विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला शनिबार दिउँसो कोइराला निवासमा पत्रकारहरुबाट घेरिएका थिए । आफू जन्मेहुर्केको सय वर्षभन्दा पुरानो घर ‘कोइराला निवास’ जलेको दुःख आ“खाभरी हेर्न नपाई नै उनले अनेकौं राजनीतिक प्रश्नहरुको सामना गर्नुपर्यो ।
पत्रकारहरुसित कुरा गरिरहँदा नेता कोइरालाले धेरै विषयमा आफ्नो धारणा राखे । त्यसपछि खण्डहर बनेको आफ्नो घर हेर्न थाले । भदौ २४ मा प्रदर्शनकारीहरुले आगो लगाएर ध्वस्त पारिदिएको निवासका कोठा–कोठा चहार्दा पनि उनलाई पत्रकारहरुले पछ्याइरहे । घरस“ग जोडिएका उनका सम्झनाहरु खोतल्न खोजिरहे । ‘यो मेरो घर मात्र थिएन, नेपालको लोकतान्त्रिक इतिहासको एउटा धरोहर पनि थियो,’ उनले भने ‘म यही घरमा जन्मिएँ, हुर्किएँ, डाक्टर बनें, अहिले पनि यही घरमै बस्थें । इतिहास जल्यो, दुःख लागेको छ ।’
सञ्चारकर्मीका क्यामेराले उनलाई पछ्याइरहँदा उनी घरीघरी बोल्थे । त्यसक्रममा दुई पटक उनको गला अवरुद्ध भएको थियो । बोल्दाबोल्दै आवाज टक्क अडिए जस्तो भएपछि उनी रोकिन्थे ।
विमानस्थलबाट सिधै कोइराला निवास पुगेका शेखर सरासरी त्यही कुर्सीमा गएर बसे, जहाँ पहिले गिरिजाबाबु बसेर पत्रकारहरुस“ग गफिन्थे, पछिल्लो समय शेखर स्वयम् त्यहीं बसेर कुराकानी गर्थे । उनले सुरुमै छततिर आँखा दौडाए । आगोको लप्काले भेटेर कालो भएको छत देखेर उनको मुखाकृति पनि अँध्यारिएको थियो ।
नेपालका तीन जना पूर्वप्रधानमन्त्रीहरु मातृकाप्रसाद कोइराला, बीपी कोइराला र गिरिजाप्रसाद कोइराला हुर्केबढेको कोइराला निवास उनीहरुका पिताजी कृष्णप्रसाद कोइरालाले १०७ वर्षअघि बनाएका थिए । यो त्यही निवास थियो, जहाँबाट राणा प्रधानमन्त्री चन्द्रशमशेरलाई जनताका झुत्रो र मैलो कपडा पार्सल गरेर पिताजी कृष्णप्रसादले पठाएका थिए । त्यही निहुँले कृष्णप्रसाद परिवारसहित भारत निर्वार्सित हुन बाध्य भएका थिए ।
‘यो घर एउटा इतिहास थियो, सय वर्ष पुरानो घरको इतिहासकै कारण धेरै मानिस यहाँ आउने हुन्’ शेखरले भने ‘तर, घरहरु जल्नसक्छ । लोकतन्त्रको जग कहिल्यै ढल्न सक्दैन ।’
विराटनगरको कोइराला निवास त्यो परिवारका सदस्यहरुको निजी सम्पत्ति मात्रै थिएन, नेपालको लोकतान्त्रिक आन्दोलनको मर्मसँग जोडिएको एउटा भावनात्मक प्रतीक पनि थियो र हो । त्यसैले राजनीतिमा रुचि भएकाहरु, कांग्रेस समर्थकहरु विराटनगर आइपुग्दा पुग्नैपर्ने एउटा गन्तव्य पनि थियो यो । आफ्ना पुर्खाको नासोलाई जस्ताको तस्तै अवस्थामा राखेका थिए शेखरले ।
यद्यपि भदौ २४ को अराजकताको आगोमा यही घर पनि जल्यो । शेखरले सञ्चारकर्मीसँग भने ‘कोइराला निवास सदैव जनता र लोकतन्त्रको पक्षमा रहेको, उभिएको छ । फेरि पनि उभिइरहन्छ ।’
यसपटक भावुक देखिएका उनी भन्दै गए ‘यो घर भनेको शेखर कोइरालाको घर होइन । लोकतन्त्रको लागि राणाकालदेखि लडेको घर हो ।
कृष्णप्रसाद कोइरालाले राणा प्रधानमन्त्रीलाई फाटेको भोटो पठाएको घर हो । जसरी सोच्नु भएको छ, समय लाग्छ, समयले ठिक गर्छ । यो आगजनीको पनि सरकारले छानबिन गर्नेछ भन्ने मेरो विश्वास छ ।’
६ महिनापछि हुने चुनाव आफू यही घरमा बसेर लड्ने बताउँदै उनले घर कसरी पुनःनिर्माण गर्ने सोचिनसकेको बताए ।
‘पुरानै वा कुन स्वरुपमा पुनः कोइराला निवास बनाउने भन्ने विषयमा भतिजाहरूसँग पनि छलफल गर्छु, म जे छु जस्तो छु, यही घरले बनाएको हो । घरको इतिहास खरानी भयो । तर, त्यहींबाट फेरि उठ्छौं, लोकतन्त्रलाई यो घरले जसरी अघि बढाएको थियो, त्यसलाई म अगाडि बढाउँछु’ उनले भने ।
राजनीतिक सन्दर्भमा आफ्ना विचार राख्दै उनले अहिलेको सरकारले चुनावबाहेक अरु कुनै कुरामा ध्यान दिन नमिल्ने बताए ।
‘चुनाव, चुनाव र चुनाव यो सरकारका लागि अर्को विकल्प छैन,’ उनले भने ‘आन्दोलनको बलमा मुलुक अघि बढेकाले अहिले सबैकुरा संविधानको धारामा नभेटिन पनि सक्छ । तर, धेरै कुरा नचलाई संविधानलाई धेरै क्षति नगराई चुनाव घोषणा भएको छ । राष्ट्रपतिले संविधानमा नै टेकेर अघि बढेको देखिन्छ । तर, संविधान केही ‘डिरेल’ चाहिँ भएको छ ।’
जेनजीको मागअनुसार भ्रष्टाचार छानबिन आयोग बन्ला भन्ने आशा प्रकट गर्दै कोइरालाले अहिले प्रत्यक्ष निर्वाचित कार्यकारीको अधिकार अहिलेको संविधानले नदिने पनि बताए ।
‘अहिलेको संविधानको जे पोजिसन छ, त्यही निर्वाचन प्रणालीबाट जानुपर्छ,’ उनले भने, ‘नेपाली कांग्रेसको भर्खरै कार्यसम्पादन बैठक बसेको छ । केन्द्रीय समितिले के गर्ने भन्ने निर्णय गर्छ । अध्यादेशबाट देश चलाउन हुँदैन भनेर हामीले तत्कालीन सरकारलाई पनि चेतावनी दिएकै हो । यो सरकार निर्वाचन प्रयोजनको लागि मात्र बनेको हो ।’
यसअघि सभापति शेरबहादुर देउवाको नेतृत्व परिवर्तन गर्नुपर्ने मत राख्दै आएका कोइरालाले त्यसबारे सोधिएको प्रश्नमा भने पार्टी केन्द्रीय समितिले यसबारे निर्णय गर्ने बताए ।
‘मैले विगतमा आफ्ना कुरा प्रष्टसँग राखेकै हो, म त्यसमा अडिग पनि छु’ उनले भने ‘तर, अहिलेको संवेदनशील अवस्थामा यसबारे मेरो व्यक्तिगत कुरा केही छैन । केन्द्रीय समितिले तय गर्छ ।’
View : 619
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved