विराटनगर । नेकपा एमालेले आफ्नो मार्गदर्शक सिद्धान्त मान्ने ‘जनताको बहुदलीय जनवाद’ (जबज) ले आन्तरिक तथा बाह्य प्रतिष्पर्धा र त्यसमार्फत श्रेष्ठता हासिल गर्नुपर्ने मान्यता राख्छ । मदन भण्डारीकृत जबजको यही मुख्य मान्यता बोकेको एमाले भने आन्तरिक प्रतिष्पर्धालाई सकेसम्म वर्जित गर्न अग्रसर छ ।
शनिबार एमाले मोरङको अधिवेशन सुरु भएको छ । अधिवेशनमा नेतृत्व हात पार्न प्रष्टतः दुई समूह खडा हुने निश्चितप्रायः देखिन्छ । तर, त्यही प्रतिष्पर्धा रोक्न एमालेको सिंगो शक्ति मोरङ केन्द्रीत बनेको छ ।
केन्द्रबाट अधिवेशन उद्घाटनका लागि आएका उपाध्यक्ष रामबहादुर थापा बादलसहितका नेताहरू हुन् अथवा कोशी प्रदशेका नेता नै किन नहुन्, सबैजसो नेताहरू ‘प्रतिष्पर्धाले गुटबन्दी बढाउने’ भन्दै प्रतिष्पर्धामा रोक लगाउने कसरत गरिरहेका छन् । तर, संस्थापन पक्षलाई चुनौती पेश गरिरहेका नेता विनोद ढकाल र उनको समूह भने प्रतिष्पर्धा मार्फत नेतृत्व चयन हुनुपर्ने अडानमा देखिएको छ ।
यसअघि ‘सहमतिमै नेतृत्व चयन गर्ने’ भन्दै कोशी प्रदेशका झापासहितका जिल्लाहरूमा एक हप्तासम्म अधिवेशनको बन्द सत्र लम्ब्याइएको थियो । झापामा अध्यक्ष केपी शर्मा ओलीले भनेकै मान्छेलाई अध्यक्ष र सचिव बनाउन एक हप्तासम्म बन्द सत्र स्थगित गरिएको थियो ।
उदयपुर, तेह्रथुमसहितका जिल्लामा भने चुनाव हुँदा संस्थापन पक्षका धेरैले पराजय सहेका थिए । ‘प्रतिष्पर्धामार्फत श्रेष्ठता हासिल गर्न पाउनु जबजले गरेको सुन्दर व्यवस्था हो’, ढकाल पक्षका एक नेताले भने ‘प्रतिष्पर्धामा उत्रिनै नदिने तयारीमा नेताहरू लागेको देखिन्छ । त्यो राम्रो हुँदैन ।’
मोरङ अधिवेशन प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीले उद्घाटन गर्ने भनेर प्रचारित थियो । कार्यक्रममा ओली भने अनुपस्थित रहे ।
‘अध्यक्ष ओलीको सन्देश लिएर’ उपाध्यक्ष थापा बादल शनिबार विराटनगर आएका थिए । जिल्ला अधिवेशन उद्घाटनका क्रममा थापाले केन्द्रीय कमिटीको सन्देश भन्दै ओलीको सन्देश कार्यकर्तामाझ सुनाए ।
‘म अध्यक्षको सन्देश लिएर यहाँ आएको छु’, थापाले भने ‘ पार्टी अध्यक्षको सन्देश छ, प्यानलको रूपमा उम्मेदवार खडा गरे गुटबन्दी गर्ने छुट कसैलाई छैन । अधिवेशनमा प्यानल खडा हुनु गुटबन्दीलाई संस्थागत गर्नु हो । सहमतिबाटै नेतृत्व चयन गर्नुपर्छ ।’
थापासहित नौ जना नेताहरूले पालैपालो बोलेको उद्घाटन समारोहमा महिला वक्ता एकै जना पनि थिएनन् । ती सबै वक्ताहरूले जोड दिएर ‘गुटबन्दी सह्य नहुने, सहमतिबाटै नेतृत्व चयन हुनुपर्ने’ बताएका थिए । उपाध्यक्ष बादलले ‘गुटबन्दी पार्टीभित्र वर्जित छ’ भन्दै अध्यक्ष ओलीको निर्देशन र इच्छा सुनाइदिए ।
कोशी प्रदेशका अरु १३ जिल्लामा अधिवेशन भइसकेको एमालेको मोरङमा भने संगठन कमिटीले काम गरिरहेको छ । बेलैमा अधिवेशन हुन नपाएको मोरङ एमालेभित्र अध्यक्ष ओलीले चाहे जस्तो ‘प्रतिष्पर्धा वर्जित’ हुने अवस्था भने छैन ।
कुनै बेला ओलीकै विश्वास पात्र रहेका र पछिल्लो समय पूर्वराष्ट्रपति विद्या भण्डारी निकट बनेका मोरङकै नेता विनोद ढकाल समूह र संस्थापन समूहबीच जिल्लामा प्रतिष्पर्धाको अवस्था छ ।
गत वर्षको असोजमा घनश्याम खतिवडासँग प्रदेश अध्यक्षमा पराजित बनेका ढकाल मोरङ एमालेको संगठनमा प्रभाव भएका नेता मानिन्छन् ।
जिल्लामा आफ्नो प्रभाव कायमै रहेको सन्देश दिन पनि ढकाल पक्ष जसरी पनि निर्वाचनमा जाने योजनामा छ । यद्यपि संस्थापन पक्ष भने ‘गुटबन्दी वर्जित’ छ भन्दै प्रतिष्पर्धा नै रोक्न लागेको छ ।
अहिले एकातिर केन्द्रदेखि प्रदेशसम्मका हेभिवेट नेताहरूको एउटा टिम र अर्कातिर विनोद ढकाल एक्लैको अर्को टिम चुनावी मैदानमा जाने तयारीमा छ । सहमतिको प्रयासमा रहेका नेताहरूको प्रयास निष्कर्षमा नपुगे यसपटक बहुसंख्यक नेताहरूको टिम भर्सेस विनोद ढकाल समूहबीचको प्रतिष्पर्धा मोरङ एमालेमा हुनेछ ।
संस्थापन पक्षले पूर्व प्रदेश सांसद राजकुमार ओझालाई अध्यक्षका रुपमा अघि सार्ने लगभग तय गरेको छ भने ढकाल समूहले जिसस मोरङका प्रमुख अजम्बर राईलाई अध्यक्षका रुपमा अघि सार्ने तयारी गरेको छ । यद्यपि दुवै समूहले अहिलेसम्म औपचारिक रुपमा उम्मेदवार घोषणा गरेका छैनन् ।
संगठन कमिटी अध्यक्ष बाबुराम कार्की संस्थापन पक्षबाट आफै उम्मेद्वार हुने बताइरहेका छन् ।
ओली टिमको प्रतिनिधित्व गर्ने पार्टीका कोशी इन्चार्ज एवम् पूर्व मुख्यमन्त्री शेरधन राई, एमाले कोशी अध्यक्ष घनश्याम खतिवडा लगायतका नेताहरू राजकुमार ओझालाई अध्यक्षको रुपमा अघि सार्ने तयारीमा छन् ।
उनीहरूको योजनालाई मुख्यमन्त्री हिक्मत कार्की, जीवन घिमिरे लगायतका नेताहरूको पनि साथ रहेको छ । यो टिमले जिल्ला उपाध्यक्षमा शान्ति लिम्बू र सचिवमा रविन थापालाई अघि सार्ने तयारी गरेको छ ।
संगठन कमिटी अध्ययक्ष बाबुराम कार्की नै संस्थापन पक्षको उम्मेदवार हुनुपर्छ भनेर केन्द्रीय कमिटी उपाध्यक्ष गुरु बराल, यसअघिका मोरङ अध्यक्ष ऋषिकेश पोखरेलले भने आफ्नो प्रयास जारी राखेका छन् ।
समाचार स्रोतका अनुसार, भानुभक्त ढकाल, शेरधन राईलगायतले राजकुमार ओझालाई मोरङ अध्यक्ष बनाउने अध्यक्ष ओलीको सन्देश भनेर प्रचार गरेपछि पोखरेल र कार्की बिहीबार राति काठमाडौैं पुगेका थिए । तर उनीहरू फर्केपछि पनि खासै उत्साहित नदेखिएकाले कार्की संस्थापन पक्षको उम्मेदवार हुने सम्भावन कम रहेको स्रोत भनाइ छ ।
यता संस्थापन समूहमै रहेर पनि कोशीमा फरक समूहको नेतृत्व गरिरहेका नेता ढकालका लागि मोरङ अधिवेशन पार्टीभित्रको आफ्नो शक्ति परीक्षणको निर्णायक घडी बनेर उपस्थित छ । अघिल्लो वर्ष सम्पन्न प्रदेश अधिवेशनबाट ढकालले कोशीमा ओली समूहका नेताहरूलाई चुनौती दिएयता उनी प्रदेशमा फरक समूहको नेता बनेर अघि बढिरहेका छन् ।
कोशीका सबै जिल्लामा अधिवेशन भइसक्दा केही जिल्लामा ढकालले समर्थन गरेका उम्मेद्वारहरूले जित हात पारेका छन् । गृहजिल्ला मोरङमा पनि आफ्नो प्रभाव बलियो तुल्याउन यो समूह लागिपरेको छ ।
कोशीमा पूर्वमुख्यमन्त्री शेरधन राई, हालका मुख्यमन्त्री हिक्मत कार्की, भानुभक्त ढकाल, ऋषिकेश पोखरेल, घनश्याम खतिवडासहितका नेताहरूसँग एक्लै भिडिरहेका ढकाल पक्षले ६० प्रतिशतभन्दा बढी प्रतिनिधि आफ्नो समूहको रहेको दाबी गर्दै आएको छ ।
ढकाल पक्षले उपाध्यक्षमा सागर थापा र सचिवमा सोम थापालाई अघि सार्ने सम्भावना छ ।
‘इमान्दार कार्यकर्ता भर्सेस पार्टीका बेइमान नेताहरूबीचको प्रतिष्पर्धा मोरङमा छ’, ढकाल पक्षका नेता सागर थापाले भने ‘कार्यकर्तालाई पेल्ने, कारवाही गर्ने नेताहरूलाई कार्यकर्ताले यसपटक देखाउने आत्मविश्वास छ ।’
थापा यसअघि विराटनगर महानगर अध्यक्ष थिए । तर, विराटनगरकै एउटा खानेपानी आयोजनाको चुनावमा फरक व्यक्तिलाई समर्थन गरेको आरोपमा थापालाई एमालेको जिल्ला संगठन कमिटीले पार्टी सदस्यबाटै हटाएको थियो ।
कारवाही फुकुवा भएपछि ढकाल पक्षका उनीसहितका नेताहरू चुनावबाटै नेतृत्व चयन हुनुपर्ने अडानमा छन् ।
View : 198
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved