Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

केरा खेतीमा ‘टीआर–४’ प्रकोपको त्रास, सतर्कता अपनाउन विज्ञको सुझाव

उद्‌घोष संवाददाता
१३ चैत २०८२, शुक्रवार

सुनसरी । विश्वभर तीव्र गतिमा फैलिंदै गएको केराको घातक रोग ‘ट्रोपिकल रेस–४ (टीआर–४)’ ले अब नेपाललाई पनि उच्च जोखिमको घेरामा पार्न थालेको भन्दै विज्ञहरूले सतर्कता अपनाउन सुझाव दिएका छन् । 

केरा खेतीमा दीर्घकालीन र विनाशकारी असर पान सो रोगबारे समयमै सतर्कता नअपनाए ठूलो कृषि संकट निम्तिन सक्ने उनीहरूले चेतावनी दिएका छन् । 

सुनसरीको तरहरामा आयोजित कोशी र मधेस प्रदेशका सरोकारवालाहरूको क्षमता अभिवृद्धि कार्यक्रममा विज्ञहरूले टीआर–४ को जोखिमबारे गम्भीर चिन्ता व्यक्त गरेका हुन् । 

संयुक्त राष्ट्रसंघीय निकाय खाद्य तथा कृषि संगठन (एफएओ) को सहयोगमा आयोजित कार्यक्रममा सरकारी निकाय, अनुसन्धान संस्था, प्राविधिक तथा कृषि क्षेत्रमा सक्रिय प्रतिनिधिहरूको सहभागिता थियो । 

टीआर–४ मूलतः ढुसीबाट हुने रोग हो, जसले विशेषगरी ‘क्याभेन्डिस’ जातका केरामा गम्भीर असर पार्छ । 

यसको सबैभन्दा खतरनाक पक्ष भनेको माटोमार्फत फैलिनु र एकपटक संक्रमण भएपछि वर्षौंसम्म जमिनमै जीवित रहन सक्नु हो । यसले बोटलाई क्रमशः कमजोर बनाउँदै सुकाएर अन्ततः उत्पादन पूर्णरूपमा नष्ट गर्छ । 

विज्ञहरूका अनुसार, २०७६ सालमा दक्षिण एसियामा पहिलोपटक देखिएको यो रोग अहिले १९ भन्दा बढी देशमा फैलिसकेको छ । 

विश्वका प्रमुख केरा उत्पादन गर्ने मुलुकहरूमा यसको प्रकोपले ठूलो आर्थिक क्षति पुर्याइसकेको बताइएको छ । 

नेपालमा केरा खेती विस्तार हुदै जँदा रोगको जोखिम पनि सँगसँगै बढिरहेको छ । 

खुला सिमाना, कृषिजन्य सामग्रीको आवतजावत र जैविक सुरक्षामा कमजोरीका कारण टीआर–४ भित्रिने सम्भावना उच्च रहेको विज्ञहरूको भनाइ छ । 

संक्रमित माटो, जुत्ता, कृषि उपकरण र सवारी साधनमार्फत रोग सजिलै सर्ने भएकाले सावधानी नअपनाउँदा  सो रोग एक ठाउँबाट अर्को ठाउँमा तीव्र गतिमा फैलिन सक्छ । 

टीआर–४ को सबैभन्दा चुनौतीपूर्ण पक्ष भनेको यसको हालसम्म प्रभावकारी उपचार नहुनु हो । त्यसैले रोकथामलाई नै प्रमुख उपायका रूपमा लिनुपर्ने विज्ञहरूको जोड छ । 

खेतमा प्रयोग हुने उपकरणको नियमित सरसफाइ, संक्रमित क्षेत्रबाट आवतजावतमा नियन्त्रण, रोग पहिचान भएपछि तुरून्त व्यवस्थापन र निगरानी प्रणाली सुदृढ बनाउनु अत्यावश्यक रहेको सुझाव दिइएको छ ।

कार्यक्रममा एफएओका मधेस प्रदेश प्रतिनिधि बिवेक आचार्यले रोग नियन्त्रण तथा व्यवस्थापनमा संस्थाले गरिरहेको काम र अनुभव प्रस्तुत गरेका थिए । 

कार्यक्रममा रोगको इतिहास, महामारीको अवस्था, आर्थिक प्रभाव र सम्भावित समाधानका उपायबारे विस्तृत छलफल गरिएको थियो । 

राष्ट्रिय वनस्पति संरक्षण संगठनका प्रतिनिधिले नेपालमा लागू गरिएको नियामकीय व्यवस्था र जैविक सुरक्षा उपायबारे जानकारी गराएका थिए भने प्राविधिक सत्रमा सहभागीहरूलाई समूहगत अभ्यासमार्फत नियन्त्रण रणनीति तयार पार्न लगाइएको थियो । 

कृषि अनुसन्धान निर्देशनालय तरहराका निर्देशक डा. राजेन्द्र दराई सहितका विज्ञहरूले समयमै प्रभावकारी कदम नचालिए नेपालमा केरा खेती गम्भीर संकटमा पर्न सक्ने बताएका छन् । 

बिषादी व्यवस्थापन विज्ञ भोजराज सापकोटा, डा. हीराकाजी मानन्धर र वरिष्ठ बाली संरक्षण अधिकृत श्रीकृष्ण न्यौपानेले पनि रोग नियन्त्रणमा एकीकृत प्रयास आवश्यक रहेको औंल्याए । 

उनीहरूले केरा किसानका लागि टीआर–४ केवल एउटा रोग मात्र नभएर सम्भावित संकटको संकेत भएको उल्लेख गरे । 

यसको फैलावट रोक्न राज्य, प्राविधिक र किसानबीच समन्वय, सतर्कता र व्यवहारिक कदम अत्यावश्यक देखिएको भन्दै उनीहरूले समयमै सचेत नहुने हो भने नेपालमा केरा खेतीको भविष्य नै जोखिममा पर्न सक्ने चेतावनी दिएका छन् ।

View : 106

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved