विराटनगर । सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा धार्मिक विवादपछि सुरु भएको हिंसात्मक तनाव एक सातापछि बिस्तारै मत्थर हुन थालेको छ । घटनास्थल देवानगञ्जमा शनिबार दिउँसो कफ्र्यू हटाइएको छ ।
तनाव मत्थर पार्न र थप फैलन नदिन समुदायको पहलमै ठाउँ–ठाउँमा प्रयास भइरहेका छन् । यहीक्रममा शुक्रबार विराटनगरमा सद्भाव र्याली निकालेर धार्मिक सहिष्णुता कायम राख्न आह्वान गरिएको छ ।
यद्यपि सुनसरीमा दुई र सिरहामा एक गरी तीन जनाको ज्यान गएको घटनाले फैलाएको त्रास भने अझै पूर्ण रूपमा हटिसकेको छैन । आपसी अविश्वास ले जन्माएको त्रासको छाया देवानगञ्जमा अझै पनि कायमै छ ।
तनावको केन्द्र बनेको देवानगञ्जमा शुक्रबार आमेप्रकाश मेहता र जयप्रकाश मेहताको अन्त्येष्टि भएको छ ।
शनिबारबाट जनजीवन क्रमशः सामान्य बन्न थालेको छ । तर स्थानीयका अनुसार बाहिरी गतिविधि सहज देखिए पनि गाउँभित्रको मनोवैज्ञानिक त्रास र समुदायबीचको अविश्वास यथावत छ ।
देवानगञ्जका स्थानीय रविलाल मेहताले भने, ‘हिजो दुई जनाको अन्त्येष्टि भयो । आज गाउँको अवस्था सामान्य छ । तैपनि मान्छेहरूको दैनिकी भने पहिलेजस्तो सुरु भइसकेको छैन ।’
गाउँका मुस्लिम समुदाय पनि अझै त्रासमा रहेको स्थानीयहरू बताउँछन् । देवानगञ्जका कासिम मियाँले पुस्तौंदेखि बसोबास गरेको गाउँमा यस्तो अवस्था पहिलो पटक देखेको बताए ।
‘मेरो त दादा–परदादादेखिको बसोबास हो । यस्तो कहिल्यै देखेको थिइनँ । अब पनि मिलेरै बस्नुपर्छ,’ उनले भने ‘घटनाको निष्पक्ष छानबिन होस् । दोषी जो भए पनि कारबाही हुनुपर्छ ।’
देवानगन्ज तनावले प्रभाव पार्ने जोखिम बढेपछि विराटनगरमा शुक्रबार जिल्ला प्रशासन कार्यालयको आयोजनामा विभिन्न धार्मिक समुदायका अगुवा, राजनीतिक दल, नागरिक समाज र सर्वसाधारणको सहभागितामा निस्केको सद्भाव र्यालीले शान्तिका र सद्भावको अपिल गरेको थियो ।
महेन्द्र चोकबाट सुरु भएको र्यालीले मुख्य बजार क्षेत्र परिक्रमा गर्दै धार्मिक सहिष्णुता कायम राख्न र कुनै पनि उक्साहटमा नलाग्न आह्वान गरेको थियो ।
देवानगञ्ज–३ कप्तानगञ्जमा गत आइतबार राति दुई समूहबीच भएको विवाद नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर देवानगञ्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको घटनास्थलमै मृत्यु भएको थियो ।
सोही घटनामा घाइते भएका देवानगञ्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको उपचारका क्रममा बिहीबार विराटनगरस्थित न्यूरो अस्पतालमा मृत्यु भयो ।
घटनामा गोली लागेर घाइते भएका अन्य छ जनाको विराटनगरका विभिन्न अस्पतालमा तथा दुई जनाको काठमाडौंमा उपचार भइरहेको छ ।
मृतकका परिवारले पाँच दिनसम्म शव बुझ्न अस्वीकार गरेका थिए । गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा भएको वार्तापछि सातबुँदे सहमति भएपछि शुक्रबार शव बुझेर अन्त्येष्टि गरिएको हो ।
सहमतिअनुसार मृतकका परिवारलाई जनही १० लाख रुपैयाँ राहत, सहिद घोषणा, निष्पक्ष छानबिन, दोषीमाथि कारबाही, परिवारका एक सदस्यलाई रोजगारी तथा स्मृति पार्क निर्माण गर्ने प्रतिबद्धता गरिएको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्यालका अनुसार देवानगञ्जमा दिनभरी कफ्र्यू हटाएको र राति पुनः लगाएको जानकारी दिएका छन् ।
इटहरी–१६ र १७, रामधुनी–१ र ५ अन्तर्गत महेन्द्र राजमार्ग आसपासका क्षेत्र, इनरुवा, दुहबी, भोक्राहा नरसिंह, कोशी, गढी, देवानगञ्ज, हरिनगर र बर्जु गाउँपालिकामा अर्को सूचना जारी नभएसम्म निषेधाज्ञा कायम राखिएको छ । निषेधाज्ञा अवधिमा पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन, सभा, प्रदर्शन, जुलुस तथा घेराउ गर्न रोक लगाइएको छ ।
देवानगञ्ज गाउँपालिका उपाध्यक्ष कुमारी बिभा यादवले सुरक्षा अवस्था नियन्त्रणमा आए पनि सामाजिक सम्बन्ध सामान्य हुन समय लाग्ने बताइन् ।
‘हिजोसम्म जातीय वा धार्मिक विभेदबिना सबै मिलेर बसेका थियौं । यो घटनाले सामाजिक सम्बन्धमा गम्भीर असर पु¥याएको छ । अहिले सम्बन्ध चुँडिएको धागोजस्तै भएको छ,’ उनले भनिन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले सरकारसँगको सहमतिपछि स्थिति नियन्त्रणमा आए पनि दुवै समुदायमा शंका र त्रास अझै बाँकी रहेको बताए । उनका अनुसार सुरक्षा अवस्थाको निरन्तर मूल्यांकन गर्दै प्रशासनले थप निर्णय लिनेछ ।
देवानगञ्जको घटनाले सुनसरीमा मात्रै असर पारेन । त्यसको प्रभाव सप्तकोशी नाघेर मधेश प्रदेशका विभिन्न जिल्लासम्म फैलियो ।
सिरहाको गोलबजारमा बिहीबार १५ वर्षीय गणेश यादवको मृत्यु भएपछि धनुषा, सप्तरी, पर्सा, महोत्तरीलगायत जिल्लामा प्रदर्शन, बन्द र विरोधका कार्यक्रम भए । केही स्थानमा कफ्र्यु तथा निषेधाज्ञा जारी गरियो भने बजार र यातायात सेवा पनि प्रभावित बनेका थिए ।
मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी प्रभुप्रसाद ढकालका अनुसार शनिबार अधिकांश जिल्लाको अवस्था सामान्य बन्दै गएको छ । सप्तरी र धनुषामा सर्वदलीय बैठक तथा सद्भाव र्याली आयोजना भएका छन् ।
सिरहाको गोलबजारबाहेक अन्य स्थानको कफ्र्यू हटाइएको छ भने धनुषामा निषेधाज्ञा कायम छ । लामो दूरीका बस पुनः सञ्चालनमा आएका छन् र मुख्य राजमार्गहरू सुचारु छन् ।
View : 38
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved