Biratnagar, Morang, Nepal
८ जेठ २०८२, बिहिवार
+977 21 450305, 515728, 578305
विचार

आधुनिक परिदृश्यमा सनातन धर्म, परम्परा र पारिवारिक संरचना

चाहे आफ्नै देशमा बसोबास गर्ने होस् वा विदेशमा, धेरैलाई आफ्नो संस्कार नछुटोस् भन्ने चाहना हुँदाहुँदै पनि त्यसको जानकारी दिने र लिने व्यक्ति समाजमा कम हुँदै गएकाले तथ्यको ज्ञान नभएर विवाह, व्रतबन्ध, जन्म र मृत्यु संस्कारहरूमा त्रुटिहरू देखापरेका छन् । त्यसकारण आ–आफ्ना वर्ण, जाति र गोत्रका पारिवारिक विद्वान् वर्गले आफ्नो परिचयात्मक कृति प्रकाशित गर्दा धर्म संस्कृतिको पालना मात्र सहज हुँदैन, नेपाली पहिचानको रक्षा पनि हुन्छ ।
डा मीनाक्षी नेपाल
५ जेठ २०८२, सोमवार

आधुनिक युगको व्यस्त जीवनशैली र तीव्र सामाजिक परिवर्तनले सनातन विधिद्वारा निर्देशित परम्परागत समाज, परिवार र व्यक्तिको जीवनशैलीमा व्यापक फेरबदल ल्याएको छ । बसाइँसराइ यस परिवर्तनको एक प्रमुख कारण हो भन्दा अत्युक्ति नहोला । एकै स्थानमा बसोबास गर्ने र स्वतः परम्परागत व्यवहार विधि पालना गर्ने समाजको संरचना आज हराउँदै गएको छ । धन आर्जन गर्ने आकांक्षा, व्यक्तिगत विकासको चाहना, स्वतन्त्रताको मोह, पाश्चात्य संस्कृतिको आकर्षण, उच्च शिक्षा र रोजगारी जस्ता कारणहरूले मानिसहरू श्रीमान् श्रीमती र एक वा दुई सन्तानको सानो परिवारमा सीमित हुन बाध्य भएका छन् ।

बढ्दो आधुनिकताले आजको सनातन समुदायका मानिसहरूले सही र गलत छुट्याउने अवसर कमै पाएका छन् । यसले हिन्दू परिवारका आदर्श, उद्देश्य र मूल्यमान्यतामा नकारात्मक असर पारेको मात्र छैन, बरु पारिवारिक संरचना नै विघटनको जटिल अवस्थामा पुगेको छ । एकल परिवारको बढ्दो प्रचलनले पारिवारिक सामञ्जस्यता र आपसी सम्बन्ध कमजोर बन्दै गएको छ । सबैभन्दा ठूलो परिवर्तन त धार्मिक संस्कारहरूप्रति अनास्था र विवाहलाई केवल प्रेममा आधारित सम्झौताको रूपमा लिने दृष्टिकोणको विकास हो । विवाहसम्बन्धी धार्मिक मान्यताहरूप्रति आजको आधुनिक पुस्ताले चासो दिन छाडेको स्पष्ट देखिन्छ ।

अनेकौं कारणहरू, विशेष गरी अवसरको खोजी र विज्ञान प्रविधिको विकासले विश्वका मानिसहरूलाई एकअर्काको देशमा जान र त्यहाँको जीवनशैलीमा रमाउन प्रेरित गरेको छ । पूर्वीय सभ्यतामा जन्मिएका मानिसहरू आफ्ना मौलिक संस्कार र संस्कृति बिर्सन थालेका छन् । व्यस्तता र दौडधुपले गर्दा मानिसहरूलाई आपसमा कुराकानी गर्ने वा आफ्नो पहिचान ‘म को हुँ’  सम्झने फुर्सद पनि छैन ।

एकै बाबुआमाका छोराछोरी पनि विभिन्न देश र स्थानमा बसाइँ सरेपछि दाजुभाइ, दिदीबहिनीका सन्तानहरू टाढा भएका छन् । यस्तो अवस्थामा सपिण्ड, सगोत्र र आफ्नो वंश परम्पराको स्मरण र चिन्तन कसरी गर्न सकिन्छ? सपिण्डन, सबन्धुत्व र गोत्र जस्ता महत्त्वपूर्ण पक्षहरू बिस्तारै विस्मृत हुँदै गइरहेका छन् ।

सनातन वैदिक हिन्दू पद्धतिले निर्दिष्ट गरेका सोह्र संस्कारहरू जन्मजन्मान्तरको कल्याणका लागि व्यवस्थित गरिएका हुन्छन् भन्ने ज्ञानको अभावले समाजमा विचलन आएको छ । यसले संस्कार र संस्कृतिमा आधारित पारिवारिक संरचना हराउँदा देश र जातिको पहिचान पनि संकटमा परेको छ । सोह्र संस्कारहरूबाट प्राप्त हुने शारीरिक, इहलौकिक, आत्मिक र पारमार्थिक शान्ति आज कुण्ठित भएको छ । हाम्रा सन्ततिहरू क्रमशः उदासिन र अन्योलग्रस्त बन्दै गइरहेका छन् ।

विदेशिएका युवायुवतीहरूले सम्पत्ति, गाडी र महल बनाए पनि आत्मिक शान्ति प्राप्त गर्न नसकेको अवस्था देखिन्छ । अर्कोतर्फ, पचास वर्षअघि विदेशिएका व्यक्तिहरू अझै पनि नेपालमा रहेका आफ्ना जरोसँग जोडिन र परम्परागत अनुशासन तथा धर्म संस्कृतिको पालना गर्न चाहन्छन् । तर उनीहरूमा यो भावनालाई कसरी कार्यान्वयन गर्ने भन्ने ज्ञान र सम्बन्धको अभाव छ । आपसी सम्बन्ध, सपिण्डता र सगोत्रताबारे नयाँ पुस्तालाई जानकारी दिन सकिरहेका छैनन् । 

विदेशमा रहेका कतिपय अभिभावकहरू नेपालीले नेपालीसँगै थर र जात मिलाएर विवाह गरुन् भन्ने चाहना राख्दा राख्दै पनि जानकारीको अभावमा सगोत्रमा तीन–चार पुस्ताभित्रै विवाह भइरहेका छन् । सपिण्डता आफ्ना मावली र बुढमावलीमा मात्र नभई सौतेनी आमाका दिदीबहिनीहरूमा समेत लाग्दछ । आफ्ना मामाघरतर्फ तीन पुस्ता र पिताको घरतर्फ सात पुस्ता सपिण्ड मानिन्छन् । त्यसैले धर्मशास्त्रले सपिण्डी र सगोक्र विवाह निषेध गरेको छ । यस्ता विवाहबाट जन्मिएका छोराछोरी सुस्त मनस्थितिका, रत्तदोषबाट पीडित र परिवारमा अशान्ति उत्पन्न गर्ने खालका हुन्छन् भन्ने सनातन धर्मको मान्यता छ ।

चाहे आफ्नै देशमा बसोबास गर्ने होस् वा विदेशमा, धेरैलाई आफ्नो संस्कार नछुटोस् भन्ने चाहना हुँदाहुँदै पनि त्यसको जानकारी दिने र लिने व्यक्ति समाजमा कम हुँदै गएकाले तथ्यको ज्ञान नभएर विवाह, व्रतबन्ध, जन्म र मृत्यु संस्कारहरूमा त्रुटिहरू देखापरेका छन् । त्यसकारण आ–आफ्ना वर्ण, जाति र गोत्रका पारिवारिक विद्वान् वर्गले आफ्नो परिचयात्मक कृति प्रकाशित गर्दा धर्म संस्कृतिको पालना मात्र सहज हुँदैन, नेपाली पहिचानको रक्षा पनि हुन्छ । यही पवित्र सोच राखेर गत चैतमा मात्र ‘नेपाल वंशावली, मण्डन दियाले, विराटनगर प्रशाखा’ तयार पारी प्रकाशन गर्ने कार्य गरिएको छ ।

विराटनगरवासी नेपाल थरका आफ्ना छोराछोरी र भतिजाहरू कोही एकदुई त कसैको सिंगो परिवार नै विदेशमा बसाइँ सरेको हुँदा कसैको परिवारमा यस्तो धर्मसंकटको अवस्था नआओस् भन्ने चाहनाले यस पुस्तकका सम्पादकलाई यो वंशलता प्रकाशन कार्यमा लाग्न प्रेरणा मिलेको हो भन्न सकिन्छ ।

धार्मिक कार्य गर्दा ‘म को हुँ, कहाँबाट आएको हुँ, मेरा पूर्वज को कहाँका हुन्, मेरो वर्ण, गोत्र, वंश, कुल देवता के के हुन्, पूजा विधि के हो’ जस्ता स्वाभाविक मानवीय जिज्ञासा आजका युवा पुस्तामा पनि बिस्तारै जागृत भइरहेको अनुभव हुन्छ । समय, परिस्थिति र आवश्यकताअनुसार हामी फरक देखिए पनि र धार्मिक विधि पनि भिन्न जस्तो लागे पनि जहाँ जसरी रहे पनि हामीले परम्परादेखि मान्दै आएको आफ्नो सनातन धर्म छोड्नु हुँदैन । हाम्रो संस्कृतिले नै हाम्रो पहिचानलाई बचाउँछ ।

वंशावली निकाल्ने प्रचलन अहिले समाजमा बढ्दै गएको छ । यसले देश विदेशमा छरिएर रहेका आफ्ना कुलकुटुम्बहरूबीच बन्धुत्व र एकताको भावनालाई बलियो बनाउँछ । वंशावली वा साना वंशलताहरूले हामीमा रक्त सम्बन्धको जीवन्तता दिन्छ । वंशलतामा आफ्नो नाम र फोटो देख्दा आपसी एकताको भावना जागृत हुन्छ र सबै मिलेर आफ्नो वंश, गोत्र, स्थान र देशका लागि केही गरौं भन्ने सकारात्मक सोच उत्पन्न हुन्छ, जसले प्रगति पथमा अघि बढ्न निरन्तर उत्प्रेरित गर्छ ।

 विराटनगरमा बसोबास गर्दै आएका मण्डन दियाले पुर्ख्यौली थलो भएका नेपालहरूले जुन कार्य  भयो, त्यस्तै अन्य थर, गोत्र र वंशका मानिसहरूले पनि आफ्नो परिचय समेटिएको सानो पुस्तिका प्रकाशित गर्दा संस्कार, संस्कृति र स्वधर्मको कल्याण पक्कै हुनेछ ।
कुलका नाममा गरिएका सत्कर्महरू कालजयी बन्न सक्छन् । कुनै पनि वंश स्वतः ठूलो हुँदैन, सन्तानहरूको कर्म र कृतिबाट नै त्यो महान् बन्दछ । कुनै वृक्ष कस्तो छ, त्यो त्यसको फलबाट मात्र थाहा हुन्छ ।

नेपाल वंशावलीको चर्चा गर्दा कौशिकादि सन्ततिदेखि विराटनगरसम्मको यो वंशलतामा मण्डनदेखिका पुर्खाहरूलाई जोडिएको छ । हाम्रा श्रद्धेय पण्डित तारानाथ उपाध्याय नेपालले आफ्ना पााच भाइहरूका सन्ततिको सम्पूर्ण विवरण अभिलेख राख्नुभएको र त्यसैलाई साहिला भाइ विष्णुप्रसाद नेपालले प्रकाशित गर्नुभएको वंशतालिकाले आफ्ना सबै सन्ततिहरूलाई एकताको सूत्रमा बाँध्ने प्रयास गरेको तथ्य स्पष्ट हुन्छ । हामी त्यस्तो पूजनीय वंशका हाँगा हौं ।

आदरणीय पुर्खाहरूको यो कृतिलाई अगाडिका पुस्ताहरूसँग जोड्दै र पछिका पुस्ताहरूलाई समावेश गर्दै यो नेपाल थर मण्डन दियाले विराटनगर प्रशाखा तयार पारी सबै सामु प्रस्तुत गरिएको जानकारी गराउँदछु । यसरी विराटनगरमा बसोबास गर्ने नेपाल थरीले मात्र होइन सबैले वंशलता तयार पार्न सक्नेछन् भन्नेमा विश्वास गर्न सकिन्छ ।

श्रीमद्भगवद्गीतामा भगवान् कृष्णले वेदलाई परिभाषित गर्ने क्रममा माथि जरा र तल पात भएको विशाल पिपलको बोटलाई जसले बुझ्छ, त्यसलाई वेदको ज्ञाता भनिएको छ । त्यसैगरी पातसरि वंश विस्तार भई पिंढी दर पिंढीसम्म पुग्दा कुललाई एकीकृत गर्नु, सामाजिक र सांस्कृतिक संस्कारलाई अक्षुण्ण राख्नु र आफ्नो वंशावलीलाई अद्यावधिक गर्नु नितान्त आवश्यक छ ।

वंशावली पनि एक प्रकारको इतिहास हो । यसको निर्माण थरको आधारमा गरिन्छ । चिनजान नभए पनि टाढाटाढा छरिएर बसेका एउटै थर वा गोत्रका मानिसहरू ‘हामी एउटै बाबुका सन्तान हौं’ भन्ने सत्य तथ्यलाई हामीले कहिल्यै बिर्सनु हुँदैन ।
वंशावलीले नाम र नाता मात्र नभई त्यस परिवारभित्र रहेका सांस्कृतिक र धार्मिक तथ्यका साथै पारिवारिक विशिष्टतालाई पनि प्रमाणित गर्छ । त्यस कुलका सबैको व्यक्तित्वलाई अन्यत्र परिचित गराउने काम पनि गर्छ । त्यसैले आफ्नो कुल, धर्म, संस्कार, संस्कृति र भाषाको संरक्षण मात्र नभई समाज र वातावरणको संरक्षणका लागि पनि सबैले आ–आफ्नो वंशावली प्रकाशनलाई निरन्तरता दिंदै जानु राम्रो हो ।
 

View : 231

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved