विराटनगर । मोरङका सहकारी संस्थाहरूमा श्रृंखलाबद्ध रुपमा चोरी, तोडफोड र कर्मचारीमाथि आक्रमण जस्ता आपराधिक गतिविधिहरू बढेको भन्दै उक्त कार्य नियन्त्रण गर्न र दोषी पत्ता लगाई कार्वाहीको माग राख्दै जिल्ला सहकारी संघले मोरङका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।
संघका जिल्ला अध्यक्ष डा.डिल्ली पोखरेलको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईलाई ज्ञापन पत्र बुझाउँदै जिल्लाका विभिन्न स्थानमा सहकारी संस्थामा तोडफोड गरी नगद तथा भौतिक सामान चोरी गर्ने, कर्मचारीलाई कुटपिट र अभद्र व्यवहार गर्ने जस्ता कार्य नियन्त्रण गरि शान्ति सुरक्षाको प्रत्याभुत गर्न माग गरेको हो ।
संघले बुझाएको ज्ञापन पत्रमा चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि बैशाख ५ गतेसम्म जिल्लाका एक दर्जन वढी सहकारी संस्थामा तोडफोड गरी नगद तथा सामान चोरी भएकोले उक्त घटनामा संलग्नलाई खोजी गरी कार्वाही गर्न र चोरी भएका सहकारी संस्थाको रकम तथा सामग्रीको क्षतिपूर्ति दिलाउन माग गरिएको छ ।
साथै निरन्तर भइरहेका यस्ता गतिविधिहरूका कारण सहकारी संघ/संस्थाहरूको सञ्चालन प्रकृयामा नै गम्भीर समस्याहरू देखा परिरहेकोले तत्काल शान्ति सुरक्षा मजबुद बनाउनसमेत संघले ज्ञापन पत्र मार्फत माग गरेको छ ।
संघले सहकारी संस्थामा चोरी डकैतीमा संलग्न केही ब्यक्तिहरूलाई झापा प्रहरीले पक्राउ गरी हाल थुनामा राखेकोले उनीहरू मोरङका सहकारी संस्था तोडफोड गरी चोरीमा संलग्न रहेको हुन सक्ने भएकोले झापा जिल्ला प्रशासनसँग समन्वय गरी सत्य तथ्य पत्ता लगाउनका लागि आवश्यक पहल गरिदिनसमेत ज्ञापन पत्रमार्फत अनुरोध गरेको छ ।
View : 475
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved