुनसक्ने जनाइएको छ । प्रहरीले घटनास्थलमा थप अनुसन्धान अघि बढाएको जनाइएको छ ।
संखुवासभाको चैनपुरस्थित नुनढाकी स्थायी घर भएका गुरुङ परिवार निगालेमा ज्याला मजदुरी गर्दै आएका आएका थिए ।
View : 225
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved