विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लगानी सम्मेलनका क्रममा गरिएका प्रतिबद्धता र विकास योजनाहरू पूर्णरूपमा कार्यान्वयन गर्न भीमकाय पहाड जस्तै चुनौती रहेको धारणा व्यक्त गरेका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेशद्वारा बिहीबार विराटनगरमा आयोजित कोशी प्रदेश लगानी सम्मेलन–२०८२ को उपलब्धि र प्रक्रियागत पक्षसम्बन्धी अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।
लगानी सम्मेलनबाट भएका उपलब्धिलाई संस्थागत गर्न र आयोजनाहरूको कार्यान्वयनमा सहजता ल्याउन अबदेखि वर्षको दुई पटक नियमित समीक्षा कार्यक्रम सुरु गरिएको मुख्यमन्त्री कार्कीले जानकारी दिए ।
यस्तो नियमित समीक्षाले लगानीकर्ताका समस्या बुझ्न र प्रक्रियागत अल्झन हटाउन मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ ।
विराटनगरमा आयोजित उक्त कार्यक्रममा कोशी प्रदेशका मन्त्रीहरू, स्थानीय निकायका प्रमुख तथा उपप्रमुखहरू र विभिन्न औद्योगिक क्षेत्रका नेतृत्वको उपस्थिति थियो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत र उद्योग सङ्गठन मोरङका अध्यक्ष नन्दकिशोर राठी लगायतले सहभागी भई शुभकामना दिएका थिए ।
साथै, सम्मेलनमा मन्त्रालयका मन्त्रीहरु, सचिवहरु, कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौला, स्थानीय निकायका प्रमुख तथा उपप्रमुख, परियोजना विकासका लागि समझदारी गरेका लगानीकर्ता एवं विकासकर्ताहरूको समेत सहभागिता थियो ।
सोही अवसरमा मुख्यमन्त्री कार्कीले कोशी दर्पण लगानी विशेषाङ्कूको औपचारिक विमोचन गरे । कार्यक्रममा लगानीका विभिन्न आयामबारे विज्ञहरूले कार्यपत्र प्रस्तुत गरेका थिए ।
मुख्यमन्त्रीका आर्थिक सल्लाहकार डा। मोहनकुमार सुवेदीले लगानी सम्मेलनको उपलब्धि र आगामी कार्यदिशाबारे प्रादेशिक दृष्टिकोण प्रस्तुत गरे ।
लगानी बोर्ड नेपालका डा युवराज पौड्यालले सार्वजनिक–निजी साझेदारी लगायतको राष्ट्रिय दृष्टिकोण बारे प्रकाश पारेका थिए ।
प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा सरोज कोइरालाले समझदारी भएका परियोजनाहरूको हालको अवस्थाबारे जानकारी गरे ।
प्रदेश सचिव नारायणप्रसाद रिसालको स्वागत मन्तव्य र कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेसँगै सुरु भएको कार्यक्रममा लगानीकर्ता र सहभागीहरूबीच खुल्ला अन्तर्क्रिया समेत भएको थियो ।
सहभागीहरूले उठाएका प्रश्नको सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले कानुनी र व्यावहारिक पहाडहरू पन्छाउँदै लगानीलाई नतिजामुखी बनाउन सरकार दृढ रहेको बताए ।
सो अवसरमा मुख्यमन्त्री कार्कीले लगानी सम्मेलनलाई सफल पार्न महत्वपूर्ण योगदान गर्नेहरुलाई कदरपत्रद्वारा सम्मानित गरेका थिए ।
View : 226
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved