सुनसरी । नेपाल कानुन ब्यवसायी परिषदको ३२ औं स्थापना दिवसको अवसरमा आठ कानुन व्यवसायी सम्मानित भएका छन् ।
मंगलबार इटहरीमा भएको कार्यक्रममा पाँच दशकभन्दा बढी समय कानुनी सेवा दिदै आएका वरिष्ठ अधिवक्ता योगेन्द्र न्यौपाने, उमेशचन्द्र न्यौपाने, अधिवक्ता देवीबहादुर घिमिरे तथा पूर्व पार्षद तथा वरिष्ठ अधिवक्ता माधव भट्टराई, रमेश कोइराला, भरतबहादुर थापा, प्रकाशबाबु पन्त र उद्धवचन्द्र घिमिरे सम्मानित भएका हुन् । सो अवसरमा अन्तरक्रिया कार्यक्रम समेत गरिएको छ ।
कोशी प्रदेशका पार्षद राजु ढकालको अध्यक्षतामा आयोजित सो कार्यक्रमका सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालले कानुन ब्यबसायी परिषद्ले गर्दै आएको कानुन व्यवसायीको परीक्षा लिई अभिलेख राख्ने, क्षमता विकास गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्ने, आचारसंहिता कार्यान्वयनमा जोड दिने लागायतका कार्यलाई अझै प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
उनले कानुन व्यवसायी पेशालाई नैतिकवान र मर्यादित बनाउन र अध्ययन अनुसन्धान गर्ने समिति समेत बनाउनुपर्ने बताउँदै बार काउन्सिलले विभिन्न देशको कानुनी ज्ञान लिन र सहकार्य गर्नका साथै कानुन व्यवसायीलाई वैदेशिक भ्रमणको अवसरका लागि पहल गर्न सुझाव दिए ।
उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश राजनप्रसाद भट्टराई, मोरङ र सुनसरीका जिल्ला न्यायाधीश, कोशी प्रदेश मुख्य न्यायाधिवक्ता, कोशी प्रदेशका १४ जिल्लाका बार अध्यक्ष एवं वरिष्ठ अधिवक्ता र अधिवक्ताको उपस्थिति थियो ।
कार्यक्रममा वरिष्ठ अधिवक्ता सीताराम राई, मोरङ बार अध्यक्ष हरिशंकर मण्डल, उच्च अदालत बार विराटनगरका अध्यक्ष विश्वराम भट्टराई, इनरूवा नगरपालिका मेयर केदार भण्डारी, झापा बारका अध्यक्ष वसन्त नेपाल लगायतले कानुन व्यवसायको महत्व, चुनौती र अवसरका बारेमा आफ्नो धारणा राखेका थिए ।
कानुन व्यवसायीको हकहितको संरक्षण गर्न स्थापित कानुन व्यवसायी परिषद (बार काउन्सिल) नेपाल कानुन व्यवसायी परिषद ऐन, २०५० अन्तर्गत स्थापना भएको हो ।
सो ऐन २०५१ साल साउन २७ गतेदेखि पूर्णरूपमा लागू भएको हो । परिषद्को अध्यक्ष महान्यायाधिवक्ता र नेपाल बार एसोसिएसनका अध्यक्ष परिषद्का उपाध्यक्ष रहने व्यवस्था छ ।
परिषद्ले कानुन व्यवसायमा प्रवेश गर्नका लागि परीक्षा लिने, नाम दर्ता गर्ने एवं आचारसंहिता लागू गर्ने कार्य गर्दै आएको छ ।
नेपाल कानून व्यवसायी परिषदको अभिलेख अनुसार नेपाल कानुन व्यवसायी परिषद्बाट प्रमाणपत्र लिएका २१ हजार ५४० जना छन् भने जसमा ४ हजार २०० जना महिला रहेको झापा बारकी सहसचिव एवं महिला समिति अध्यक्ष सानु कार्की बस्नेत ‘सीता’ ले जानकारी दिइन् ।
View : 473
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved