Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

शिक्षा सुधारमा जनता नमूना माविको कायापलट

एसईईमा शून्य नतिजाबाट ९६ प्रतिशत सफलता

उद्‌घोष संवाददाता
१४ असार २०८२, शनिवार

विराटनगर । विराटनगर–२ स्थित जनता नमूना माविले गत वर्षको एसईई नतिजा शून्य आएको थियो, जसले सबैतिरबाट गिज्याहटको सामना गर्नुपरेको थियो । तर, यस वर्ष सो विद्यालयले सबै आलोचकहरूलाई जवाफ दिँदै ९६ प्रतिशत विद्यार्थी उत्तीर्ण गराएर शानदार सफलता हासिल गरेको छ ।

जसको कारण एसईई दिएका ३१ जनामा ३० जना उत्तीर्ण भएका छन् । यो नतिजा विद्यालयको सामूहिक प्रयास, लगनशीलता र अदम्य साहसको प्रतीक भएको शैक्षिक विज्ञ डा मनोज राउतले बताए ।

यस अविश्वसनीय सफलताका लागि विद्यालयका पूर्व प्रधानाध्यापक सनद कोइराला र ईश्वर घिमिरे, वर्तमान प्रधानाध्यापक चिन्तामणि रिजाल, व्यवस्थापन समिति अध्यक्ष मनोजविक्रम शाह, डा मनोज राउत, पूर्व विद्यार्थी संघका अध्यक्ष उमेश भगतको प्रमुख भूमिका रहेको छ ।  

जनता नमूना माविको यो पुनरुत्थानको कथाले सही नेतृत्व, सामूहिक प्रयास र दृढ सङ्कल्प भएमा कुनै पनि चुनौतीलाई अवसरमा बदल्न सकिन्छ भन्ने प्रेरणादायी सन्देश दिएको शैक्षिक अभियन्ता अभिशेक घिमिरे बताउँछन् । 

शैक्षिक विज्ञ डा राउत भन्छन् ‘कुनै बेला पूर्वी नेपालको गौरव मानिने ‘जनता स्कुल’ हाल जनता नमूना मावि केही कुपात्रहरूको राजनीतिक आड र आर्थिक अनियमितताका कारण चरम निराशाको अवस्थामा पुगेको थियो ।

आर्थिक क्षति र शैक्षिक गतिविधि शून्य हुँदा करिब चार वर्ष अगाडि यो विद्यालयमा विद्यार्थी संख्या पनि शून्यमा झरेको थियो । विद्यालयको यो दुर्भाग्यपूर्ण अवस्थाले धेरैलाई चिन्तित बनाएको थियो ।’ 

डा राउत भन्छन्, ‘विद्यालयको यो संकटपूर्ण अवस्थामा प्रमुखका रूपमा आउनुभएका सनद कोइरालाले सकारात्मक प्रयत्न र छलफलको सुरुवात गर्नुभयो ।

त्यसपछि, प्रमुखको जिम्मेवारी सम्हाल्नुभएका ईश्वर घिमिरेले विद्यालयलाई निराशाको दलदलबाट बाहिर निकाल्न नकारात्मक शक्तिहरूसँग जुधेर अथक प्रयास गरे ।

उनकै सक्रियतामा पूर्व विद्यार्थी संघलाई उमेश भगतको अध्यक्षतामा पुनर्गठन गरियो, जसले सबैलाई एकताबद्ध गर्ने काम गर्‍यो ।

पूर्व विद्यार्थी संघको सक्रियता र विशेष प्रयासमा युवा तथा गतिशील ऊर्जावान पूर्व विद्यार्थी  मनोजविक्रम शाहलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाउने महत्वपूर्ण निर्णय गरियो ।

घिमिरे र शाह दुवैको दूरदर्शी सोच र गतिशीलताले जनता नमूना माविको पुनरुत्थानको यात्राले नयाँ मोड लियो ।’

कायापलटको परिणाम : संख्यात्मक वृद्धि र शैक्षिक उत्कृष्टता

‘चार वर्ष अगाडि शून्य विद्यार्थी थिए । मनोजविक्रम शाह व्यवस्थापन समितिको अध्यक्ष बनेर आएपछि जनता नमूना माविले सा“च्चिकै काँचुली फेर्‍यो । शून्य विद्यार्थीको अवस्थामा दुई वर्षभित्रै विद्यालयमा ७०० भन्दा बढी विद्यार्थी भर्ना भए, जसले विद्यालयप्रतिको जनविश्वास पुनः स्थापित भएको प्रमाण दियो’ भन्दै शैक्षिक अभियन्ता खुशी व्यक्त गर्दछन् । 

यो रूपान्तरण केवल भौतिक संरचनामा मात्र सीमित रहेन । विद्यालय प्रशासनले शैक्षिक विज्ञका रूपमा  स्नातकोत्तर क्याम्पस विराटनगरका पूर्व प्रमुख डा मनोज राउतलाईलाई अगाडि बढाउने काम गर्यो ।

साथै, शैक्षिक अभियन्ता अभिषेक घिमिरेलाई शैक्षिक परामर्श र विद्यार्थी परामर्शका लागि निरन्तर अनुरोध भयो र उनले पूर्ण सहयोग प्रदान गरेको डा राउत बताउँछन् ।  

पूर्व विद्यार्थी संघले एक वर्षसम्म निःशुल्क कोचिङ कक्षाको व्यवस्थापन गरिदियो, जसमा डा राउतले पनि निशुल्क रुपमा विद्यार्थीलाई गणित विषय पढाए ।

जसको प्रत्यक्ष परिणाम स्वरूप ३१ जना विद्यार्थीमध्ये ३० जना उत्तीर्ण भएको डा राउत गौरवका साथ बताउँछन् ।  जुन विद्यालयको शैक्षिक उन्नयनतर्फको पहिलो ठोस कदमको रुपमा देखिएको छ  ।

एसईईको मौका परीक्षा दिने विद्यार्थीलाई निशुल्क पढाउँदै डा मनोज राउत । स्नातकोत्तर क्याम्पस विराटनगरका प्रमुख समेत भई सकेका गणित विषयका प्राध्यापक डा राउतले आफूले अध्ययन गरेको विद्यालयका एसईई मौका परीक्षामा सहभागी हुने विद्यार्थीलाई अनिवार्य गणित तथा ऐच्छिक गणित पढाएका हुन् । डा राउत जनता नमूना मावि शंकरपुर विराटनगरका पूर्व विद्यार्थी हुन् । फाइल तस्वीर

एसईईको मौका परीक्षा दिने विद्यार्थीलाई निशुल्क पढाउँदै डा मनोज राउत । स्नातकोत्तर क्याम्पस विराटनगरका प्रमुख समेत भई सकेका गणित विषयका प्राध्यापक डा राउतले आफूले अध्ययन गरेको विद्यालयका एसईई मौका परीक्षामा सहभागी हुने विद्यार्थीलाई अनिवार्य गणित तथा ऐच्छिक गणित पढाएका हुन् । डा राउत जनता नमूना मावि शंकरपुर विराटनगरका पूर्व विद्यार्थी हुन् । फाइल तस्वीर

View : 2154

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved