Biratnagar, Morang, Nepal
२९ पुष २०८१, सोमवार
+977 21 450305, 515728, 578305
समाज

तीन दिनदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध

उद्‌घोष सम्वाददाता
३० भदौ २०८१, आइतवार

बझाङ, ३० भदौ । बझाङमा पर्ने जयपृथ्वी राजमार्ग तीन दिनदेखि अवरुद्ध भएको छ ।

बिहीबारदेखि निरन्तर आएको वर्षाले छविसपाथिभेरा गाउँपालिकाको बालुवाटार नजिकै पहिरो आउँदा सडक अवरुद्ध भएको हो ।

शुक्रबार साँझदेखि आएको पहिरोले कैलाली, कञ्चनपुर जाने र आउने सबै सवारीसाधन रोकिँदा यात्रुहरु अलपत्र परेका छन् । पहिरो निरन्तर आइरहेकाले पहिरो पन्छाएर सडक सञ्चालन गर्न नसकिएको सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले जानकारी दिए।

उनले केदारस्यूँ गाउँपालिका र जयपृथ्वी नगरपालिकाको जेसीबी पहिरो पन्छ्याउन तयारी अवस्थामा राखे पनि पहिरो झर्ने क्रम नरोकिएकाले सडक सञ्चालन नभएको बताए । सहायक प्रजिअ जोशीका अनुसार शनिबार बिहानैदेखि अहिलेसम्म पहिरो पन्छाउनका लागि दुई वटा जेसिबी पहिरो गएका स्थान नजिक राखिएका छन् ।

“माथिबाट पानीसहितको लेदो आइरहेकाले शनिबार दिनभर सञ्चालन गर्न सकिएन । पहिरो रोकिएपछि मात्रै सडक खुलाउने प्रयास गर्नेछौँ”, उनले भने । शुक्रबार कैलाली तथा कञ्चनपुरबाट आएका यात्रु सामान बोकेर स्थानीय जिपमा गन्तव्यतिर गएका छन् भने बझाङबाट तराई छिर्ने सवारीका यात्रुहरु परिङाल नजिकैपर्ने बालुवाटारमा रोकिएका दुर्गाथली गाउँपालिकाका स्थानीय विक्रम जाग्रीले बताए ।

गत साता पनि छविसपाथिभेरा गाउँपालिकाको तमैल बजार नजिकै पहिरो आएर दुई दिनसम्म सडक अवरुद्ध भएको थियो ।  रासस

View : 103

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved