Biratnagar, Morang, Nepal
२५ पुष २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

कुलप्रसादलाई आफ्नै छोराले हत्या गरेको पुष्टि

उद्‌घोष सम्वाददाता
१० पुष २०८१, बुधवार

विराटनगर । जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख ५६ वर्षीय कुलप्रसाद आचार्यलाई आफ्नै छोराले हत्या गरेको पुष्टि भएको छ । 

भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटमा डेरामा बस्दै आएका रूपेश आचार्यले बाबु कुलप्रसाद र भाइ २२ वर्षीय प्रवीण आचार्यको मंगलबार हत्या गरेका थिए ।

हत्यापछि उनी भागेका उनले फोटोसहितको समाचार सार्वजनिक हुन थालेपछि प्रहरीमा आत्मसमर्पण गरेका थिए । 

जिल्ला हुलाक खोटाङका निमित्त प्रमुख कुलप्रसादलाई कार्यालयले सरकारी स्कुटर उपलब्ध गराएपछि लाइसेन्स निकाल्न भनेर मंसिर २८ मा काठमाडौं पुगेका थिए ।

बालकोटमा डेरामा बस्दै आएका दुई छोरा बसेको कोठामा बसेका कुलप्रसादलाई पटक–पटक लोकसेवा आयोगमा फेल भएका कारण निरास बनेका जेठा छोरा रूपेशले बाबु र भाइको हत्या गरेका हुन् । 

कुलप्रसाद र प्रवीण मंगलबार विहान कोठामै मृत फेला परेपछि भक्तपुर प्रहरी परिसरले अनुसन्धान अघि बढाएको थियो । 

कुलप्रसादको हत्यापछि सिरक ओढाएको र भान्छा कोठामा सुतेका प्रवीणको भने बिभत्स तरिकाले टाउकोमा सिलौटाले प्रहार गरी अनुहार नै चिन्नै नसकिने अवस्थामा शव फेला परेको प्रहरीको भनाइ छ ।

हत्या गरिएका दुवैको शवको मंललबार साँझ पशुपति आर्यघाटमा सामूहिक दाहसंस्कार गरिएको जनाइएको छ ।

दाजुद्वारा हत्या गरिएका प्रवीण सूचना प्रविधिमा स्नातक तहमा अध्ययन गरिरहेका थिए । 

मोडलिङमा रूचि राख्ने गरेका प्रवीणले केही म्युजिक भिडियोमा समेत अभिनय गरेका थिए । उनी स्नातक तहको अध्ययन सकेर पढाई अघि बढाउन अमेरिका जाने योजनामा थिए ।

हत्या आरोपमा पक्राउ परेका रूपेशमाथि कर्तव्य ज्यानको कसुरमा म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक माधवप्रसाद बुढाथोकीले बताए ।

View : 86

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved