Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

कोशीका मन्त्री सुनुवारमाथि कांग्रेसले थाल्यो कारबाही

उद्‌घोष संवाददाता
१६ वैशाख २०८३, बुधवार

Advertisement

विराटनगर । नेपाली कांग्रेसले कोशी प्रदेशका भौतिक मन्त्री प्रदीप सुनुवारमाथि कारबाही प्रक्रिया थालेको छ । उनीमाथि जिल्लाका बहुसंख्यक कांग्रेस कार्यकर्ताले चुनावमा अन्तरघात गरेको आरोप लगाइरहेका छन् । 

फागुन २१ को निर्वाचनमा ओखलढुंगाका कांग्रेस उम्मेदवार कुमार लुईंटेललाई हराउन उनले विभिन्न गतिविधि गरेको प्रमाण नै केन्द्रीय अनुशासन समितिले फेला पारेपछि उनलाई पाँच दिने स्पष्टीकरण सोधेको छ । 

शेरबहादुर देउवा पक्षका सुनुवार कोशीमा छोटो समयका लागि पटकपटक मन्त्री भएका प्रदेश सांसद हुन् । 

उनले यसपटक जिल्लामा आधिकारिक उम्मेदवार हराउन ठूलो तिक्डम गरेको भन्दै उनकै पक्षका कार्यकर्ताहरुले खुला रुपमा आरोप लगाउँदै आएका छन् । 

ओखलढुंगामा कांग्रेस उम्मेद्वार लुइटेल रास्वपा उम्मेद्वार विश्वराज पोखरेलसँग ५ मतले पराजित भएका थिए । 

‘त्यही पार्टीबाट जितेर सांसद हुने, मन्त्री हुने अनि आफ्नै जिल्लामा आफ्नै उम्मेद्वार हराउन लाग्ने सुनुवारको हर्कतको एक एक प्रमाण केन्द्रीय समितिमा उपलब्ध छ,’ केन्द्रका एक नेताले भने ‘यो कुनै पनि अर्थमा सह्य छैन ।’ 

पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध असहयोग गरेको आरोपमा विभिन्न प्रदेशमा बहाल रहेका मन्त्रीहरूसहित सात जना नेतासँग स्पष्टीकरण माग्ने कांग्रेसले निर्णय गरेको छ । 

कांग्रेस केन्द्रीय अनुशासन समितिको बुधबार बसेको बैठकले कोशीका सुनुवार बाहेक महासमिति सदस्य तथा लुम्बिनी प्रदेशका वन मन्त्री देवकरण प्रसाद कलवार (सन्तु), लुम्बिनी प्रदेशका यातायात तथा पर्यटन मन्त्री प्रचण्ड विक्रम न्यौपाने, लुम्बिनी प्रदेश उपसभापति तथा प्रदेशसभा सदस्य राजु खनाल, मधेश प्रदेशका प्रदेश सांसद जंगीलाल राय, सकुन्ती देवी महरा र कौशल किशोर राय रहेका छन् । 

कांग्रेसले उनीहरूमाथि पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध असहयोग गरेको प्रारम्भिक निष्कर्ष निकाल्दै अनुशासन समितिमा लिखित जवाफ पेश गर्न निर्देशन दिएको हो ।

View : 228

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved