सुनसरी । बराहक्षेत्र नगरपालिका–६ को ठाकुरबारीबाट श्रीलंका टापुलाई जोड्ने झोलुंगे पुल बन्ने भएको छ । सप्तकोशी नदीमाथि बन्ने उक्त झोलुंगे पुल पाँच किलोमिटर लम्बाइको हुनेछ ।
संघीय सरकारको ठूला झोलुंगे पुल निर्माण विभागअन्तर्गत सप्तकोशीमा पहिलो पटक यति लामो झोलुंगे पुल निर्माण हुन लागेको बराहक्षेत्र नगरका आर्थिक विकास संयोजक तेजबहादुर गुरुङले बताए । पुल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)को काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए ।
उनका अनुसार सुनसरी क्षेत्र नं ४ का संघीय सांसद तथा पूर्व सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पुल योजनामा पारेका हुन् । झोलुंगे पुल सर्भेक्षणका लागि ऋषिकेश सर्भिस प्रालि काठमाडौंले डीपीआरको ठेक्का पारेर काम अन्तिम चरणमा पुगेको योजनाका सबइन्जिनियर रञ्जीतकुमार यादवले जानकारी दिए । सबइन्जिनियर यादवको नेतृत्वमा सर्भेक्षणको काम अन्तिम चरणमा पुगेको हो ।
सबइन्जिनियर यादवले डीपीआरको डिजाइन तयार भइरहेको भन्दै डिजाइन सकिएलगत्तै कन्स्ट्रक्सनको ठेक्का लाग्ने बताए । नमुना झोलुंगे पुल नामकरण गरी गत आर्थिक वर्षमा पुलको स्थलगत अध्ययन र निरीक्षण भएको थियो ।
बराहक्षेत्र-६ र ९ तथा उदयपुरको बेलका नगरपालिका-२ र ३ वडा श्रीलंका टापु क्षेत्रमा पर्दछ । उक्त क्षेत्र १४ किलोमिटर लम्बाइ र पाँच किलोमिटर चौडाइसम्म फैलिएको छ । टापुमा चार हजार पाँच सय घरधुरीका १० हजारभन्दा बढीको बसोबास रहेको बराहक्षेत्र-६ का वडाध्यक्ष उद्ववप्रसाद पोखरेलले बताए । उनले पुल बनेपछि श्रीलंका टापुवासीको दैनिकी सहज हुने विश्वास व्यक्त गरे ।
टापु क्षेत्र उर्वर बलौटे, दोमट माटो भएकाले तरकारी र अन्न उत्पादनका लागि राम्रो मानिंदै आएको छ । झोलुंगे पुल बनेपछि टापुवासीका कृषि उपज बजार लान सहज हुने र उनीहरूको जीवनयापनमा सहजता आउने वडाध्यक्ष पोखरेलले बताए ।
टापु जिल्ला सदरमुकाम इनरुवाबाट झन्डै ३५ किलोमिटर उत्तरपश्चिममा पर्छ । त्यहाँका बासिन्दाले वर्षौदेखि कृषि र पशुपालन गरेर जीविका चलाउँदै आएका छन् । चारैतिर नदी भएकाले टापुवासी यातायातको साधनका रूपमा डुंगा प्रयोग गर्दै आइरहेका छन् ।
वर्षायाममा सप्तकोशीमा पानीको बहाव बढ्ने भएकाले डुंगाबाट यात्रा गर्दा बर्सेनि कयौंको ज्यान जाने गरेको स्थानीयवासी सन्तोष चन्द्रवंशीले बताए । श्रीलंका टापुलाई जोड्ने झोलुंगे पुल निर्माण हुने भएपछि आवागमनमा सहज हुने उनको भनाइ छ।
View : 151
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved