बेलबारी । बेलबारी उद्योग संघको पाँचौ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
साधारणसभाको उद्घाटन गर्दै बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राईले स्थानीय व्यवसायीको पक्षमा संघले जागरुकता देखाएर काम गरिरहेको बताए । उनले संघ र नगरपालिकाबीच सदैव सहकार्य र सहयोग आदानप्रदान हुने गरेको बताए ।
मेयर राईले बेलबारीको खस्किदो आर्थिक गतिविधिलाई बढाउनका लागि नगरपालिकाले व्यावसायिक वातावरण बनाउन आवश्यक सहयोग गर्ने बताए ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले जिल्लामा विराटनगर बाहिरका रहेर व्यापार व्यवसाय गर्दै आएका व्यावसायीहरूको हकहितलाई बेलबारी उद्योग वाणिज्य संघले जहिले पनि उठाउने गरेको बताए । महासंघले बेलबारी संघलाई सदैव साथ सहयोग रहने बताए ।
उनले बिभिन्न स्थानमा जारी व्यावसायिक मेला र महोत्सलाई कतै नजुध्ने गरी वार्षिक क्यालेण्डर नै बनाउनुपर्नेमा जोड दिए ।
साधारणसभाको अवसरमा संघले ६ जना व्यवसायीहरूलाई सम्मान गरेको छ । नियमित सदस्यता नवीकरणतर्फ अनिलकुमार चौधरी र चन्द्रहाङ लिम्बू, उद्योग तर्फबाट गणेश चौधरी, वाणिज्यतर्फ राधाकृष्ण श्रेष्ठ, कृषि उद्यमीतर्फ सुवास राई र महिला उद्यमीमा मीरा खड्का सम्मानित भएको जनाइएको छ ।
संघले व्यवसायी दीपक बुढाथोकीलाई कदरपत्रले सम्मानित गरेको थियो ।
संघका अध्यक्ष भेषकुमार श्रेष्ठ (अशोक) को अध्यक्षतामा सम्पन्न साधारणसभामा बेलबारीका उद्योगी व्यवसायीको बाक्लो उपस्थिति रहेको थियो ।
View : 41
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved