Biratnagar, Morang, Nepal
८ मंसिर २०८१, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

संघीय संसदमा सांसदले विद्युतीय हाजिरी गर्नुपर्ने, उपस्थिति वेवसाइटमा सार्वजनिक हुने

‘हाम्रो उपस्थिति विवरण दैनिक सार्वजनिक गरेर पारदर्शी रूपमा सार्वजनिक गरौँ’ सभामुख घिमिरेले भने, ‘माननीयहरूको उपस्थितिका विषयमा हुने टिप्पणी अन्त्य गर्ने सरल बाटो यही हो ।’
उद्घोष सम्वाददाता
२२ माघ २०८०, सोमवार

विराटनगर । सङ्घीय संसद्का बैठकमा उपस्थित हुने सांसदहरूलाई विद्युतीय हाजिरी लागु हुने भएको छ । सांसदहरूको उपस्थिति विवरणलाई वेबसाइटमार्फत सार्वजनिक पनि गरिने भएको छ ।

आजदेखि सुरु हुन लागेको सङ्घीय संसद्को तेस्रो अधिवेशनअघि बसिरहेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा विद्युतीय हाजिरी लागू गर्नेदेखि सांसदहरूको उपस्थिति विवरणलाई वेबसाइटमा सार्वजनिक गर्ने विषयमा छलफल भइरहेको जनाइएको छ । 

कार्य व्यवस्था परामर्श समितिको बैठकमा तेस्रो अधिवेशनदेखि प्रतिनिधि सभा बैठकको कार्य तालिका लागू गर्ने सभामुख देवराज घिमिरेले प्रस्ताव गरेका हुन् । उनले संसद्ले तयार पारेको संसद्को कार्य तालिका पनि कार्य व्यवस्था बैठकमा प्रस्तुत गरेका छन् । 

सभामुख घिमिरेले प्रतिनिधि सभा बैठकको कार्य तालिका लागू भएपछि बैठकमा माननीयहरूको उपस्थिति र सहभागितालाई सहज हुने अपेक्षा गरेको बताए । उनले गएको एक वर्षमा संसदबाट एउटा मात्रै विधेयक पारित भएको विषयमा प्रश्नहरू उठेका कारण आगामी अधिवेशनबाट ती सबै प्रश्नको समेत जवाफ दिने गरी संसद्लाई परिणाममुखी बनाउन आग्रह गरेका छन् ।

‘हाम्रो उपस्थिति विवरण दैनिक सार्वजनिक गरेर पारदर्शी रूपमा सार्वजनिक गरौँ’ सभामुख घिमिरेले भने, ‘माननीयहरूको उपस्थितिका विषयमा हुने टिप्पणी अन्त्य गर्ने सरल बाटो यही हो ।’

कार्य व्यवस्था बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीले धनराज गुरुङले धेरै गृहकार्य गरेर सभामुख र संसद् सचिवालयले कार्य तालिका लागू गर्ने अवस्थामा पुगेको बताए । कार्यपालिकाले बैठक बस्ने दिनका बारेमा हुँदै आएको द्विविधा समेत अन्त्य गर्न सहयोग मन्त्री गुरुङले बताए ।

View : 225

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved