Biratnagar, Morang, Nepal
२७ पुष २०८१, शनिवार
+977 21 450305, 515728, 578305
खेलकुद

बुढासुब्बा गोल्डकप

आयोजकको विजयी सुरुवात, युकेएफसी सडेन डेथमा पराजित

उद्‌घोष सम्वाददाता
२६ फागुन २०८०, शनिवार

सुनसरी । आयोजक धरान फुटबल क्लबले २४ औँ संस्करणको बुढासुब्बा गोल्डकप फुटबलमा बिजयी सुरुवात गरेको छ । शनिवार भएको उद्घाटन खेलमा पाहुना टोली युकेएफसी भारतलाई सडेन डेथमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

निर्धारित ९० मिनेटमा दुवै टिमले १–१ गोल गरेपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट लिइएको हो । पेनाल्टीमा पनि ५–५ गोलको बराबरी भएपछि खेल सडेन डेथमा पुगेको थियो । 

सडेन डेथमा धरान १०–९ गोल अन्तरले बिजयी भएको हो । यो जीतसँगै आयोजक धरानले गत संस्करणको उद्दघाटन खेलमा व्यहोरेको हारको बदला लिएको छ । गत संस्करणको उद्घाटन खेलमा आयोजक धरान फुटबल क्लब युकेएफसीसँगै पेनाल्टी सुटआउटमा ५–३ गोल अन्तरले पराजित हुुँदै क्वाटरफाइनलबाटै बाहिरिएको थियो ।

धरान रंगशालामा शनिबार भएको उद्घाटन खेलको ५९औं मिनेटमा मिलन राईले गोल गरेर आयोजक टिमलाई अग्रता दिलाएका थिए । विनोद राईले कर्नर क्षेत्रबाट दिएको पासको सदुपयोग गर्दै बललाई जाली चुमाए । 

खेलको ७३ औं मिनेटमा युकेएफसीका नयन प्रधानले गोल फर्काएपछि खेल एक–एक को बराबरीमा फर्कियो । दोस्रो हाफको सुरुवातमै पेमा लामाको स्थानमा मैदान छिरेका प्रधानले सचिन थापाले दिएको पासलाई गोलमा परिणत गरेका थिए । 

खेलको ७७ औं मिनेटमा युकेएफीका राज राउतको डिएरियाभित्र ह्याण्ड भएपछि पाएको पेनाल्टीलाई मिलन राईले खेर फाल्दा धरानले जितका लागि सडेन डेथसम्म कुर्नपरेको थियो ।

सडेन डेथमा युकेएफसीका एन्थोनी क्षेत्रीको प्रहार आयोजकका गोलरक्षक सचिन श्रेष्ठले रोकेपछि धरान सेमिफाइनल पुगेको हो । खेलको म्यान अफ द म्याच धरानकै गोलरक्षक सचिन घोषित भए । उनले नगद १० हजार पाए । 

आइतबारको खेल न्युरोड टिम एनआरटी र त्रिभुवन आर्मीबिच हुनेछ । एक सातासम्म चल्ने गोल्डकपमा ८ वटा टिम सहभागी छन् । 

धरानमा २०५५ सालदेखि शुरु भएको प्रतियोगिताको यो संस्करणको विजेताले नगद १० लाख र उपविजेताले ५ लाख पुरस्कार पाउने छन् । 

उत्कृष्ट खेलाडीले नगद एक लाख, प्रत्येक खेलको म्यान अफ दि म्याचले १० हजार र विधागत रुपमा उत्कृष्ट हुनेले जनही नगद २५ हजार पाउने जनाइएको छ । सर्वाधिक गोलकर्ताले ३५ हजार नगद पाउने आयोजकले घोषणा गरेको छ ।

View : 351

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved